|

काठमाडौं : संविधान संशोधन नहुँदै स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्न गर्ने तयारीमा सरकार लागेको भन्दै बन्द हडतालको आह्वानसहित आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा) ठूला तीन दलभन्दा पनि संघीय समाजवादी फोरम नेपालविरुद्ध बढी आक्रमक बनेको छ।

असार १४ को निर्वाचन बिथोल्ने गरी आन्दोलनमा उत्रिएको राजपाले आह्वान गरेको चार दिने बन्दको पहिलो दिन मङगलबार वीरगन्जमा आन्दोलनकारीले मधेसी दल फोरम नेपालकै पार्टी कार्यालयमा तोडफोड गरेका छन्।

वीरगन्जमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा मङगलबार दिउँसो तोडफोड गरेका हुन्। वीरगन्जको आदर्शनगर चोकमै रहेको फोरम नेपालको नगर समितिको कार्यालयमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन्।

१५/२० जनाको संख्यामा पुगेका राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले फोरम नेपालको कार्यालयमा झुण्डयाइएको ब्यानर च्यातेर फयाक्नुका साथै कार्यालयको मुल प्रवेशद्वारमा जडान गरिएको सिसामा ढुङगा प्रहार गरी तोडफोड गरेका हुन्। घटना लगत्तै प्रहरी पुगेपछि रानवाका कार्यकर्ताहरु त्यहाबाट भागेका थिए।

यस्तै वीरगन्जको घण्टाघर चोकमा राष्ट्रिय जनता पार्टीका महिला नेतृहरुले मङगलबार अपरान्ह फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पुत्ला पनि जलाएका छन्। मधेसलाइ धोखा दिएर चुनावमा भाग लिएकाले उपेन्द्र यादवलाइ मधेसको गद्धार ठहर गरि उनको पुत्ला जलाइएको राष्ट्रिय जनता पार्टीकी नेतृ रेखा साहले बताइन्।

यसअघि सोमबार पर्साको बहुदरामाई गाँउपालिका वडा नम्बर ६ भौराटारमा पनि राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले मङगलबार भौराटारमा फोरम नेपालका राष्ट्रिय अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा हुने भनिएको कार्यक्रमको तयारीका लागि गाडिएका टेन्टका बासहरु उखलेर फयाक्नुका साथै टायर बालेर फोरम नेपाल विरुद्ध नाराबाजी गरेका थिए।

राजपाको विरोधका कारण मङगलबार भौराटारमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थितीमा हुने भनिएको आमसभा हुन सकेन। यसअघि शनिवार बेलुकी बाराको परसौनीमा फोरम नेपालले आयोजना गरेको चुनावीसभा पनि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले बिथोलेका थिए।

मधेस आन्दोलनमा राज्यले चलाएको बन्दुकको गोलीको जवाफ मतपत्रबाट दिने भन्दै फोरम नेपालले स्थानीय तहको निर्वाचनमा भाग लिएपछि उसका विरुद्धमा राष्ट्रिय जनता पार्टी नेपालले पर्सा बारामा एक साता देखि प्रदर्शन गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.