|

  • नमीन ढकाल-

इलाम: बंगाली भाषा अनिवार्य गराएपछि भारतको पश्चिम बंगालको दार्जिलिङमा आमहडताल भएपछि इलामका सीमावर्ती बजार ठप्प भएका छन्। दार्जिलिङका पाँच दलले संयुक्त रूपमा गरेको आमहडतालले गर्दा सीमा क्षेत्रका मानेभञ्ज्याङ र पशुपतिनगर व्यापारिक केन्द्र ठप्प भएका हुन्।

भारतीय पर्यटक र उपभोक्ताको भीड लाग्ने गरेका यी बजारमा हडतालका कारण पूर्ण रूपमा असर पर्नुका साथै पशुपतिनगर भन्सार कार्यालयमा राजस्व संकलनमा समेत असर परेको भन्सार प्रमुख प्रकाश पोखरेलले जानकारी दिए।

भारतीय गाडी नेपाली राजमार्गमा गुड्नका लागि दैनिक २५ वटा अस्थायी पैठारीका लागि राजस्व काट्ने गरे पनि आमहडताल भएपछि सो संख्या एक/दुईमा झरेको भन्सार कार्यालयले जनाएको छ।

दैनिक १५० भारतीय गाडीमार्फत पशुपतिनगरमा पर्यटक र उपभोक्ता बजार भर्न आउने गरेका थिए। पशुपतिनगरमा दैनिक २० लाख भारतीय रूपैयाँ बराबरको कारोबार हुने गरे पनि अहिले २० हजार रुपैयाँको पनि कारोबार नभएको व्यापारीहरू भनाइ छ।

दार्जिलिङ क्षेत्रको बन्दले सीमा क्षेत्रका कृषकहरू समेत मारमा परेका छन्। सीमा क्षेत्रमा उत्पादन भएको तरकारी दार्जिलिङका बजारमा जाने गरे पनि अहिले बन्द भएपछि किसान समस्यामा परेको पोखरेलले बताए। सीमा क्षेत्रका बासिन्दाले भारतीय बजारमा तरकारी निर्यात गरी आर्थिक उपार्जन गर्ने गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.