|

गोरखाः गोरखाकै पहिलो ठूलो ६ मेगावाटको जलविद्युत आयोजना दरौँदी कालिका (ए) ले वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई खोला सुकाएर विद्युत उत्पादन गरेको छ। 

जलचर प्राणीहरूलाई असर नपर्ने गरी जलविद्युत उत्पादन गर्नुपर्ने ऐन भए पनि दरौँदी कालिका हाइड्रोले दरौँदी नदीमा ड्याम क्षेत्रबाट तल पानी सुकाएर विद्युत उत्पादन गर्दै आएको छ। वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ मा विद्युतको ड्याम रहेको क्षेत्रबाट तल्लो क्षेत्रमा निकुञ्ज, संरक्षित क्षेत्र, घाट रहेमा २५ प्रतिशत पानी नदीमा नियमित बग्न दिनुपर्ने व्यवस्था उल्लेख छ।

त्यस्तै, अन्य साधारण क्षेत्रहरूमा भने १० प्रतिशत पानी अनिवार्य नदीमा नियमित बग्न दिने व्यवस्था उल्लेख भए पनि त्यस्तो भएको छैन। दरौँदी कालिका हाइड्रोको ड्याम क्षेत्र झ्याल्ला फाँटदेखि आयोजनाको पावर हाउस रहेको ठाउँ चनौटेसम्म १० प्रतिशत पानी नछोडिएको हो। उक्त आयोजना रन अफ द रिभरअन्तर्गत चितवनको कालिका पावर कम्पनी लिमिटेडले सञ्चालन गरेको हो। 

‘हरेक आयोजनाले कम्तिमा १० प्रतिशत ड्यामबाट तल बग्ने गरी छोड्नुपर्ने हुन्छ’, नेपाल विद्युत प्राधिकरण गोरखा वितरण शाखाका प्रमुख अमृत अधिकारीले भने, ‘सबैले ऐनको पालना त गर्नै पर्छ। ड्यामभन्दा तल जलचर प्राणी, चराचुरुंगीलाई असर गर्ने गरी काम गर्न नियमले दिँदैन।’ 

उता कालिका हाइड्रोपावरका इन्जिनियर भने ड्यामभन्दा अलि तल गएपछि दरौँदी नदीमा झ्याल्ला खोला मिसिने भएकोले त्यसो गरेको बताउँछन्। ‘हाम्रो ड्यामभन्दा अलि तल झ्याल्ला खोला छ, त्यसको पानीले कभर गर्छ भनेर त्यसो गरिएको हो’, कालिका पावर कम्पनीका इन्जिनियर कृष्णबहादुर खड्काले भने, ‘छोड्नुपर्ने १० प्रतिशत हो, त्यहाँ केही पानी माथिबाट पनि छोडिएको छ। तल अरू पानी मिसिन्छ, खासै असर गर्दैन।’

इन्जिनियरले यस्तो भने पनि आयोजनाको ड्यामदेखि तलको क्षेत्रमा पानीको प्रतिशत शून्य रहेको छ। पानी सुकेपछि नदीमा रहेका माछा, भ्यागुतालगायतका जलचर प्रणीहरू केही नरहेको स्थानीयहरू बताउँछन्। ६ मेगावाट क्षमताको जलविद्युत आयोजना भनिए पनि अहिले यसले ३ मेगावाट विद्युत मात्र उत्पादन गर्दै आएको छ। 

गोरखा सदरमुकाममा रहेको सबस्टेशनमा ६ मेगावाट क्षमताको विद्युत भार थाम्न सक्ने ट्रान्सफर्मर नभएकाले कम उत्पादन भएको हो। उक्त जलविद्युत आयोजना जडान भएपछि गोरखालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गरिए पनि यहाँ दैनिकजसो लोडसेडिङसमेत भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Gorkha ss contain 6/8 mva transformer please make the news with good information