सन्दर्भ– संस्कृत दिवस

|

भारतमा विभिन्न पक्षको आक्रमण भएपछि वेद, स्मृति, पुराणलगायतका संस्कृत विद्याको प्रचार प्रसार तथा सरक्षण संवर्धन नेपालमा हुँदै आएको थियो। लिच्छविकाल संस्कृतभाषाको विकासमा उन्नतकाल भएको विद्वानहरु बताउँछन्। विभिन्न मन्दिर तथा ऐतिहासिक स्थलमा रहेका शिलालेखहरूले यस कुरालाई पुष्टि गर्छन्।

मल्लकालमा समेत संस्कृत भाषाको ठूलो महत्त्व थियो। कतिपय मल्ल राजाले संस्कृत भाषामै साहित्य रचना गरेको पाइन्छ। सोह्रौ शताब्दीमा कास्कीलगायतका स्थानमा संस्कृत शिक्षाका विकासका लागि भूमिदानद्वारा पाठशाला सञ्चालन गरिएका थिए। 

वैदिक–सनातन–वर्णाश्रमका अनुयायी पण्डित, ब्राह्मण तथा समाजमा अलि हुनेखानेहरूले व्यक्तिगत रूपमा गुरुकुल चलाएर\चलाउन लगाएर संस्कृत शिक्षाको संरक्षण गरेका थिए। गुरुकुलीय शिक्षापद्धति सनातन वैदिक परम्पराबाट आएको देखिन्छ। प्राचीन कालमा गुरुकुलमा बसेर शास्त्रीय ज्ञानको साथै जीवनयापनका विभिन्न पक्षहरूमा निपुण हुने किसिमले शिक्षा दिइने प्रणालीलाई गुरुकुलीय शिक्षा भनिन्थ्यो। सबै शिक्षार्थीहरूलाई एउटै नियममा बाँधेर पढाइने यस प्रकारको शिक्षामा ब्रह्मचर्यको पालना गर्दै व्यावहारिक ज्ञान दिइन्थ्यो। 

सनातन धर्ममा उल्लेख गरिएका चार आश्रममध्ये २५ वर्षसम्मको उमेर अध्ययनमा बिताउनु पर्ने नियम छ। व्रतबन्ध गरिएदेखि गुरुकुलको बसाइमा ज्ञान लिइसकेपछि विवाह आदि संस्कार गरेर गृहस्थाश्रममा लाग्ने प्रक्रिया सुरु हुन्थ्यो।

पश्चिमा देशहरूले संस्कृत भाषाका प्राचीन शिलालेख, पाण्डुलिपिको अध्ययन गरेर लाभ लिइरहेका छन्। संस्कृतमा रहेका दर्शन, योग आयुर्वेद, प्राकृतिक चिकित्सा, ज्योतिष, वास्तु आदि विषयमा अनुसन्धान गर्ने सम्भावना प्रशस्त छ। यसो गर्न सकेमा नेपाल विश्वमै उदाहरणीय बन्न सक्छ। अमेरिकी तथा युरोपेली मुलुकहरूमा संस्कृतको व्यापक अध्ययन अनुसन्धान भइरहेको छ भनिन्छ तर संस्कृतको खानी मानिएको हाम्रो मुलुकमा भने संस्कृत भाषाप्रति वितृष्णा बढ्दो छ।

१९३२ मा भोजपुरको दिङ्लामा बालागुरु षडानन्दले खोलेको संस्कृत पाठशाला आधिकारिक रूपमा खुलेको पहिलो पाठशाला मानिन्छ। काठमाडौंको नारायणहिटीमा निकै अघिदेखि संस्कृत पढाउने गरेको प्रमाण फेला परे पनि काठमाडौंमा औपचारिक रूपमा १९३४ मा संस्कृत प्रधान पाठशाला खुलेको इतिहास छ। पहिले ब्राह्मण बटुकहरूलाई खान र बस्न दिनेगरी खुलेको रानीपोखरी पाकशाला पछि पाठशालामा परिणत भएको थियो। पशुपतिस्थित गौरीघाटमा पनि यस्तै प्रकारको पाठशाला रहेको उल्लेख छ।

यसैगरी सिन्धुपाल्चोकको सिपा तीनघरेमा वि.सं.१९६० मा गुरुकुल शिक्षालाई संस्कृत पाठशालाको रूप दिइएको थियो जसले १९८५ सालमा मात्र सरकारी मान्यता पाएको अभिलेख छ। राणा शासकहरूमध्ये उदारवादी मानिएका तत्कालीन श्री ३ देवशमशेरको पालामा १९५८ सालमा एकैपटक ७५ वटा भाषा पाठशाला खुलेको त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५७ वटा पुगेको इतिहास छ। देवशमशेर धपाएर श्री ३ बनेका चन्द्रशमशेरले ४७ पाठशाला बन्द गरिदिए। देवशमशेरले खोलेको पाठशाला बन्द गरे पनि बदनामीबाट बच्न उनले नयाँ पाठशालाहरू खोल्न लगाए। 

यसरी राणाकालको अन्त्यतिर र प्रजातन्त्रको उदयसँगै विभिन्न स्थानमा गुरुकुल वा भाषा पाठशाला खुल्ने क्रम जारी रह्यो। २०१० सालसम्म खुलेका २ सय ३३ वटा पाठशाला अर्को वर्ष राष्ट्रिय योजना आयोगको सिफारिसमा खारेज गरिएको थियो। झन् २०२८ सालमा नयाँ शिक्षा योजना लागू गरिएपछि त निम्न माध्यमिक र माध्यमिक तहमा रहेका संस्कृत शिक्षा नाम मात्रको बन्यो। पछिल्लोपटक परिमार्जन गरिएको पाठ्यक्रमअन्तर्गत ऐच्छिक रूपमा पढाइने गरेको संस्कृत दशवर्षे द्वन्द्वकालमा विभिन्न समुदायको विरोधको मारमा पर्‍यो। अन्ततः संस्कृत विद्यालय र वेद विद्याश्रममा बाहेक संस्कृत पढाइ नहुने स्थिति बन्यो। यद्यपि भारतीयहरूले सञ्चालन गरेका केही विद्यालयमा संस्कृत पढाइ हुन्छ। 

संस्कृत उच्चशिक्षाको औपचारिक सुरुआत भने वि.सं. २००९ मा भएको थियो, राजकीय संस्कृत महाविद्यालय (हाल वाल्मीकि विद्यापीठ) खुलेपछि। २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै १८ सालसम्म वारणसेय संस्कृत विश्वविद्यालयको पाठ्यक्रमअनुसार पठनपाठन र परीक्षा चल्दै आएको थियो। १९ सालदेखि भने उत्तरमध्यमादेखि आचार्य तहसम्मको परीक्षा त्रिविबाट र पूर्वमध्यमा तहको परीक्षा एसएलसी बोर्डले लिने व्यवस्था मिलाइएको थियो। २०४३ सालमा दाङको बेलझुण्डीमा महेन्द्र (हाल नेपाल) संस्कृत विश्वविद्यालय (नेसंवि)को स्थापना भएपछि पाठ्यक्रम र परीक्षाको व्यवस्था यसैले गर्दै आएको छ।

१३ वटा आंगिक र २ वटा सम्बन्धनवाला गरर नेसंविअन्तर्गत अहिले १५ वटा विद्यापीठ, क्याम्पसमा संस्कृतको पढाइ हुन्छ। यिनै विद्यापीठ र क्याम्पसमा पाँच\छ हजारको हाराहारीमा रहेका विद्यार्थीहरूले उच्च शिक्षा लिइरहेका छन्। त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह हटाइसकेको सन्दर्भमा नेपाल संस्कृत विश्वविद्यालयमा अझै उत्तरमध्यमा (प्रमाणपत्र) तह चलिरहेकै छ।

प्रवेशिका (पूर्वमध्यमा) पछि उत्तरमध्यमा, शास्त्री र आचार्यको ‘कोर्स’ ७ वर्षको रहेको छ । यी विद्यापीठहरूमा वेद, वेदान्त, मीमांसा, धर्मशास्त्र, इतिहासपुराण, व्याकरण, दर्शन, न्याय, तन्त्र, साहित्य ज्योतिष लगायतका संस्कृत विषयको अध्ययन अध्यापन हुन्छ। यहाँ अध्ययन गर्ने विद्यार्थीले आधुनिक विषयहरू अंग्रेजी नेपाली राजनीतिशास्त्रलगायतका विषय पनि पढ्न पाउँछन्। विश्वविद्यालयले आयुर्वेद योग जस्ता विषयहरूलाई समेत पाठ्यक्रममा समावेश गरेको छ। 

यसैगरी मुलुकमा लगभग १ सयको हाराहारीमा गुरुकुल विद्यालय हुनसक्ने अनुमान गरिएको छ । २०६३ सालमा चितवनको देवघाटमा स्थापना भएको नेपाल राष्ट्रिय गुरुकुल परिषद् नामको संस्थामा हालसम्म करिब ६ दर्जन विद्यालयहरू समेटिएका छन् । गुरुकुल विद्यालय पनि थरीथरीका छन्। कसैले कक्षा एकदेखि प्रवेशिकासम्मै पढाउँछन् त कसैले ४ देखि १०, कसैले ६ देखि १०, कसैले ४ देखि ७, कसैले ४ देखि १० सम्म। औपचारिक रूपमा खुलेका विद्यालयले सरकारले संस्कृत विद्याश्रमको लागि भनेर छुट्याइदिएको पाठ्यक्रम अनुसार पढाउँछन्। तर अनौपचारिक रूपमा पढाइ रहेकाहरूले भने वर्षभरि पढाएर परीक्षा दिने बेलामा विद्यार्थीलाई अन्य विद्यालयमा लग्छन्। कुनै कुनै आश्रममा पढेका विद्यार्थीहरू त भारतको विभिन्न ठाउँमा पुगेर परीक्षा दिन्छन् ।

नेपालमा संस्कृतमा भएका भण्डारहरूमाथि अनुसन्धान गर्न चासो नदिइने भएकाले संस्कृतमा विभिन्न विधामा आचार्य सकेका विद्यार्थीहरू अलमलमा पर्ने गरेका छन्। आचार्य सकेपछि यहीँ प्राध्यापन गर्ने एक मात्र विकल्प तर अवसर थोरै। संस्कृत पढेकाहरूको नेपाली लगायतका भाषा सवल हुने मान्यताअनुरूप विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन वा पुस्तक सम्पादन, सञ्चालनमा संलग्न हुने गरेका छन्। फलित ज्योतिष अध्ययन गर्नेहरू फलादेश, धर्मशास्त्र, इतिहास– पुराण अध्ययन गर्नेहरू पुराणवाचन, आयुर्वेदका विद्यार्थीहरू उपचारमा, योग सिक्नेहरू योगको प्रशिक्षण दिने रोजगार लाग्ने गरेका छन्।

आधुनिक विषय पढ्न पाइने कारण कतिपय शास्त्री सक्नेवित्तिकै त्रिविलगायतका विश्वविद्यालयबाट डिग्री गर्न थाल्छन्। सरकारले संस्कृत विश्वविद्यालयका लागि छुट्याउने गरेको नाममात्रको बजेट कर्मचारी तलब विद्यार्थी छात्रवृत्तिका लागि खर्च हुने र अध्ययन अनुसन्धान नहुने कारणले पनि यहाँबाट उत्पादित जनशक्ति बेरोजगार हुने स्थितिले संस्कृत ओझेलमा पर्दै गएको देखिन्छ । पुरानै पाठ्यक्रम र संस्कृत पढेर के गर्ने भन्ने विषयमा विद्यार्थीहरूमात्र होइन पाठ्यक्रम निर्माताहरू तथा गुरुहरू नै अलमलमा रहेका छन्। 

पश्चिमा देशहरूले संस्कृत भाषाका प्राचीन शिलालेख, पाण्डुलिपिको अध्ययन गरेर लाभ लिइरहेका छन्। संस्कृतमा रहेका दर्शन, योग आयुर्वेद, प्राकृतिक चिकित्सा, ज्योतिष, वास्तु आदि विषयमा अनुसन्धान गर्ने सम्भावना प्रशस्त छ। यसो गर्न सकेमा नेपाल विश्वमै उदाहरणीय बन्न सक्छ। अमेरिकी तथा युरोपेली मुलुकहरूमा संस्कृतको व्यापक अध्ययन अनुसन्धान भइरहेको छ भनिन्छ तर संस्कृतको खानी मानिएको हाम्रो मुलुकमा भने संस्कृत भाषाप्रति वितृष्णा बढ्दो छ।

किन यस्तो भइरहेको छ त? पूर्व उपकुलपति विदुर पौडेल भन्छन्, ‘संस्कृतको गहिराइ बुझ्न नसकेका कारण।’ उनको भनाइ छ ‘पश्चिमाहरू भौतिक रूपमा सम्पन्न भइसकेका कारण अनुसन्धानतर्फ लाग्न थालेका हुन् । दैनिक गुजाराको समस्या पूर्ति भएपछि नेपालीहरूमा पनि त्यो गर्ने दिन अवश्य आउँछ।’ तर त्यो दिन कहिले आउला ? हामीसँग रहेका बहुमूल्य वस्तुहरू सातसमुद्र पार पुगिसकेपछि वा मुसा र धमिराको आहारा बनिसकेपछि? 

सरकारले नाममात्रको बजेट संस्कृत शिक्षाका लागि छुट्याउने गरेपनि संस्कृतमा भएका विविध पक्षहरूको अध्ययन अनुसन्धानको पक्ष भने ज्यादै फितलो छ। विश्वविद्यालयका लागि छुट्याइने बजेट कर्मचारीको तलब, विद्यार्थी छात्रवृत्तिका लागि खर्च हुने र अध्ययन अनुसन्धान नहुने कारणले पनि यहाँबाट उत्पादित जनशक्ति बेरोजगार हुने स्थितिले संस्कृत ओझेलमा पर्दै गएको देखिन्छ। अहिलेको वैज्ञानिक युगमा पुरानो भाषा अध्ययन गरेर कहाँ समय खेर फाल्ने भन्ने सोचाइ पनि धेरैको छ। संस्कृतको भविष्य नदेखेरै होला संस्कृत पढाउने अधिकांश गुरुहरूका छोराछोरी संस्कृत पढ्दैनन, पढिहाले भने पनि संस्कृत विश्वविद्यालयलाई दोस्रो नम्बरमा राखेर। ‘नेपालमा परीक्षण गर्ने परम्परा नभएकाले संस्कृत पछि परेको हो,’ सामवेदाचार्य डा.श्रीराम अधिकारी भन्छन्।

आफूसँग भएका साधन र स्रोतको रक्षा र उपयोग गर्नुपर्नेमा पनि विश्वविद्यालय चुकेको छ। विश्वविद्यालय रहेको दाङस्थित सयौं रोपनी जग्गा अव्यवस्थित बनेको छ। ग्रह नक्षत्र आदिको अध्ययन गर्न भनेर स्थापना भएको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको वेधशाला कामै नलाग्ने भएर ताल्चा मारेको वर्षाैं भइसक्यो । ज्योषिष अध्ययनलाई सजिलो हुन्छ भनेर तत्कालीन (रो)नाष्टले दिएको दूरदर्शक यन्त्र कतिपय विद्यार्थीले देख्नै पाउँदैनन् । 

यहीँ पढेका वा भारतका विभिन्न विश्वविद्यालयबाट आचार्य र विद्यावारिधि गरेका गुरुहरूको खाँचो छैन स‌ंस्कृत विश्वविद्यालयमा। तर उनीहरूको एक मात्र ध्येय हुन्छ, राजनीति।  विश्वविद्यालयमा प्राध्यापकको राजनीति बेग्लै छ, विद्यार्थीको बेग्लै। साना–साना निहुँमा विश्वविद्यालय र विद्यापीठहरूमा बन्द हडताल हुने गर्दछन्। विश्वविद्यालय र विद्यापीठ पढाइको थलो कम, राजनीतिको थलो बढी बनिरहेका छन्। यी राजनीतिका बीच संस्कृत भाषा र पढ्ने विद्यार्थीको भविष्य अन्योलमा छ।

नेपालजस्ता मुलुकमा भएका शिलालेख हस्तलेख जस्ता पुराना वस्तु जुनसुकै मूल्य तिरेर आफ्ना देशमा लगेर अध्ययन अनुसन्धान गरिरहेका छन् । हाम्रोमा भने पुराना हस्तलिखित ग्रन्थहरू रहेको पुस्तकालय (वाल्मीकि विद्यापीठस्थित) मा रहेका हस्तलिखित ग्रन्थहरू मुसाको आहारा बनिरहेका छन्। एउटा गतिलो पुस्तकालय बनाएर तिनको संरक्षण गर्नुपर्छ भन्ने भावना अझै विकास हुन सकेको छैन।

यहीँ पढेका वा भारतका विभिन्न विश्वविद्यालयबाट आचार्य र विद्यावारिधि गरेका गुरुहरूको खाँचो छैन स‌ंस्कृत विश्वविद्यालयमा। तर उनीहरूको एक मात्र ध्येय हुन्छ, राजनीति।  विश्वविद्यालयमा प्राध्यापकको राजनीति बेग्लै छ, विद्यार्थीको बेग्लै। साना–साना निहुँमा विश्वविद्यालय र विद्यापीठहरूमा बन्द हडताल हुने गर्दछन्। विश्वविद्यालय र विद्यापीठ पढाइको थलो कम, राजनीतिको थलो बढी बनिरहेका छन्। यी राजनीतिका बीच संस्कृत भाषा र पढ्ने विद्यार्थीको भविष्य अन्योलमा छ।

संस्कृत पढ्नेहरूले पाएको छात्रवृत्ति र छात्रावासमा बसेर सरकारी भात खाएर पढ्ने गरेकोमा धेरैले इर्ष्या गर्छन्। कर्मकाण्ड गर्ने विद्यालाई सरकारी ढुकुटीबाट पैसा खर्चिएको उनीहरूको भनाइ हुन्छ। संस्कृत पढ्नेमा बाहुनको बाहुल्य भएका कारण बाहुनहरूको भाषा भन्नेको संख्या पनि कम्ती छैन। विश्वविद्यालयका पूर्वउपकुलपति पौडेल भन्छन्, ‘यहाँमात्र होइन, विश्वका जुनसुकै देशमा पनि पुराना भाषा संस्कृति एवं परम्परालाई जोगाउन भनेर राष्ट्रिय स्तरबाटै प्रयास गरिएको हन्छ।’

नाममात्रको बजेट छुट्याएर झारा टार्ने गरेपनि अहिलेसम्म कुनै पनि सरकारले संस्कृतभाषाका बारेमा आफ्नो आधिकारिक धारणा राखेका छैनन्। राजतन्त्र हुँदा राजा विश्वविद्यालयको कुलपति हुन्थे। देशमा लोकतन्त्रको स्थापनापछि प्रधानमन्त्री विश्वविद्यालयको कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था छ। 
द्वन्द्वकालमा त माओवादीले पाठ्यपुस्तक जलाउने, संस्कृत पढ्नेहरूको जनै, टुपी काटिदिनेजस्ता कार्य गरेर संस्कृत भाषाको दोहोलो काढेको थियो। संस्कृत विश्वविद्यालयमाथि आक्रमण, विभिन्न स्थानमा रहेका गुरुकुल विद्यालयका जग्गाजमीन हडपेर संस्कृत निर्मूल गराउने अभियानमा लागेको थियो ।

नेपालमा यतिसम्म अपहेलनामा परेको छ त्रिविमा प्रमाणपत्र तह हटिसकेको वर्षौं भइसक्दा पनि यहाँ भने जोड दुईको पाठ्यक्रम लागु हुन सकेको छैन। संस्कृत विद्यालयबाट एसएलसी गरेका र अन्य विद्यालयबाट आई भाषा प्रशिक्षणसँगै उत्तरमध्यमा पढ्न थालेका विद्यार्थीहरू संस्कृत विश्वविद्यालयको वातावरणमा घुल्दै जाँदा चिन्तित हुने गर्छन्, ‘संस्कृत त पढ्न थालियो तर डिग्री (अाचार्य) गरेर के गर्ने ?

वाल्मीकि विद्यापीठबाट शास्त्री गरेका झापाका विष्णु पौडेल आचार्य पढ्दापढ्दै कोरियाली भाषा सिकेर कोरिया पुगेको ८ वर्षभन्दा बढी भइसकेको छ। संस्कृतमा आचार्य गरेर विभिन्न विषय पढाइरहेका कतिपय स्थायी शिक्षकहरूसमेत जागिर छोडेर अमेरिका, बेलायत वा जापानजस्ता मुलुक भासिने क्रम बढ्दो छ। अहिले पनि शास्त्री आचार्य गरेका विद्यार्थीहरू जापान, कोरिया अमेरिका लगायतका मुलुकमा श्रम बेसाउन जाने प्रक्रियामा देखिन्छन्।

संस्कृत पढेकाहरू कतिको यस क्षेत्रमै रहन्छन्, सरकारले संस्कृतमा लगानी गरेअनुरूपको प्रतिफल किन आउन सकेको छैन अथवा संस्कृत पढ्नेहरूले यस क्षेत्रमा कतिको योगदान दिएका छन्, अनुसन्धान हुनुपर्छ।

[email protected]

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.