स्थिति समान्यः प्रजिअ

|

लहान : जिल्ला निर्वाचन कार्यालय सप्तरीले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि बुधबार राजविराजमा आयोजना गरिएको तालिम राष्ट्रिय जनता पार्टी, नेपालका कार्यकर्ताको अवरोधको कारण स्थगित भएको छ। 

जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेश ठाकुरका अनुसार राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा बिहान साढे ११ बजे हुन लागेको तालिम राजपाका कार्यकर्ताको नाराबाजीपछि स्थगित भएको हो। उनीहरु तालिमस्थलमा पुगेर नाराबाजी गरेका थिए। 

तालिममा जिल्लाभरका २९२ मतदान स्थल र ४६१ मतदान केन्द्रका ६०६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतको सहभागिता रहेको निर्वाचन अधिकारी ठाकुरले बताए। 

सप्तारीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले तालिम गर्न सकिने अवस्था हुँदाहुँदै पनि स्थिति उत्तेजक नहोस् भनेर तालिम स्थगित भएको थाहाखबरलाई बताए। 'राजपासँग माथिलो तहमा वार्ता पनि भैरहेकोले छ। स्थिति उत्तेजित नहोस् भनेर तालिम स्थगित गरेका छौँ। यहाँको स्थित सामान्य छ', उनले भने। 

९ नगरपालिका र ८ गाउँपालिका रहेको सप्तरी जिल्लामा १ लाख ६० हजार ६८६ महिला, १ लाख ७० हजार ७५५ पुरुष र २१ तेश्रो लिङ्गी गरी कूल ३ लाख ३१ हजार ४६२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ। 

निर्वाचनमा दुई हजार ७५० जना कर्मचारी परिचालन गर्ने तयारी रहेको निर्वाचन अधिकारी ठाकुरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.