सरकारले चुनाव सार्न खोजेको देखियो : केपी ओली

|

काठमाडौं : आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) ले चुनावमा जाने लिखित प्रतिबद्धता व्यक्त गरेमा चुनावपछि उसले उठाएका जायज मागहरु सम्बोधन गर्ने निष्कर्षमा प्रमुख ४ दल पुगेका छन्। चुनावअघि संविधान संशोधन संभव नभएपनि चुनावपछि संशोधन गर्नका लागि प्रतिपक्षी एमालेसहितका दलहरु सहमत भएका हुन्।

सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीमगरको सचिवालयमा सत्तारुढ  कांग्रेस,माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरुको सहभागितामा भएको बैठकमा चुनावमा जाने लिखित प्रतिबद्धता व्यक्त गरेको खण्डमा राजपाका जायज माग र उसका अफ्टेरा फुकाउने विषयमा सहमति जुटेको हो।

यस विषयमा छलफल गर्न भोली राजपासहितको सर्वदलीय बैठक बस्ने जानकारी माओवादी नेता वर्षामान पुनले दिएका छन्। 'आजको छलफलमा राजपाले चुनावमा भाग लिने लिखित प्रतिबद्धता व्यक्त गरेमा उसले उठाएका मागहरु वा अफ्टेरा फुकाउने विषयमा सहमति भएको छ। यस विषयमा छलफल गर्न भोली ४ बजे राजपासहितको सर्वदलीय बैठक बस्नेछ,' बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै पुनले भने,'निर्वाचनको मिति सार्ने कुरा अहिलेसम्म भएको छैन्।  निर्वाचनअघि संविधान संशोधन संभव नहुने कुरा बैठकमा भएको छ। निर्वाचन सार्न प्रधानमन्त्री र सरकार तयार छैन। गृहमन्त्रीले पनि शान्ति सुरक्षाको स्थिति मजबुद भएका कारण असार १४ गते नै चुनाव गर्नुपर्ने धारणा बैठकमा राख्नुभएको छ।'

सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन सार्ने विषयमा बैठकमा कुनै छलफल नभएको बताए। 

सरकारले चुनाव सार्न खोजेको देखियो : ओली

बैठकपछि प्रतिक्रिया दिदैँ प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले चुनाव सार्न खोजेको बताए। 'सत्ता पक्षले दोस्रो चरणको निर्वाचन सहज र शान्तिपूर्ण ढंगले कसरी सम्पन्न गर्न सकिन्छ भनेर छलफल गर्न बोलाएको होला भन्ने सोचेको थिएँ। तर भन्न भन्न खोजेको तर अड्किएको जस्तो पाइयो। स्पष्ट भएन,' ओलीले भने,' स्थानीय तहको चुनाव वैशाख ३१ मै गर्नुपर्ने थियो। दोस्रो चरण भनेर जेठ ३१, असार ९ हुँदै १४ सम्म सारियो। फेरि पनि सार्न खोजिएको देखिन्छ।'

उनले सत्तापक्षले बैठकमा प्रष्ट कुरा राख्न नसकेको बताए। 'चुनाव सार्न खोजेको हो वा गर्न नखोजेको हो। बुझ्न सकिएन।  सत्ता पक्षबाट प्रष्ट कुरा आएन।  सत्ता पक्षको आशय चुनावबाट भाग्न खोजेको जस्तो देखियो,' उनले भने।

उनले राष्ट्रिय जनता पार्टीलाई जिम्मेवार भएर चुनावमा भाग लिएर लोकतान्त्रिक प्रक्रियामा आउन आग्रह गरे। '२ गते मनोनयन छ। यस्तो अवस्थामा चुनावअघि संविधान संशोधन जरुरी छैन्। राजपालाई भन्न चाहन्छु तपाईहरु चुनावमा आउनुस्। तपाईहरुलाई सत्ता पक्षले झुक्याउन खोजेको छ। म संविधान संशोधनको विरोधी थिइँन र छैन्। तर तत्काल संविधान संशोधन भने जरुरी होइन,' उनले भने,' संविधान संशोधन गोलमोटोल आधारमा हुँदैन। कसका लागि? किन? केका लागि? प्रस्ट छैन्।'  

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा.शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला तथा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचन्ड', गृहमन्त्री जनार्दन शर्मा र वर्षामान पुन 'अनन्त', नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्ष विजय कुरा गच्छदार लगायतका शीर्ष नेता सहभागि थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.