|

काठमाडौँ: काठमाडौँको समग्र विकास, आर्थिक समृद्धि र रोजगारी अभिवृद्धिका लागि व्यवसायी र जनप्रतिनिधिहरूको साझेदारीमा काम गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन्। यस विषयमा काठमाडौँ महानगरपालिका र नगरपालिकाका प्रतिनिधिहरूले समेत सहमति जनाएका छन्।

बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघले काठमाडौँका जनप्रतिनिधिहरूको सम्मानमा राखेको एक कार्यक्रममा एकआपसमा सहकार्य गरेर हिँड्न सक्दा परिणाम निकाल्न सकिनेमा दुवै पक्ष एक मत देखिएका हुन्। काठमाडौँका ११ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र महानगरका ३२ वटै वडाका वडा अध्यक्षलाई सम्मान गर्दै व्यवसायीहरूले समग्र विकासका लागि व्यवसायीका मुद्दालाई समेत बुझेर अघि बढ्न आग्रह गरे।

महासंघको तर्फबाट सरकारका विभिन्न निकायमा महासंघको उपस्थिति, उद्योग तथा वाणिज्यका सम्बन्धमा विभिन्न समयमा बनेका नीति र करका विषयमा भएका नीति नियमसहित सन्दर्भपत्र, २०७४ समेत प्रतिनिधिहरूलाई उपलब्ध गराए।

महासंघका अध्यक्ष श्याम गिरीले लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरे। उनले जनप्रतिनिधिहरूले उम्मेदवारी दिने क्रममा पूर्वाधार विकासमा मात्रै जोड दिएको बताउँदै पूर्वाधारका साथै व्यवसाय बिस्तार गर्न सहयोग गर्न समेत ध्यान दिन आग्रह गरे। 'तपाईंहरूले उम्मेदवारी दिने क्रममा तपाईंहरूको घोषणापत्र तथा प्रतिवद्धतापत्र हेरेको छु, धेरैको ध्यान पूर्वाधार विकासमा मात्रै देखिन्छ', उनले भने, 'तर अब यतिले पुग्दैन।'

उनले जनप्रतिनिहरूसँग मिलेर काम गर्न तयार रहेको बताए। 'हामी तपाईंहरूसँग सहकार्य गरेर काम गर्न चाहन्छौँ, स्थानीय व्यापार बिस्तार र आत्मनिर्भर बनाउनु तपाईंहरूको पनि लक्ष्य हो र हाम्रो पनि', गिरीले भने, 'त्यसैले पनि हामी साझेदारी गरेर अघि बढ्नुपर्छ।' महासंघका उपाध्यक्ष विष्णुबहादुर लुइँटेलले व्यवसायीका समस्यालाई बेवास्ता गरिने गरेको गुनासो गर्दै समस्या बुझेर अघि बढ्नका लागि आग्रह गरे।

उनीहरूले भनेजस्तै महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए। 'नगर परिषद हामी तपाईंहरूसँग सहकार्य गरेर बनाउनेछौँ। अन्य महानगरले लिने नीतिहरूमा पनि छलफल गर्नेछौँ', उनीहरूले भने।

उपप्रमुख हरिप्रभा खड्गीले सहकार्य गरेर काम गर्न सक्दा परिणाम निकाल्न सकिने बताउँदै सहकार्य गर्न तयार रहेको बताइन्। दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले व्यवसायीहरूका समस्या बुझेर र सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए। 'हामी तपाईंहरूका समस्या बुझेर अघि बढ्ने छौँ, सहकार्य पनि गर्नेछौँ', उनले भने, 'अहिले तपाईंहरूले हामीलाई बोलाउनुभयो अब तपाईहरूसँग छलफलको लागि हामी आउनेछौँ।'

'यसो मिलाइदिनुपर्‍यो भन्न पाइनेछैन'

महानगर तथा नगरहरूको विकासमा निजी क्षेत्रको भूमिका महत्त्व पूर्ण हुने तर्क गर्दै सहकार्य गरे अघि बढ्न सहमत महानगर प्रमुख शाक्यले महानगरको रणनीति बनाउँदा मात्रै सहकार्य हुने बताए। जिल्ला परिषद तथा महानगरले बनाएको नीतिमा भने कतै पनि सम्झौता गर्न नसकिने भनाइ शाक्यको थियो। 'हामी समझदारी गरेर काम गर्न त तयार छौँ तर भोलि, पर्सि राजश्‍वमा यसो मिलाइदिनुपर्‍यो वा अन्य केही विषमाय यसो मिलाइदिनुपर्‍यो भन्न पाइनेछैन', उनले भने, 'अहिले मलाई यसो मिलाइदिनुपर्‍यो तपाईलाई पनि सहयोग गरौँला भन्ने पनि गरिन्छ तर त्यसो गर्न पाइनेछैन।'

उनले उत्पादनमा स्तरीयता कायम गर्नका लागिसमेत व्यवसायीहरूलाई आग्रह गरेका छन्। 'तपाईंहरूले आफ्नो उत्पादनको स्तरीयता काय गर्न सक्नुपर्छ प्याकिङको समस्या पनि हुन सक्छ', शाक्यले भने, 'नेपाली उत्पादनको गुणस्तरको विषयमा प्रश्‍न उठिरहेका छन्, स्तरीयता कायम गर्नुस्।'

महानगरकी उपप्रमुख खड्गीले समयमै काम सक्ने बानी बसाउन व्यवसायीहरूलाई आग्रह गरिन्। 'हामीले समयको धेरै ख्याल गर्नुपर्छ, समयमै काम पूरा नगर्दा हामी धेरै पछि परेका छौँ', खड्गीले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.