|
पाल्पा सदरमुकाम तानसेनमा सडकको अवस्था

तानसेन : नेकपा एमालेका तर्फबाट गुल्मी सदरमुकाम रेसुंगा नगरपालिका प्रमुख पदका उम्मेदवार डिल्लीराज भुसालको प्रतिबद्धता पत्रको पहिलो बुँदामा लेखिएको छ, ‘तम्घासदेखि प्रत्येक वडाको केन्द्रसम्म जोड्ने सडक ५ वर्षभित्र कालोपत्रे गरिनेछ।’ उनका बलिया प्रतिस्पर्धी मानिने कांग्रेसका उम्मेदवार भुवन श्रेष्ठको सपना पनि उस्तै छ। सडक सञ्जाल विस्तार गर्ने नगरका पर्यटकीय स्थलहरुमा सडक पुर्‍याउने, स्तर वृद्धि गर्ने र पर्यटक भित्र्याउने।

गुल्मीको तम्घासमात्रै होइन, पाल्पाका उम्मेदवारका प्रतिबद्धताका मुख्य बुँदा वा उनीहरुले मतदातालाई देखाउने मुख्य सपना सडककै हुन्। पाल्पाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने माथागढी गाउँपालिकामा कांग्रेसका उम्मेदवार बनेका सन्तोष थापा मगरको प्राथमिकताको सूचीको पहिलो नम्बरमै सडक छ। उनको मात्रै होइन, उनका प्रतिष्पर्धी एमालेका विमलप्रसाद काफ्लेको सपना पनि उही नै हो, ट्र्याक खुलेका ठाउँका सडक पक्की बनाउने।

कांग्रेस, एमाले, माओवादी र अरु दलहरुका चुनावी नारा धेरै भए पनि उनीहरुले मतदातालाई गर्छु भन्ने पहिलो काम नै सडक निर्माण हो।  चाहे माथागढी होस् वा गुल्मीको रेसुंगा नगरपालिका उम्मेदवारलाई चक्रपथ बनाउन मन छ। 

‘काम गरेको देखिने र तत्कालै मन जित्न सकिने भएकाले पनि स्थानीय तहको चुनाव लड्दै गरेका उम्मेदवारहरुले पहिलो प्राथमिकतामा सडक नै राख्ने गरेका हुन,’ तानसेनका एक बुद्धिजीवी निर्मल श्रेष्ठ भन्छन्, ‘सडक त उनीहरुले बनाउँदिन भने पनि विकासको क्रममा आफै पुग्छ, तर उनीहरुले के भन्न सक्नुपर्छ भने बनिसकेको सडक र अब बन्ने सडकमा गुड्ने गाडीले बजारको चाउचाउ र कोकाकोला मात्रै गाउँ पुर्‍याउने छैन, गाउँको अर्गानिक र बिक्रीयोग्य कृषि उत्पादनलाई शहरमा पुर्‍याउने छन्।’

उनले अघि भने, ‘सडकका एजेन्डा उठाउने, तर काम केही नगर्ने पनि हुनसक्छ, अहिलेसम्म हरेक चुनावमा सडकका कुरा उठेकै छन् र नयाँ सडक पनि बनेका छन्, तर भएका सडकको सुधार नगर्ने, सपना मात्रै देखाउने हुन् कि भन्ने चिन्ता हो।’ 

दलहरुको चुनावी प्रतिबद्धताको सूचीमा खानेपानी दोस्रो प्राथमिकतामा छ र तेस्रोमा विद्युत।  कांग्रेस रेसुंगाका उम्मेदवार भुवन श्रेष्ठ भन्छन्, ‘तम्घास बजार र गुल्मीकै कुरा गर्ने हो भने पनि खानेपानीको समस्या छ, यो समस्या समाधान गर्न मैले विगतमा पनि काम गरेको थिएँ र अब मैले जितेपछि एक घरमा एक धारा पुर्‍याउनेछ।’

अनौठा नारा : गाउँ छुट्टाउनेदेखि खरका छानामुक्त 

रेसुंगामा एमालेका उम्मेदवार डिल्लीराज भुसालको नारा छ, रेसुंगालाई खरको छानामुक्त बनाउने। नाराकै रुपमा प्रचार गरे पनि उनीसँग कसरी खरको छानामुक्त रेसुंगा बनाउने भन्ने ठोस योजनाचाहिँ उनीसँग छैन। उनले अर्को पनि नारा बनाएका छन्, सरकारी सुविधा नलिने।

माओवादी केन्द्र भुसालभन्दा अघि बढेर गुल्मी जिल्लालाई नै खरको छानामुक्त बनाउने बताउँछ। ‘हामीले अधिकांश तहमा जित्यौं भने जिल्लाभरलाई नै खरको छानामुक्त बनाउने योजना छ, माओवादी नेता बुद्धि जिसी भन्छन्, ‘खरको छाना भएका कारण आगलागीको समस्या र वर्षायाममा चुहिने समस्या बढी हुन्छ।’

पाल्पा माथागढीका एमाले उम्मेदवार विमलप्रसाद काफ्लेले आफूले गाउँपालिका अध्यक्षमा जित हात पारेमा माथागढीको चिदीपानी क्षेत्रलाई माथागढीबाट अलग गराएर तानसेनमा गाभ्ने आश्वासन बाँड्न थालेका छन्। उनको तर्क छ, ‘चिदीपानीलाई माथागढी गाउँपालिका भन्दा तानसेन नगरपालिका पायक पर्छ, त्यसैले उतै गाभ्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.