|

धुलिखेलः साविकको सानोवाङथली–७, सिरानचौर चौरी देउराली गाउँपालिकाकी लक्ष्मी परियार र पाँचखाल नगरपालिका– ६ शिखरपुरका १८ वर्षका अजीत ढकाल मिजारको परिवारलाई बिहीवार प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले १० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

दुई महिनाअघि भएको मन्त्रिपरिषदको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी सिंखडाले मृतक परियारका भाइ लोकबहादुर परियार र देवर ज्ञानबहादुर परियारलाई राहत स्वरूप १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। 

त्यस्तै अजीतको परिवारलाई पनि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ। दुवै परिवारलाई जिल्ला प्रशासन कार्यालयमै बोलाएर चेक हस्तान्तरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी सिंखडाले चेक हस्तारतरण गर्दै मृतकका परिवारलाई केही मात्रामा भए पनि सहयोग पुर्‍याउने उद्देश्यले सरकारले उपलब्ध गराएको १० लाख रुपैयाँको सही सदुपयोग गर्नका लागि आग्रह गरे।

लक्ष्मी परियारको २०७३ मंसिर २४ गते स्थानीयबीच भएको विवादपछि भएको झगडाको विषयलाई प्रहरीले मिलापत्र गरेको २४ घण्टा नबित्दै लास भेटिएको थियो। उनको लास अहिलेसम्म जलाइएको छैन। 

परियारलाई विभिन्न आरोप लगाएर कुटपिट गरेका कारण मृत्यु भएको कर्तव्य ज्यान मुद्दाका आरोपितमध्ये तीन जनालाई जिल्ला अदालत काभ्रेले पुर्पक्षका लागि थुनामा पठाएको छ।

घटनामा संलग्न रहेको भन्दै स्थानीय हीरा लामा, उनकी आमा कान्छीमाया लामा र उनका श्रीमान मिलन परियारलाई जिल्ला अदालत काभ्रेले पुर्पक्षका लागि थुनामा राखेको छ। अर्का आरोपित निरमाया तामाङलाई भने पच्चीस हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाडिएको थियो।

अजीतको शव गत असार ३० गते धादिङ गजुरी खोलामा भेटिएको थियो। अजीत र उनीसँगै अध्ययनरत एक युवतीले असार २५ गते प्रेम विवाह गरेका थिए। २९ गते घरबाट हराएका मिजारको शव झुण्डिएको अवस्थामा धादिङमा भेटिएकाले ‘त्यहाँ लगेर हत्या गरिएको’ आरोप मृतकका परिवारले लगाउँदै आइरहेका छन्।

उमेर नपुगी विवाह गरेको भनेर केटी पक्षले उजुरी गरेपछि असार २७ गते दुवै पक्षलाई पाँचखाल प्रहरी चौकीले परिवारको जिम्मा लगाएको थियो। गाडिएको स्थानबाट लास झिकेर साउन ४ गते शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिएको थियो। मृतकका आफन्तले अहिलेसम्म पनि लास बुझेका छैनन्।

इलाका प्रहरी कार्यालय गजुरीले परिवारलाई जानकारी नदिई लास गाडेको र पोष्टमार्टमसमेत नगरेको मृतकका परिवारको आरोप छ। गजुरीबाट धादिङबेसी जाने सडकको फुर्केखोला पुलपारि एउटा काठको पाटीमा लास भेटिएको थियो।

लक्ष्मी र अजीतको शव असार ४ मा जलाउने तयारी

मृत भेटिएकी लक्ष्मी परियार र शंकास्पद अवस्थामा मृत भेटिएका अजीत ढकाल मिजारको शव अब दाहसंस्कार गर्ने परिवारले जनाएको छ। लक्ष्मीको शव सात महिनापछि र मिजारको शव एक वर्षपछि दाहसंस्कार गर्ने तयारी गरिरहेको मृतकका परिवारले जानकारी दिएका छन्। प्रहरी प्रशासनबाट लास बुझिएको आवश्यक कागजात परिवारले बिहीबार नै बुझिलिएको जनाएको छ।

१० लाख रुपैयाँ परियारका लागि सहयोग प्राप्त गरेपछि दाहसंस्कार गर्न परिवार पक्ष मञ्जुर भएको हो। मृतक लक्ष्मी परियारका देवर ज्ञानबहादुर परियारले लास दाहसंस्कार गर्न मञ्जुरी दिए पनि दोषीमाथि कडा कारवाही गरिनुपर्ने र मृतकका श्रीमान् मिलन परियारलाई रिहा गरिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.