|

  • दीपक शर्मा-

सल्यानः शारदा नगरपालिका– १२ सानो डांग्रीका आठ वर्षका सुजन कवर योगी उपचार गर्ने पैसाको अभावमा घरमै छटपटाइरहेका छन्। 

आठ वर्षका सुजनको दाहिने आँखामा अकस्मात घाउ आएपछि उपचार गर्दा पनि ठीक नभएपछि हाल घरमै छटपटाएर बसिरहेका छन्।

पहिले आँखा सुन्निनेलगायतका सामान्य समस्या भएका सुजन अहिले आएर थला परेका छन्। उनी थारमारेको एक बोर्डिङ स्कुलमा नर्सरीमा पढ्छन्। एक महिना नपुग्दै उनको आँखाको घाउले ठूलो रूप लिएपछि अहिले उनको आँखाको नानीसमेत बाहिर आएको छ।

अहिले उनी आवश्यक उपचारको पर्खाइमा छन्। सुजनका बुबा बलबहादुर योगी वैदेसिक रोजगारीमा मलेसियामा छन्। बलबहादुर विदेश गएको डेढ वर्ष भयो। आर्थिक अवस्था राम्रो नभएका कारण सुजनको उपचारमा समस्या भइरहेको परिवारले बताएको छ।

उनको उपचारका लागि जिल्ला अस्पताल सल्यान, नेपालगञ्ज हुँदै काठमाडौँसम्म गएको तर कतै गएर पनि निको नभएपछि घर फर्केको हजुरआमा साबित्री कवर योगीले बताइन्।

उनले विभिन्न ठाउँमा उपचार गर्दागर्दै झण्डै १० लाख रुपैयाँ सकिएको बताइन्। ‘नातिको उपचारको क्रममा झण्डै १० लाख जति सकियो, तर सफल उपचार हुन सकेन,’ उनले भनिन्, ‘काठमाडौँमा यो बालकको घाउ निको हुँदैन भन्यो अनि घर फर्कियौँ।’ 

उनले सुजनको उपचार गर्दागर्दै घरमा भएको सबै पैसा सकिएको बताइन्। ‘घरमा भएको सबै पैसा सकियो, साहुसँग ऋण काढेर पनि उपचार ग¥यौँ’, उनले भनिन्, ‘छोराले विदेशबाट पनि साथीहरूसँग पैसा सापट गरेर यहाँ पठायो, तर नातिको उपचार हुन सकेन।’ 

सुजनकी हजुरआमा साबित्रीले नातिको उपचारका लागि सहयोग गर्न सबैसँग अनुरोध गरेकी छन्। घरमा आफू, बुहारी, दुई नाति र एक नातिनी भएको बताउँदै उनले भनिन्, ‘जीवनमा सोचेको केही हुँदोरहेनछ।’ 

बालक सुजनको आँखाको नानी बाहिर निस्किएपछि दुखाइ सहन नसकी छट्पटाइरहेका छन्। घरमा पुरुष कोही नभएको अवस्था छ। आफ्नो सन्तानको पीडा देखेर आँखाभरी आँसु बगाउँदै हजुर आमा साबित्रीले भनिन्, ‘हामी गरिब दुःखीको लागि दैव पनि बैरी बनी आउँदा रहेछन्।’

बालकको उपचारका लागि सहयोग गर्न परिवारले सबै सहयोगी दाताहरूलाई आग्रह गरेको छ। सहयोगी दातामार्फत् केही रकम जम्मा गर्ने र फेरि उपचारको लागि हैदरावाद, साउथ इण्डिया लैजाने तयारी गरिएको सुजनका ठूलाबुबा नाता पर्ने सुरेन्द्र बुढाले बताए।

उनले अहिले यस अवस्थामा सहयोगी मनहरूको आवश्यकता परेको र यसको लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। विपन्न परिवारका सुजनको उपचारका लागि धेरै पैसा लाग्ने भएकाले सानो सहयोग गर्न उनले सहयोगी मनहरूलाई आग्रह गरे। 

सावित्री कवर योगीका नाममा रहेको नेपाल बंगलादेश बैंकको खाता नम्बर ०२७००१९७GB मा सहयोग रकम जम्मा गरी सहयोग गरिदिन हजुरआमा साबित्रीले सबैलाई अनुरोध गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.