|

  • सन्तोष अधिकारी

गोरखा : हिमालपारीको गाउँ सामागाउँबाट तिब्बत जोड्ने नाका खुलाउन गोरखाका सांसदले पहल सुरु गरेका छन्। गोरखा क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सांसद छमबहादुर गुरुङले मंगलबार गृहमन्त्री जनार्दन शर्मालाई भेटेर नाका खुलाउन पहल गरिदिन आग्रह गरेका हुन्।

भेटमा शर्माले आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाएको सांसद गुरुङसँगै गृहमन्त्री शर्मालाई भेट्न गएका छेकम्पारका निमा लामाले जानकारी दिए। ‘सांसद गुरुङले बुझाएको निवेदन गृहमन्त्रीले गृहसचिवलाई दिनुभयो,’ उनले भने।

सचिवले सो निवेदन परराष्ट्रलाई दिने र परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासमा आग्रह गर्ने तयारी भएको छ,’ लामाले भने, ‘पहिले चुमपट्टी पनि त्यसै गरेको हो, चुमतर्फको नाका अहिले नियमित खुला छ । अब नुब्रीपट्टी पनि नियमित खुल्नुपर्छ।’ नाका नियमित खुलेमा दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्म सबै आयात गर्न सजिलो हुने उनले बताए।

अहिले यार्सागुम्बाको सिजन छ। यार्सागुम्बा बेचेर कमाएको पैसाले स्थानीयबासीले तिब्बतको जोङ्गा शहरबाट सामान ओसार्ने गर्छन्। तर अहिलेसम्म नाका नखुल्दा स्थानीयवासी समस्यामा रहेका लामाले बताए ।

यसअघि गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पनि गृहमन्त्रीसंग भेटी नाका खुलाइदिन आग्रह गरेका थिए। मंगलबार नाका खुलाउने सिफारिस पठाएको प्रजिअ बस्नेतले जानकारी दिए।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.