|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी १ सय ६ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन जेनेभा प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विजरल्याण्डको जेनेभा प्रस्थान गरेकी हुन्।

सम्मेलनमा राष्ट्रपति भण्डारीलाई प्रमुख वक्ताको रुपमा निम्ता गरिएको छ। जेनेभा प्रस्थान गर्नुअघि राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मासहित सरकारका उच्च पदस्थ अधिकारीले बिदाई गरेका थिए। सोही अवसरमा राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा महिला हक, हित र श्रमबारे हासिल गरिएको उपलब्धिको विषयमा बोल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। पछिल्लो समय नेपालले महिला नेतृत्वमा हासिक गरेको उपलब्धिलाई लिएर अन्तराष्ट्रिय श्रम संगठनले सम्मेलनमा मुख्य वक्ताको रुपमा सहभागी हुन राष्ट्रपति भण्डारीलाई निमन्त्रणा गरेको हो।

सम्मेलनका क्रममा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रका श्रमिकहरुले हासिल गरेका उपलब्धिका विविध पाटाका विषयमा पनि अनुभव आदानप्रदान गर्ने राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।

हेर्नुस् फोटोहरु :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.