|

काठमाडौं : एक जमाना थियो जतिबेला कसैले आफ्नो कार्टुन बनाइदेला कि भनेर राजनीतिज्ञहरू कार्टुनिस्टका अगाडि पर्न चाहँदैनथे। तर अहिले जमाना फेरियो।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष अविन श्रेष्ठ 'नेपाली क्यारिकेचर २०७४' मा आफ्नो अनुभव सुनाउँदै थिए- 'नेताहरू कार्टुन बनाइदेला कि भनेर डराउँथे तर अहिले दोस्रो पुस्ताका नेताहरू हाम्रो चाहिँ कार्टुन कहिले बनाउने भन्दै आउँछन्।' कार्टुनको प्रभाव र कलाका रुपमा यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएकोतर्फ उनको संकेत थियो।

थप पुष्ट्याईँका लागि अविनले भारतको एउटा उदाहरण दिए। लालुप्रसाद यादव भारतीय मिडियामा बिकाउ पात्र थिए। पटक पटक सांसद, बिहारको मुख्य मन्त्री, केन्द्रीय सरकारको रेलमन्त्री र पार्टीको उच्च नेतृत्व रहेका यादव शासनमा छउन्जेल उनका कार्टुन खुब छापिन्थे। उनी पदमा छउन्जुलेल जता हेरे पनि उनकै कार्टुन हुन्थे। र, लालु कार्टुनिस्टहरुसँग खुब रिसाउँथे। गाली गर्थे।

शासनबाट बाहिरिएपछि उनी मिडियाको प्रथामिकतामा कम पर्न थाले। त्यसपछि बल्ल उनी  कार्टुनिस्टहरुसँग नजिकिन थाले। र, आफ्नो कार्टुन बनाइदिन अनुरोध गरे। चर्चामा रहिरहन मन पराउने लालुले सायद बुझे कि कार्टुनमा आलोचना मात्र हुँदैन, आलोचनाको कलात्मक प्रस्तुतिले नेताको 'पपुलारिटी ग्राफ' पनि बढाउँछ।  

नेपालमा कार्टुन नयाँ विधा नभए पनि पञ्चायतकालभन्दा धेरै अघि बढ्न नसकेको अनुभव छ अविनको।  '२०१७ सालपछिको पञ्चायती व्यवस्थाको कालखण्डलाई नेपाली कार्टुनको सुरुवाती कालखण्डका रुपमा लिन सकिन्छ', अविन भन्छन्, 'तर हामी अहिले पनि त्यो बेला भन्दा धेरै अगाडि पुग्न सकेका छैनौँ।'

तर प्राविधिक रुपमा धेरै कुरा फेरिएका भने छन्। उड ब्लक र जिन्क ब्लकमा छाप्नुपर्ने कार्टुन अहिले आधुनिक प्रविधिमा छापिन्छ। कार्टुन बनाउन सन्दर्भ सामग्रीका रुपमा नेताहरूका फोटा सजिलै पाइन्नथ्यो। अहिले नेताहरूको फोटो गुगलमै खोजे हुन्छ। पत्रिकामा 'डेडलाइन' हुन्थ्यो। अहिले पनि हुन्छ तर भोलिपल्ट छापिने पत्रिकाका लागि राति १२/१ बजेसम्म पनि रेखा कोरिरहन पाइन्छ। ऊ बेला यति सजिलो थिएन। पत्रिका बेलैमा प्रेसमा नपठाए छाप्न अबेला हुन्थ्यो।

१०/१२ वर्षअघिसम्म कार्टुन बनाएपछि त्यसमा को पात्र हो भनेर चिनाउन उसको ढाडमा वा कार्टुनमा कतै उसको नाम पनि लेखिन्थ्यो तर अहिले त्यो चलन हटेको छ। अविन यसलाई नेपाली कार्टुनको 'क्यारिकेचर' मा आएको सुधारका रुपमा लिन्छन्।

'कार्टुनमा क्यारिकेचन नभइ हुँदैन तर नेपाली कार्टुनको मुख्य समस्या नै यही हो', उनी भन्छन्, 'पहिला भन्दा सुधार छ तर हामीले प्राप्त गरेका कार्टुनमा पनि क्यारिकेचर चित्त बुझ्दो छैन।'

कार्टुनिस्टहरूको संस्था कार्टुनिस्ट क्लब अफ नेपालले ललितकला प्रज्ञा प्रतिष्ठानसँग मिलेर कार्यशाला, प्रदर्शनी र प्रतियोगितासहितको 'नेपाली क्यारिकेचर २०७४' आयोजना गरेको हो। प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्‍को हलमा बुधबारसम्म चल्ने छ। नेपालमा पहिलो पटक भएको यसखालको प्रदर्शनीमा प्रतियोगी र अप्रतियोगी गरी ४७ वटा कार्टुन राखिएका छन्।

कार्यशालाका २५ सहभागीले प्रधानन्यायधीशदेखि समाजसेवी, अभिनेता, कलाकार, संगीतकारसम्मका व्यक्तित्वको क्यारिकेचर गरी कार्टुन बनाएका छन् ।

के हो क्यारिकेचर?

कलाकार जीवन राजोपाध्याय जसको क्यारिकेचर गर्न खोजेको हो त्यो व्यक्ति प्रष्टसँग चिनिनुपर्ने बताउँछन्। 'कार्टुनमा जसलाई देखाउन खोजिएको हो, उसलाई पाठकले प्रष्ट चिनेनन् भने त्यो क्यारिकेचर भएन', राजोपाध्याय भन्छन्, 'उसको अनुहारमात्र चिनिएरमात्र भएन, 'कार्टुनाइज्ड' भएको हुनुपर्‍यो, हाँसुहाँसु लाग्ने हुनुपर्‍यो।'

कार्टुनमा कसैको अनुहार दुरुस्त उतार्दैमा त्यो क्यारिकेचर नहुने बताउँदै उनी भन्छन्- 'कसैको अनुहार ठूलो र जिउ सानो बनाउँदैमा त्यो कार्टुन हुँदैन। आँखा, नाक, कान समग्रमा सबैकुरा कार्टुन हुनुपर्‍यो।' यसबाहेक मौलिकता क्यारिकेचरको महत्वपूर्ण तत्व भएको प्रतियोगिताका निर्णयाक समेत रहेका राजोपाध्याय बताउँछन्।

ललितकलाका प्राध्यापक रामकुमार पाण्डेका अनुसार समाजमा चर्चामा रहेका व्यक्तिको भावलाई चित्रमा उतार्नु क्यारिकेचर हो। 'कार्टुनमा राजनीतिक व्यक्तिलाई बढी इंगित गरिन्छ, यसको कारण राजनीति नै बढी 'सेलेबल' हुने भएर हो', उनी भन्छन्, 'यो पत्रपत्रिकामा स्थापित भएको छ तर यसमा मात्र सीमित हुनुहुँदैन, व्यापक हुनुपर्छ।'

कार्टुनिस्ट क्लबका अध्यक्ष अविन श्रेष्ठ 'क्यारिकेचर' को नेपाली समानार्थी शब्द नभेटेको बताउँछन्। 'कार्टुनलाई व्यंग्यचित्र भनिन्छ तर मलाई कार्टुन नै भन्न मजा लाग्छ', उनी भन्छन्, 'क्यारिकेचरलाई पनि क्यारिकेचर नै भनौँ।'

को छन् ४७ कार्टुनमा?

कार्टुनमा पनि क्यारिकेचर हुन्छ भन्ने बुझाउन नेपालमा पहिलोपटक आयोजना गरिएको यो प्रदर्शनीमा ४७ कार्टुन राखिएका छन्। तर पत्रपत्रिकामा सधैँ हेरिएका जस्ता कार्टुन भने यहाँ छैनन्।

'सधैँ हेरिएका अनुहार हेर्न नपरोस् भनेर हामीले राजनीतिक व्यक्तित्वलाई हटाइदियौँ', अविनले भने, 'हामीले यस्ता सेलिब्रेटीको चित्र बनायौँ कि जसलाई नेपाली समाजले सजिलै चिन्छ।'

प्रतियोगितामा नवीन नाल्बो पहिलो, राजेश मानन्धर दोस्रो र सुरज शाक्य तेस्रो भए। विजयीसहित प्रतियोगिताका सहभागीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कूलपति रागिनी उपाध्यायले प्रमाणपत्र प्रदान गरिन्। सँगसँगै उनले आफ्नो असन्तुष्टि पनि राखिन्।

रागिनीको 'असन्तुष्टि'

४७ कार्टुन मध्ये एउटा कार्टुनमा रागिनीकै क्यारिकेचर थियो। कार्टुन बनाएका थिए कार्टुनिस्ट देवेन्द्र थुम्केलीले। कार्यक्रम उद्‌घोषक समेत रहेका थुम्केलीलाई देखाउँदै उनले भनिन्- 'अर्को चोटी मलाई चिनिने गरी बनाउनुहोला।'

संस्कृतिविद् सत्यमोहन जोशीको क्यारिकेचरमाथि उनको प्रतिक्रिया थियो- 'यो रियालिस्टिक (बास्तविक) बढी भयो कार्टुन कम भयो।'

उनले फ्रान्सको साप्ताहिक पत्रिका 'चार्ली हेब्डो' मा छापिएका कार्टुनले विश्वभर ल्याएको तरंगको उदाहरण दिँदै कार्टुनमा अभिव्यक्तिको ठूलो शक्ति रहेको बताइन्। पटक पटक पैगम्बर मोहम्मदको विवादित कार्टुन छाप्ने गरेको यो पत्रिकाको मुख्यालयमा आक्रमण भएको थियो भने कार्टुनिस्टहरुसहित १२ कर्मचारीको सन् २०१५ मा हत्या भएको थियो।

आफ्नो मन्तव्य टुंग्याउनुअघि थुम्केलीतर्फ हेर्दै फेरि भनिन्- 'राम्रो छ तर अर्कोपटक अझ राम्रो बनाइदिनुस्।'

यी कार्टुन हेर्दा तपाईँ हाँस्नुपर्छ। कार्टुनमा क्यारिकेचर गरिएका व्यक्तिलाई तपाईँले चिन्नुपर्छ। यदि यो दुबै भएन भने मान्नुस् कार्टुनमा क्यारिकेचर सफल भएन। प्रदर्शनीमा राखिएका कतिपय कार्टुनको फोटो यहाँ राखिएको छ। हेर्नुस् र क्यारिकेचरबाट चिन्नुस् ती कसका कार्टुन हुन्।

...

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.