|

  • दीपशंकर चौलागाईं-

दोलखाः विपद् व्यवस्थापनका लागि  स्थानीयस्तरमा समिति गठन गर्न जिल्ला दैवी प्रकोप उद्धार समिति दोलखाले जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ।

बर्षातको समय सुरु भएकाले मानव स्वास्थ्यदेखि विभिन्न क्षेत्रमा समस्या आउन सक्ने हुँदा समस्याको समाधानका लागि स्थानीयस्तरबाट छिटो र सरल रूपमा काम गराउने उद्देश्यका साथ समिति गठन गर्दै रक समेत बिनियोजन गर्न समितिले आग्रह गरेको हो। 

जिल्ला दैवी प्रकोप उद्धार समिति दोलखाको बैठकमा सहभागी भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले तत्काल नगरका वडाहरूमा विपद् व्यवस्थापनका लागि समिति बनाउन पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गरे।

सरकारी कार्यालयका प्रमुखहरूलाई बर्षातको समयमा जिल्लावासीहरूमा कहीँ कतै समस्या पर्न गएमा तत्काल सेवा प्रदान गर्नुपर्ने हुँदा जिल्ला नछोड्नसमेत समितिले अनुरोध गरेको छ। 

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा बसेको समितिको बैठकले मनसुन सुरु भएसँगै ग्रामीण भेगका सडक भत्किने, पहिरो जाने र अवरुद्ध हुनेजस्ता समस्या बढी आउने हुँदा तत्काल नागरिकलाई सेवा प्रदान गर्न सरकारी कार्यालय, सडक निर्माण गर्दै गरेका ठेकेदार कम्पनी, माथिल्लो तामाकोसी, खिम्ती हाइड्रोपावर कम्पनी, खानीखोला जलविद्युत कम्पनी, सिप्रिङ खोला जलविद्युत कम्पनीलाई डोजर, स्काभेटर तयारी अवस्थामा राख्न लिखित निर्देशन पठाउने निर्णय गरेको छ। 

जिल्ला रेडक्रस सोसाइटी दोलखा, जिल्ला स्वास्थ्य कार्यालय, विद्युत प्राधिकरण शाखा, डिभिजन सडक कार्यालय दोलखा, जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालयलाई कर्मचारी र आफूले प्रदान गर्ने सेवा तयारी अवस्थामा राख्न पनि समितिले आग्रह गरेको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले लोड सवारी चेक जाँच गरी बाटोको अवस्था हेरी पठाउने र चालकलाई गाडीको गति कम गर्न लागाउँदै पछि आउने समस्याका विषयमा प्रशिक्षित गराउन समितिले निर्देशन दिएको छ। 

नेपाली सेनाको रणभीम गण चरिकोटलाई उद्धार कार्यमा प्रयोग हुने जनशक्ति र सामग्रीहरू राख्न र सहयोग गर्न अनुरोध गर्ने निर्णय जिल्ला दैवी प्रकोप उद्धार समिति दोलखाले गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.