|

  • प्रकाश पार्की-

डडेल्धुरा: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि टिकट वितरण प्रक्रिया गलत भएको भन्दै सुरु भएको विरोध झन चर्किएको छ।

सोमबार र मंगलबार मौन जुलस गर्दै विरोधमा उत्रिएका डडेल्धुराका कांग्रेस कार्यकर्ताले बुधबार दिउँसो ३ बजे एक घण्टा सदरमुकाम बागबजारमा सडक अवरोध गरी विरोधसभाको आयोजना गरेका छन्। राम्रोलाई भन्दा हाम्रोलाई टिकट वितरण गरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।

नेपाली कांग्रेसको छैठौँ जिल्ला अधिवेशनबाट नै दुई गुटमा विभाजन भएको यहाँको कांग्रेसमा स्थानीय तहको निर्वाचन नजिक आइपुग्दा झनै दूरी बढेको छ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले कांग्रेसका लागि आजीवन योगदान दिएका भन्दा पनि केन्द्रीय नेताहरूको पछाडि लाग्नेलाई टिकट दिएको आरोप लगाए।

जिल्लाको सिफारिसमा बाँडिनुपर्ने टिकट केन्द्रबाटै एकलौटी रूपमा बाँडिएको प्रति आक्रोश व्यक्त गर्दै भट्टले अहिले वितरण गरेको टिकट नसच्याइने हो भने कांग्रेसबाट नै स्वतन्त्र उम्मेदवारी दिनेसमेत बताए।

डडेल्धुरामा रहेका पाँचवटा गाँउपालिका र दुई नगरपालिका कांग्रेसले जित्ने संभावना भए पनि अहिले टिकट पाएका व्यक्तिका कारण कांग्रेसको हार हुने नेपाली कांग्रेस डडेल्धुराका महाधिवेशन प्रतिनिधि हरि भट्टले बताए।

अहिलेको टिकट वितरणले मतदाताको कदर नभएको पनि उनले बताएका छन्। विगतमा कांग्रेसकै विरोध गरेर हिँड्ने व्यक्तिहरूले टिकट पाएका कारण आफूहरू विरोधमा उत्रनुपरेको उनको भनाइ छ।

अर्का महाधिवेशन प्रतिनिधि तारक बुढाऐरले नेपालकै सबैभन्दा ठूलो दल र लोकतन्त्र स्थापनाका लागि सबैभन्दा बढी योगदान दिएको पार्टीले टिकट भने निरंकुश ढंगबाट वितरण गरेको आरोप लगाए। अहिलेको टिकट वितरणले कांग्रेस जिताउने भन्दा पनि कांग्रेस हराउने खेल भएको उनले दावी गरे।

इतिहासमै कांग्रेसभित्रै विरोध गरी आमसभा भएको डडेल्धुरामा पहिलो पटक भएको पनि उनको भनाइ छ। टिकट वितरण प्रक्रिया नसच्चिएसम्म विरोध जारी रहने पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • NEPAli Congress kina yasto garx Khali aafno manxe Lai matra ticket bitaran ? Yasto bhayo bhane Congress yakdin maobadi jhai khojanu parx chetana bhaya