|

लहान : चुनाव हुन्छ कि हुँदैन भन्ने अन्यौलका बीच बिहीबार सिरहाको लहानमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रमोद यादवसहितका जिल्ला नेताहरु उम्मेदवारको अन्तिम नामावली तय गर्दै थिए। सरकारले २ नं. प्रदेशको चुनाव आगामी असोज २ गते गर्ने निर्णय गरेलगत्तै एमाले सिरहाका अध्यक्ष प्रमोद यादवले भने ‘चुनाव सार्ने सरकारको पूर्व योजना भएपनि नसर्नु पर्ने थियो, सर्‍यो।’

सरकारले तेस्रो चरणमा गराउँछु भनेको चुनाव पनि हुन्छ कि हुँदैन संशय गर्ने पर्याप्त आधार छन् भन्दै अध्यक्ष यादवले भने ‘चुनाव कसरी गराउने हो, त्यो जिम्मेवारी सरकारको हो ।’

स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गर्नु एक दिनअघि मात्र सरकारले बिहीबार प्रदेश नम्बर २ को चुनाव असोज २ गतेलाई सारेको थियो।

त्यस्तै, नेकपा माओवादी केन्द्र सप्तरीको सुरुङ्गा नगरपालिकाको चुनावी अभियान सञ्चालन गरिरहेका नेवाः राज्य समितिका पूर्व सदस्य तारा तिम्सिनाले भने राष्ट्रिय राजनीतिको आवश्यकता अनुरुप चुनाव सरेकोलाई अन्यथा लिन नहुने बताए। तथापी चुनावको पक्षमा जनलहर र पार्टीहरुको चुनावी अभियान चलिरहेका बेला अकस्मात् चुनाव स्थगनको खबर पाएपछि सामान्य मतदाता भने निराश भएको उनको भनाई छ। ‘असोज २ मा पनि चुनाव हुन्छ भन्ने के ग्यारेण्टी?’ उनले भने।

सर्वसाधारण चुनावकै पक्षमा

सरकारले असोज १४ गतेका लागि तोकेको निर्वाचन असोजमा पुर्‍याएको विषयमा सप्तरीको सुरुङ्गा नगरपालिका ७ की भिखोदेवी विश्वकर्माले भनिन् ‘चुनावको पक्षमा ठूलो जनलहर हुँदा पनि निर्वाचन सारिनुमा पक्कै कुनै ठूलै समस्या छ।’ चुनाव जे कारणले सरेको भएपनि मतदाताको मत हाल्ने अधिकारको ग्यारेण्टी राज्यले गर्नुपर्‍यो, आफूहरुले मत हाल्ने तयारी गरेको विश्वकर्माले सुनाइन्।

त्यस्तै, हरुवा चरुवा आन्दोलनका अगुवा दशन मण्डलले भने ‘पहिलो चरणमै हाम्रो पनि चुनाव हुनु पर्थ्यो, खेतीपातीको समयले छोप्न थालिसक्यो, जनता आफ्नो काम छोडेर भएपनि मत खसाल्न जान्थे, चुनावको मिति सरेर सरकारले राम्रो काम नगरेको उनको बुझाइ छ।

सिरहाको लहान १३ बस्तीपुर पिडरबोनीका सूर्यनारायण राम पनि असन्तुष्ट भनिएको मधेस केन्द्रित दलको माग सम्बोधन गर्ने नाममा पटक पटक सर्दै गएको चुनावलाई हुनै नदिने षड्यन्त्रको रुपमा अर्थ्याउँछन्। ‘तराईका जनता असार १४ कै दिन भोट हाल्न तयार थिए, तर चुनाव सारिएकाले निराश छन्’ रामले भने।

लहान १० गुदीगाउँका नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार समेत रहेका विनोदकुमार विसुन्के चुनावको पक्षमा जनलहर, चुनावी चहलपहल बढिरहकै बेला भएको निर्वाचन स्थगनले तत्काल निराश बनाएको बताउँछन्। ‘चुनाव विकास र समृद्धि ल्याउने योग्य उम्मेदवार छनौट गर्ने माध्यम हो’ उनले भने ‘तर त्यही चुनावले विनाश ल्यायो भने संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन गर्न कठिनाई हुन्छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.