|

जाजरकोट : कुशे गाउँपालिका ३ को सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरु हरेक दिन भुइँको धुलोमा बसेर पढिरहेका हुन्छन्। भवन जीर्ण भइसकेको र डेस्क बेन्चहरु पनि नभएका कारण उनीहरु धुलोमा नै बसेर पढ्न बाध्य छन्।

विद्यालयमा वर्षेनी विद्यार्थीको संख्या बढे पनि बसाइको व्यवस्था नै मिलाउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर रावत बताउँछन्। '८ सेटमात्र पुरानो बेञ्च थिए, त्यो पनि वैशाख ३१ को स्थानीय चुनावको मतदानमा प्रयोग हुदा भाँचिएर गए, विद्यालय फर्निचरविहीन भएको छ' उनले भने।

धेरै वर्षदेखि नयाँ फर्निचर किन्न नसकेको र पुरानो फर्निचर भाँचिदै गएकाले अभाव भएको हो। विद्यालयको जीर्ण भवनको छानो पनि चुहिने भएकाले कक्षाकोठामा धुलो र माटो जमेको छ। कक्षाकोठा भए पनि बस्न लायक नभएको प्रधानाध्यापक जनक बोहराले बताए।

कक्षाकोठामा विद्यार्थीहरुका लागि बस्ने बेन्चहरु नहुँदा कहिलेकाँही चौरमा र भुइको धुलोमा राखेर पढाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। बस्ने ठाउँ नभएकाले पानी परेका बेलामा विद्यार्थीहरु विद्यालय नै आउँदैनन्। 'विद्यालयका सबै कक्षाकोठामा विद्यार्थीहरु धुलोमा बस्ने गर्छन्, उनीहरुलाई व्यवस्थित रुपमा बसाइ मिलाउन सकिएको छैन', फर्निचर छैनन्, 'कसरी विद्यार्थीलाई अध्यापन गराउने समस्या छ' उनले भने।

विद्यालयका सबैजसो भवन जीर्ण छन्, पानी पर्दा चुहिएर हैरान बनाउने गरेको उनको भनाइ छ। हाल विद्यालयमा करिब ३ सय विद्यार्थी बेन्च नहुँदा कक्षा कोठाको धुलोमा बस्ने गरेको बोहराले जानकारी दिए। बसाइको समस्याबारे अभिभावकहरुलाई जानकारी गराए पनि कुनै पहल नभएको उनी बताउँछन्।

पानी परेका बेला विद्यार्थीहरु स्कुल जाने मन गर्दैनन्। मौसम प्रतिकुल भएको बेला विद्यालय नै आउन मन नलाग्ने कक्षा आठकी छात्रा कल्पना रोकाले बताइन्। विद्यालयमा बस्नलाई बेन्च नभएकोले घाम लागेका बेला धुलो उड्ने र शितल हुँदा खुला चौरमा पढ्ने उनले बताइन्।

'कक्षाकोठाको ढोका पल्ला छैनन्, विदाको दिनमा गाइ बाख्रा भित्र गएर दिसापिसाव गर्ने गर्छन्, अनि फोहरले गर्दा भित्र बस्न पनि नमिल्ने भएको हुन्छ, कसरी बस्नु विना वेन्चको कोठामा?' रोकाले प्रश्न गरिन्।

पानीको अभावमा शौचालय प्रयोग न्द

विद्यालयमा खानेपानीको आपूर्ति हुन नसक्दा विद्यार्थीहरु १ घण्टा टाढा गएर पानी पिउन बाध्य छन्। विद्यालय नजिकै धारा देखिए पनि त्यसमा पानी नआएको एक वर्ष भयो। पिउने पानी टाढा हुँदा पानी पिउन गएका अधिकांश विद्यार्थीहरु उतैबाट घर फर्किने पनि गरेका छन्। विद्यालयमा नियमित पानी आपूर्ति नहुँदा भएको शौचालय समेत प्रयोग बन्द भएको छ।

विद्यार्थीहरु दिसा पिसाबका लागि घर जान्छु भन्दै फेरि नफर्कने प्रधानाध्यापक जनक बोहरा बताउँछन्। 'विद्यालयदेखि  खानेपानी पिउन १ घण्टा टाढा छ, पानी पिउन गएका विद्यार्थीहरु उतै हराउँछन्, विद्यालयमा पौष्टिक आहार पकाउन्जेल हुन्छन्, खाई सकेपछि पानीको निहुँ बनाइ घर जान्छन्' उनले भने।

पानी नभएका कारण फोहर हुने भन्दै विद्यालयले शौचालय प्रयोग बन्द गरेको छ। 'पिउने पानी कहाँ हो शौचालयमा प्रयोग गर्ने पानी त सपना भएको छ' प्रधानाध्यापक बोहराले भने। विद्यालयमा पानी नभएकाले शौचालय जानुपरेमा घरमा जाने कक्षा ८ कि छात्रा उर्मिला शर्माले बताइन्। साना साना नानीहरु त दिसा गर्न गएको बेला घरमै बस्छन्, आउदैनन्' उनले भनिन्।

कतिपय विद्यार्थीहरुले भने विद्यालय हाता नजिकै पनि दिसा पिसाब गर्ने गरेका छन्। जाजरकोट जिल्ला खुला दिशामुक्त क्षेत्र भएको ३ वर्ष भए पनि कुशे गाउँपालिका ३ को यस स्कुलमा भने शौचालयको यस्तो अवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.