|

गोरखा : गोरखाको उत्तरी क्षेत्र लार्के हुँदै तिब्बत जोड्ने सडक निर्माणको कामलाई नेपाली सेनाले तिब्रता दिएको छ। तिब्बत सिमाना जोड्ने बेनिघाट–लार्के सडकको लापुवेशी खण्डको एक्ले भीरमा नेपाली सेनाले ट्रयाक खोल्ने काम गरिरहेको छ।

उक्त क्षेत्रमा सबैभन्दा अप्ठेरो मानिएको सो भीरमा धेरै ठाउँमा बम बिस्फोट गरी ट्रयाक खोलिएको सडक निर्माणमा खटिएका  सेनाका मेजर निशान्त क्षेत्रीले बताए। सेनाले अहिले ट्रयाक खोलेको क्षेत्रमा सडक सात मिटर फराकिलो बनेको छ। सो सडकको गत बैशाख ११ गते प्रधान सेनापति राजेन्द्र क्षेत्रीले शिलान्यास गरेका थिए।

‘सात मिटर फराकिलो सडक बनेको छ’ उनले भने ‘बाटो अहिले सम्म पाँचसय मिटर भन्दा धेरै खनिसकियो। बाटो क्लियर हुँदा आठ मिटर चौडा भएको सडक बन्छ। डबल लेन सडक बन्नेछ।’ नेपाली सेनाले अहिलेसम्म आठसय मिटर भन्दा धेरै लामो दुरीमा सडक खनिसकेको छ।

लापुरभीरमा काम सकिन लागेकोले असार महिनाभित्र लापुवेशीसम्म ट्रयाक खन्ने काम सिध्याउने योजनामा सेना रहेको क्षेत्री बताउँछन्। ‘तर बर्खाको पहिरो कत्तिको चल्छ, त्यसमा पनि निर्भर गर्छ। हाम्रो योजना असारभरीमा लापुबेँशी सम्म ट्रयाक खन्ने हो’ क्षेत्रीले भने। सो खण्डमा केही महिनाअघि गएको ठूलो सुख्खा पहिरो छ। लापुभीरमा नेपाली सेनाको १२० जना निर्माण दलको टोली नियमित खटिएको छ।

सो सडक निर्माणका लागि दिनहुँजसो बम बिस्फोट गर्नुपरेको थियो। धेरै बिस्फोट गर्नुपर्ने देखेर नेपाल सरकारले नेपाली सेनालाई नै सो सडक निर्माणको जिम्मा दिएको हो। सो सडक खण्ड हुँदै हिमालपारी गाविस भएका गोरखाका चुमन्ब्री गाउँपालिका र धार्चेगाउँपालिकाको गाउँहरुमा जानआउन सहज हुनेछ। अहिले उत्तरी क्षेत्रमा यातायातको साधनको रुपमा खच्चड र चौँरी मात्र छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.