|

काठमाडौँः नेपाल प्रज्ञाप्रतिष्ठानको अनुवाद विभागद्वारा बुधबार अनूदित साहित्यबारे बहस गरियो। वी.पी. कोइरालाका अनुवाद साहित्यदेखि रूसी भाषाबाट नेपालीमा अनूदित साहित्यलाई बहसको विषय बनाइएको थियो। 

कार्यक्रममा डा. तुलसी भट्टराईले ‘वी.पी.का अनूदित कृतिहरू’ शीर्षकमा र प्रा.डा. जंगब चौहानले ‘नेपाली भाषामा अनूदित रूसी साहित्य’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुत गर्दै डा. भट्टराईले वी.पी.का ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘आफ्नो कथा’ जस्ता कृति हिन्दी र अंग्रेजी भाषामा अनूदित भएको बताए। 

‘जेल जर्नल’मा विश्वसाहित्य, दर्शन, राजनीति र इतिहास विषयक ग्रन्थहरू एवं स्रष्टाको उल्लेखले वी.पी. स्वयं अनुवादक भएको पुष्टि हुने उनले बताए। 
प्रा.डा. चौहानले रूसी साहित्यकारहरू आन्तोन चेखोभ, म्याक्सिम गोर्की, मिखाइल सोलोखोभ, निकोलाई आस्त्रोभ्स्की, निकोलाई गोगोललगायतका ४९ कृति नेपाली भाषामा अनूदित भएको उल्लेख गरे। 

कार्यक्रममा विजय दत्त, हरि गौतम, प्रा.डा. विष्णुराज आत्रेय, डा. गोपाल पोखरेल ‘विवश’, मेघराज अधिकारीले कार्यपत्रमाथि जिज्ञासा राखेका थिए। 

प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राजनीतिक परिवर्तनहरूमा साहित्यको अहं भूमिका रहेको दृष्टान्त पेस गर्दै गोष्ठीमा प्रस्तुत कार्यपत्रहरूले पर्याप्त सूचना दिएको बताए। उनले भने, ‘प्रज्ञाप्रतिष्ठानले अनुवादलाई विशेष महत्त्व दिईकन थुप्रै उल्लेखनीय कार्यहरू गरिरहेको छ। केही महत्त्वपूर्ण अनूदित कृतिहरू हीरक महोत्सव समापनका अवसरमा प्रकाशितसमेत हुँदै छन्।’

नेपाली साहित्यका कृतिहरू अन्तर्राष्ट्रिय भाषामा कम अनूदित हुनुले नै नेपाली साहित्य विश्व बजारमा पुग्न नसकेको प्रतिष्ठानका पूर्व कुलपति एवं कवि वैरागी काइँलाको दाबी थियो। उनले नेपाली साहित्यका तुलनामा अन्तर्राष्ट्रिय भाषाका कृतिहरू नेपाली भाषामा बढी अनूदित हुने गरेको बताए। ‘यो पनि राम्रै हो, विश्वमा लेखिएका राम्रा र उत्कृष्ट साहित्य पढ्न पाइन्छ’ उनले भने, ‘नेपाली साहित्यलाई विश्व बजारमा पुर्‍याउन उत्कृष्ट नेपाली रचनाहरूको अनुवाद हुनै पर्छ।’ 

काइँलाले लिम्बू भाषाका रचनाहरू नेपाली भाषामा अनुवाद गरेको प्रसंग झिक्दै नेपालका नेवार, अवधी, मगर, तामाङ, मैथली, भोजपुरीलगायत मातृभाषाहरूका कृतिहरू पनि नेपाली भाषामा अनुवाद गर्नुपर्नेमा जोड दिए। 

‘आधुनिक जापानी कविता’, ‘पोइम्स अफ द सेन्चुरी’, ‘भोइस फ्रम नेपाल’ ‘बियोन्ड बोर्डर्स : एन एन्थोलजी अफ सार्क पोयट्री’लगायत आधा दर्जनभन्दा बढी कृतिहरू अनुवाद गरिसकेका प्रा.डा. अभि सुवेदीले अनुवादबाटै विश्व साहित्यको कुरा आएको बताए। ‘विश्वका राम्रा रचनाहरूबारे अरू भाषाकाले पनि जानुन् भनेर अत्यन्त संकटको अवस्थामा समेत अनुवाद भएको पाइन्छ। अनुवाद गरिएका साहित्यको गुणस्तरमा चाहिँ ध्यान दिनुपर्छ’, उनको भनाइ थियो। 

‘देवदास’, ‘सार्क मुलुकका महिला कथाकारका कथा’ र ‘रवीन्द्रनाथ टैगोरका कथाहरू’ नेपाली भाषामा अनूदित गराइसकेको प्रतिष्ठानको अनुवाद  विभागले ‘अनुवादक परिचय कोश’ ग्रन्थ प्रकाशनको तयारी गरिरहेको प्रतिष्ठानका अनुवाद विभाग प्रमुख एवं कार्यक्रम संयोजक प्राज्ञ प्रा.डा. उषा ठाकुरले बताइन्।

कृतिहरू अनुवाद गरिरहेका साहित्यकारहरूको विस्तृत परिचय कोशमा रहने जनाउँदै उनले भनिन्, ‘नेपालका ३९५ अनुवादकको नाम संकलन भइसकेको छ। यसमा छुटेका अनुवादकहरूको नाम थप्ने काम पनि भइरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.