|

धादिङ : दक्षिणी धादिङको अति विकट ब्रुसबाङ गाउँमा उत्पादित अन्नले खान नपुग्ने भएपछि यहाँका चेपाङ समुदाय सिस्नु, गिठ्ठा र टाँकीको मुन्टाले छाक टार्न बाध्य भएका छन्। कन्दमूलमा बाँचेको बु्रसबाङलाई अब छाक टार्न पनि मुस्किल भएको छ। बेनीघाट रोराङ गाउँपालिका–२ मा पर्ने बु्रसबाङमा ३७ परिवार चेपाङको बसोवास छ।

भीरमा रहेको खोरियामा निकै संघर्ष गरी छरेको मकैले ६ महिना पनि राम्रोसँग खान पुग्दैन। समय परेको वर्ष उत्पादन पनि ठिकै हुन्छ, नत्र खडेरीले बोट सुकेपछि उत्पादनै हुँदैन। उत्पादित अन्नले खान नपुग्ने भएपछि स्थानीय चेपाङ समुदाय जंगली कन्दमूल र सिस्नो तथा टाँकीको सहारा लिन बाध्य भएको बताउँछन्। राममाया चेपाङ बाबु–आमा र तीनजना बच्चालाई बिहान–बेलुकाको छाक टार्न मुस्किल भएको बताउँछिन्। घरछेउमा रहेको सिस्नोको बोटमा मुन्टा टिप्दै गरेकी चेपाङले भनिन्, ‘खाए पनि सिस्नो, नखाए पनि सिस्नो, बारीमा टिपे पनि सिस्नो, जंगल गए पनि सिस्नो, यही सिस्नु छ र हामी बाँचेका छौँ, नत्र के बाँचिन्थ्यो।’

सिस्नो नपाएको खण्डमा उनीहरू टाँकीको मुन्टासमेत खाने गरेका छन्। महिनादिन भइसक्यो टाँकीको मुन्टा खाएको। बारीको डिलमा सिस्नु टिप्दै गरेकी दिलमाया चेपाङको पनि हाल उस्तै छ।

ज्यानै जालाजस्तो भो
चैतको मध्यतिरबाट लगातार बिहान गिठ्ठा, बेलुका सिस्नु खाएका उनीहरूले खाद्यान्न अपुगले बाँच्न गाह्रो भएको बताएका छन्  ‘अब त खोज्न जान नसक्ने गरी गलिसक्यौँ,’ दिलमाया चेपाङले भनिन्, ‘घरमा मकै पनि छैन, लगाएको ८ महिनामा पाक्ने मकैले आठजनाको परिवारलाई मुस्किलले चार महिनासम्म खान पुग्छ। मकै पाक्न कात्तिक पर्खनुपर्छ, कसरी बाँच्नु?’

६७ वर्षीय चन्द्रमान चेपाङ बिहान छोरालाई साथी लिएर गिठ्ठा तास्दै थिए। अघिल्लो दिन बाबुछोराले दिनभर वन चहारेर आधा डोको गिठ्ठा ल्याएका चन्द्रमानले भने, ‘अब त जंगलमा टाँकी, गिठ्ठा, सिस्नु पनि मासिँदै गइसक्यो। पहिला एक दिन वन गएपछि २–३ दिन जानुपर्दैन थियो। अहिले त दिनभर चहार्दा बेलुकाको छाक टर्दैन । यस्तै हो भने अर्को वर्ष भोकमरीले मरिन्छ,’ उनले भने। काम गर्न बेनीघाट गएमा दिनको दुई सय कमाउँछन्।

प्रजा विकास कार्यक्रमले पनि बु्रसबाङका चेपाङलाई केही नगरेको गाउँका अगुवा ७६ वर्षीय टेकबहादुर चेपाङ बताउँछन्। गाउँमा सरकारी कर्मचारी प्रजा विकास कार्यक्रमबाट एकपटक आएको र त्यसपछि कुनै कर्मचारी नआएको उनले बताए। ‘हामीलाई कि खानेपानी दिनुपर्छ, कि प्रतिपरिवार खेतीयोग्य जमिन दिनुपर्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.