निर्वाचनको तयारीमा रहेका नेता भने दुःखी

|

  • गोविन्द महतो-

जनकपुरधामः तराई–मधेसका जिल्लाहरूमा बन्द, हडताल र संघीय गठबन्धनको अवरोधका कारण निर्वाचनको तयारी पूरा हुन नसकेको अवस्थामा निर्वाचनको मिति सारिँदा निर्वाचनको थप तयारीका लागि राजनीतिक दल तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन्।

संविधान संशोधनविना कुनै पनि हालतमा निर्वाचनमा सहभागी नहुने तथा निर्वाचन बिथोल्ने जनाउँदै आएका संघीय गठबन्धनलाई निर्वाचनमा सहभागी गराएर तेस्रो चरणको निर्वाचनमा सम्पूर्ण राजनीतिक दल भाग लिने भएपछि यस क्षेत्रका जनता हर्षित देखिएका छन्।   

तराई–मधेसका प्रायजसो जिल्लाहरूमा शहरदेखि गाउँ तहसम्मै स्थानीय निर्वाचनको महोल बन्न नसकेको अवस्थामा सरकारले प्रदेश नं. २ को निर्वाचन तेस्रो चरणमा गराउने जानकारीसँगै सबै पक्षलाई समेटेर लैजान प्रयास गरेकोमा माओवादी केन्द्रका नेता तथा पोलिटब्युरो सदस्य रामचन्द्र मण्डलले सरकारको प्रशंसा गरे।

‘बन्द, हडताल र विरोधका बाबजुद कसरी निर्वाचन हुन्थ्यो र! मधेस जलिरहेको अवस्थामा काठमाडौँले जबरजस्ती निर्वाचन गराएर हुन्छ?, उनले भने, ‘आखिर सरकारले सबै दललाई राजनीतिक सहमतिमा ल्याएर निर्वाचन गराउने निर्णय गरेको छ, यो साह्रै प्रशंसनीय छ।’

तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रले समेत आफ्ना आधिकारिक उम्मेदवार हालसम्म टुंगो लगाउन नसकेको बेलामा निर्वाचनको मिति सारिनु सकारात्मक भएको नेपाली कांग्रेस धनुषाका सचिव कोमलकान्त झाको भनाइ छ। धनुषामा नेपाली कांग्रेसका उम्मेदवारहरूको आन्तरिक टुंगो लागे पनि निर्वाचनमा सबैलाई सहभागी गराएर जानु सकारात्मक पक्ष भएको उनी बताउँछन्।

यता, राजपाका नेता संजय सिंहले हाल प्रदेश नं. २ मा निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयमा राजपाको कुनै समर्थन नभएको बताएका छन्। ‘सरकारको निर्णयले राजपालाई कुनै फरक पर्दैन, हाम्रो आन्दोलन जारी छ’, उनले भने, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेको मधेसलाई आठ जिल्लामा सीमित गर्न खोज्ने सरकारको निर्णय भत्र्सनायोग्य छ।’   

राजपाका केन्द्रीय नेता एवं अध्यक्षमण्डलका सदस्यहरूले अधिकांश समय तराई–मधेसका जिल्लाहरूमा हुने विरोधका कार्यक्रमहरूलाई दिइरहेको, स्थानीय निर्वाचनको विरोधमा र केन्द्रीय नेताले अपेक्षाकृत रूपमा निर्वाचनबारे तयारी गर्न नसकेकाले निर्वाचन अहिलेको अवस्थामा कुनै पनि हालतमा नहुने प्रदेश नं. २ का उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकार साह (हीरा) बताउँछन् ।

यता केन्द्रबाट निर्देशन र कार्यक्रम नआए पनि जिल्लाकै पहलमा कार्यकर्ता जागरणको काम गरिरहेको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य उमेश साह भने सबै कार्यकर्ता तयार हुने गरी संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेको बताउँछन्। उनले भने, ‘सदस्यता बिस्तार र निर्वाचन लक्षित अभिमुखीकरण अभियान सञ्चालन गर्न विभिन्न वडाहरूमा समिति बनाएर वडा, गाउँ तथा टोल पठाएका छौँ।’

एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले आफ्नो दलकै दवाबले तोकिएको निर्वाचन आफ्नो पक्षमा पार्ने कसरतमा लागेको बेलामा एक्कासि मिति सारिनु एउटा अर्को झमेला भएको बताउँछन्। उनले भने, ‘निर्वाचन आजको आवश्यकता हो, चाँडै हुनुपर्छ भनेका थियौँ, घोषणा भयो, स्वागत गर्दै गाउँ पसेका थियौँ, तर अन्तिम समयमा आएर निर्वाचन सार्नु दुःखद हो।’

संघीय समाजवादी फोरम नेपाल, राप्रपा नेपाल र अन्य साना दलले पनि संगठन बिस्तारसहित कार्यक्रम गरिरहेको बेलामा निर्वाचन सर्नु मधेसलाई नै पछाडि पार्नु भएको टिप्पणी गरेका छन्। नयाँ शक्ति पार्टी नेपालसहित अन्य साना दलका नेता, कार्यकर्ता निर्वाचनमा होमिइरहेका बेलामा  निर्वाचन सर्नु दुखद् भएको राप्रपा नेता कमलेश मण्डल बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • म ताक्छु मोढो बञ्चरो ताक्छ घुँढो भन्थे हो रहेछ भत्ता बसि बसि आउने भएसी त्यो भन्दा ठूलो खुशी के हुन्छ र सब भोकमारिहरुले गर्दानै देश उभो नलागेको हो जब संम्म कढा कानुनको नीति बन्दैन तब संम्म केही हुनेवाला छैन लोक तन्त्रको नाममा लुट तन्त्र