|

सुर्खेत : शैक्षिक सुधार सहितका विभिन्न माग राख्दै आन्दोलनरत मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका विद्यार्थीहरुले विश्वविद्यालयका उपकुलपतिको गाडीमा  तोडफोड गरेका छन्।

१ सातादेखि संयुक्त विद्यार्थी संगठनहले राखेका मागप्रति विश्वविद्यालय उदासीन देखिएको र आफूहरुका मागप्रति कुनै चासो नदिएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले शुक्रबार दिउसो २ बजेतिर विश्वविद्यालयका उपकुलपति डाक्टर उपेन्द्रकुमार कोइरालाको गाडीमा तोडफोड गरेका हुन्।

विश्वविद्यालयले शुक्रबार बिहान ११ बजेका लागि आन्दोलनरत विद्यार्थीहरुलाई वार्ताका लागि बोलाएको थियो। ११ बजेका लागि बोलाएको वार्ताका लागि आन्दोलनरत संगठनका प्रतिनिधिहरु उपकुलपति निवास पुग्दा पदाधिकारीहरुले विपल्वनिकट अखिल क्रान्तिकारीलाई मात्रै वार्ताको लागि बोलाएको भनेपछि वार्ताका लागि पुगेका विद्यार्थीहरुले आक्रामक भएर गाडी तोडफोड गरेका हुन्।

अखिल क्रान्तिकारी सुर्खेतका अध्यक्ष महेश जिसीले विश्वविद्यालयले वार्ताका नाममा विद्यार्थीहरुलाई अल्झाएर राख्ने काम गरेको बताएका छन्। उनले वार्ताका लागि सबै संगठनलाई बोलाएको भए पनि वार्ताका लागि बस्न खोज्दा अखिल क्रान्तिकारीलाई मात्रै बस्न भनेपछि आफूहरुलाई अपमान गरिएको भन्दै गाडी तोडफोड गरिएको बताए।

आन्दोलनरत विद्यार्थीहरुले आन्दोलनका कार्यक्रमअन्तर्गत शुक्रबार बिहान मध्यपश्चिम विश्वविद्यालयको प्रांगणमा भन्डाफोर अभियान सञ्चालन गर्दै विश्वविद्यालयका पदाधिकारीले आफूखुसी क्षेत्राधिकारभन्दा बाहिरका क्यामपसहरुलाई सम्बन्धन दिन खोजेको भन्दै दबाबमूलक अभियान थालेको बताएका छन्। आन्दोलनमा स्ववियु, नेवि संघ, अखिल क्रान्तिकारी लगायतका ७ संगठनहरु सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.