|

काठमाडौं : सरकारले स्वास्थ्य बिमा कार्यक्रम बिहीबारदेखि थप तीन जिल्लामा विस्तार गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीले असार १ देखि तनहुँ, भक्तपुर, र चितवनमा स्वास्थ्य बिमा लागू गरिएको जानकारी दिए। उनले असार १५ गतेदेखि जाजरकोट, गोरखा, जुम्ला र मकवानपुर लागू गरिने समेत बताए।

'आजबाट हामीले थप तीन जिल्लामा (तनहुँ, भक्तपुर, चितवन) मा स्वास्थ्य बिमा लागू गरेका छौं, यही १५ गतेदेखि जाजरकोट, गोरखा जुम्ला र मकवानपुर जिल्लामा लागू गर्न लागेका छौं, झापामा पनि यही चरणमा बिमा लागू गर्ने योजना भए पनि हाल निर्वाचनको कारणले स्थगित गरिएको छ' उनले भने

निर्देशक डा. लोहनीका अनुसार बिहीबारदेखि स्वास्थ्य बिमामा सहभागी भएका बिमितहरुले भदौदेखि स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न सक्नेछन्। २०७२ साल चैतको पहिलो साता कैलाली, बाग्लुङ र इलामबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल विभिन्न आठ जिल्लामा सञ्चालित छन्। हालसम्म ७० हजारले स्वास्थ्य बिमा बापत सेवा लिइसकेका छन्।  आर्थिक बर्ष २०७४/०७५ सम्ममा सरकारले २५ वटा जिल्लामा यो कार्यक्रम विस्तार गर्ने योजना रहेको छ। आगामी तीन वर्षभित्र यसलाई मुलुकभर विस्तार गर्ने सरकारको योजना रहेको हुँदा सोही अनुसार तयारी गरिएको डा. लोहनीले जानकारी दिए। 

के हो स्वास्थ्य बिमा ?

स्वास्थ्य बिमाको सदस्यताको लागि ५ जना सदस्यभएको परिवारलाई एक एकाई निर्धाराण गरेको छ। एउटा परिवारले वर्षको २ हजार ५ सय रुपैयाँ तिरेपछि वर्षभरीमा ५० हजार बराबरको स्वास्थ्य सेवा लिन पाउँछन्। यदि ५ जनाभन्दा बढी सदस्य भएको परिवार भए १ व्यक्ति बराबर ४ सय ५० रुपैयाँ थपिन्छ भने सेवा पनि १० हजार थप लिन सक्ने व्यवस्था रहेको छ। यसरी परिवारलाई प्याकेज दिँदा उनीहरुमा प्रिमियमको रकम पनि बाँडेर तिर्न सक्ने र स्वास्थ्य जोखिम पनि साटासाट हुने भएकाले ५ जना बराबर १ परिवारको एकाई बनाएको हो।

बिमा गरेपछि के सुविधा पाइन्छ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बlमा गर्ने व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसन लगायतका उपचारमा बार्षिक ५० हजार बराबरको स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।तर, कस्मेटिक सर्जरी, व्यक्ति व्यक्तिबीचको झगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैनन्। यस्ता उपचारलाई बिमाले समेट्दैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.