|

लहानः नयाँ शक्ति पार्टी नेपाल सिरहाले स्थानीय तह निर्वाचनको सन्दर्भमा केन्द्रीय तहमा भएको तालमेललाई जिल्ला तहमा कार्यान्वयन गर्न संघीय समाजवादी फोरम नेपालले आलटाल गरेको भन्दै छुट्टै उम्मेदवारी दिने निर्णय गरेको छ। 

नयाँ शक्ति पार्टी नेपालका सिरहा जिल्ला संयोजक जीवछ यादवले प्रेस विज्ञप्तिमार्फत् जिल्ला तहमा चुनावी तालमेलका लागि फोरमले कार्यदल गठन गर्नसमेत आलटाल गरेको जनाउँदै बाध्य भएर छुट्टै उम्मेदवारी दिने निर्णय गरिएको जनाएका छन्। 

फोरमसँग चुनावी कार्यगत एकता नभए पनि नयाँ शक्तिले आगामी दिनमा जुनसुकै पार्टीसँग कार्यगत एकता गरेर चुनावमा जाने मार्गलाई भने खुला राखिएको विज्ञप्तिमा जनाइएको छ। 

विज्ञप्तिमा बुधबार नयाँ शक्तिको जिल्ला बैठकले फोरमसँग आधिकारिक कुराकानीका लागि बारम्बार अनुरोध गर्दासमेत नमानेपछि छुट्टै रूपमा चुनावमा जाने निर्णय गरिएको उल्लेख छ। 

निर्क्योलपछि मात्र कार्यदल : फोरम 
यता, संघीय समाजवादी फोरम नेपाल, सिरहाका अध्यक्ष बादलप्रसाद यादवले भने आफ्नो पार्टीको जिल्लाभरका संभावित उम्मेदवारहरूको निर्क्योल भएपछि मात्र कसले कहाँ लड्ने भन्ने तय गर्न कार्यदल एकता गठन गरिने जानकारी दिएका छन्। 

‘नयाँ शक्तिले त कार्यगत एकता नभएपछि छुट्टै उम्मेदवारी दिएर चुनावमा जाने तयारी गरेको छ नि?’ भन्ने प्रश्नको जवाफमा अध्यक्ष यादव भन्छन्, ‘आफ्नै पार्टीको नटुंग्याएसम्म कसरी र के आधारमा कार्यदल बनाउने?’ 

उनले चुनावी तालमेल गर्ने आफ्नो पार्टीको नीति फेरबदल नभएको र उम्मेदवारी मनोनयन तालमेल गरेरै गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.