|

दीपेन्द्र शर्मा-

    जाजरकोट :  वैशाख ३१ को स्थानीय तहको निर्वाचनबाट  निर्वाचित जनप्रतिनिधिहरु आफूले जितेको क्षेत्रको विकासको लागि सम्भावना खोज्न थालेका छन्। चुनावका बेला भोट माग्दा मतदातासँग गरेका प्रतिवद्धताअनुसार उनीहरु गाँउ-बस्तीहरुमा स्रोत, अवसर र सम्भावनाको  खोजी गर्न थालेका हुन्।

    जाजरकोट जिल्लाको सबैभन्दा बढी विकट गाँउपालिका बारेकोट गाउँपालिकामा अहिलेसम्म पनि यातायातको सञ्जालले छुन सकेको छैन।गाउँपालिकाको समग्र विकासका लागि विभिन्न पक्षसँग सामूहिक अन्तरक्रिया, छलफल गरेर सुझाव लिने गरेको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए।

    भूगोलको आवश्यकताका आधारमा काम

    गाउँपालिकाको भूगोलको आवश्यक्ताका आधारमा अघि बढेर समस्याको पहिचान गर्दै गाँउपालिकामा भएको योग्य जनशक्तिको प्रयोग गरेर गाउँपालिकाको गुरुयोजना निमार्ण गर्न लागीएको शाहले बताए। निर्वाचित भएदेखि देखिने गरी नयाँ काम केही नभए पनि बारेकोटको विकासमा लागिपरेको शाहको भनाइ छ।

    विमती नराखी जनताको काम

    'हामीले गाउँपालिका विकासका लागि यो र त्यो पार्टी नभनी काम गर्छौं, चुनावका बेला हामी जनप्रतिनिधिहरु विभिन्न पार्टी थियौं तर आज सबैभन्दा बढी जनमत दिएर पठाएपछि हामी एक पार्टीको नभई समग्र बारेकोट गाँउपालिकामा बस्ने सबै जनताका प्रतिनिधि भएका छौं, त्यसैले हामीले कुनै विमती नराखी जनताको काम गर्नु पर्छ' शाहले भने। बारेकोट गाँउपालिकालाई आफ्नो कार्यकालमा जाजरकोटकै नमुना गाउँपालिका बनाउने अध्यक्ष शाहले सुनाए।

    एक आर्थिक वर्षमा प्रत्येक वडामा नमुना काम

    कम्तीमा एक आर्थिक वर्षमा एक वडामा एक वटा नमुना काम गर्ने तथा गाउँपालिकास्तरमा पनि प्रत्येक आर्थिक वर्षमा एक वटा नमुना काम गरिने शाहको भनाइ छ। गाउँपालिकामा नेपाल सरकारबाट प्राप्त २६ करोड रकमलाई जनताले अनुभूति गर्ने खालका योजना छनोट गरेर काम सुरु गर्ने शाहले बताए।

    नेपाल सरकोको नीतिसँग नवाझिनेगरी गाउँपालिकास्तरमा काम कारबाही अगाडि बढाइने उनले बताए। गाउँपालिकाको विकासका लागि स्थानीय स्रोतको परिचालन र प्राकृतिक स्रोतहरुको उचित सदुपयोग गरी यहाँका जनताको रोजगारी र विकासप्रतिको सपनालाई पूरा गराउने आफ्नो लक्ष्य रहेको उनले बताए।

    रोजगारी र विकासमा ध्यान

    रेडपाण्डाको संरक्षण गरी पर्यटक बढाउने, फलाम लगायतका खनिजहरुको उत्खन्न तथा संरक्षण गरी यहाँको जनताको आयस्तर वृद्धि गर्ने शाहको योजना छ। कर्मचारीलाई चालु आवको बजेटको कामको प्रगति निकाल्न  तथा जनप्रतिनिधिहरुले यसको अनुगमन मूल्यांकनको पाटो हेर्ने कार्य विभाजन गरिएको शाहले जानकारी दिए।

    सबै प्रतिनिधि जनताको घरदैलोमा

    चुनावको बेलाको प्रतिवद्धता पूरा गर्न महेन्द्र मात्र होइन जाजरकोटका सबै जनप्रतिनिधिहरु यतिबेला जनताको घरदैलोमा पुगिरहेका छन्। त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलको पहिलो प्राथमिकता भनेको सबै वडामा सञ्‍चार सुविधा पुर्‍याउनु रहेको छ।

    सञ्‍चार सुविधा पुर्‍याउने

    रुकुम र डोल्पा जिल्लासँग जोडिएको नगरपालिकामा सबैभन्दा पहिला सञ्‍चारको सेवा पुर्‍याउने रावलले बताए। रग्दा र भगवतीको बीचको अग्लो डाँडामा उपयुक्त स्थानको छनोट गरेर स्काइ, नमस्ते र एनसेलको टावर निमार्णमा पहल गर्ने नगर प्रमुख रावलले बताए। 'पहिला सबै जनतालाई सञ्चारको पहुँचमा पुर्‍याउन पहल गर्छु, त्यसपछि नगर भित्रका अन्य समस्यामा समधान गर्न लाग्छु, अनि जनतालाई प्रत्यक्ष राहतको अनुभूति  गराउँछु' नगर प्रमुख रावलले भने।

    राष्ट्रिय गौरवको आयोजना नलसिंह गाड जलविद्युत् आयोजनालाई समयमा सम्पन्न गर्न सरोकारवाला निकायसँग समन्वय गरेर काममा नगरका तर्फबाट सहयोग गरिने पनि रावलले जानकारी दिए। यो आयोजनावाट विस्तापित बस्तीको व्यवस्थापन तथा विस्तापितलाई मुआब्जा वितरण सँग-सँगै लिने काम थालनीका लागी पहल गर्ने योजना रहेको नगर प्रमुख रावल बताउँछन्। 

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

    कमेन्ट

    • please make appropriate maser plan and sectoral plans