किन कालो धान उत्पादनमा लागे विष्ट?

|

काठमाडौं: मुलुकको ठूलो पार्टीको चल्तापूर्जा नेता, मन्त्री, संविधानसभाको सदस्य। केही वर्षअघि माओवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगरको परिचय यस्तै थियो। तर, उनी अहिले पूर्व मन्त्री तथा संविधान सभाका पूर्व सदस्य र माओवादी केन्द्रको नेताको रुपमा परिचित छन्।

'राजनीतिमा सक्रिय भएको पनि चार दशक बितेछ' विहीबार थाहाखबरसंगको भेटमा विष्टले आफ्नो विगतको स्मरण गरे। चार दशक राजनीतिमा लागेका विष्ट दुई पटक सांसद र दुई पटक मन्त्री (झलनाथ खनाल प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्री र बाबुराम भट्टराई प्रधानमन्त्री हुदाँ पर्यटन तथा नागरिक उड्ययन मन्त्री) बने। 

तर उनले अहिले राजनीतिसंगै कृषि पेशालाई पनि अघि बढाएका छन्। व्यवसायिक कृषिमा सक्रिय हुने उनको सोच छ। 'चार दशक राजनीतिमा बिताइसकेछु अहिले पनि सक्रिय नै छु तर मैले मन्त्री होउँला, सांसद होउँला, लाभको पद पाउँला भनेर राजनीति गरेको हैन, समाज परिवर्तन गर्नको लागि गरेको हो केही पूरा भए, केही हुन बाँकी छ' विष्टले भने 'कांग्रेस संस्थापक नेता विपी कोइराला पनि यही भन्नुहुन्थ्यो राजनीति समाजसेवा हो र बाँच्ने आधारको लागि हामी अर्कै पेशामा हनुपर्छ राजनीतिलाई पेशाको रुपमा अघि बढाइनुहुँदैन भन्ने मेरो पनि सोच हो।'

उनी तीन वर्ष भयो कृषि पेशामा सक्रिय भएको। विशेषत: उनी कालो धानको व्यवसायिक खेती गर्ने सोचका साथ कृषि पेशामा खटिएका छन्। कृषि गर्न आफू सफल भएको उनको अनुभव छ। 'अन्य कामदारहरुले जस्तै  मैले काम गर्न सक्छु कसरी गर्ने भन्ने विषय पनि मलाई थाहा छ कृषि गर्न सफल रहेछु भन्ने लाग्छ' विष्टले भने। उनी सबैभन्दा सन्तुष्ट त कृषिबाट आफू र आफ्नो परिवार पाल्न सफल भएकोमा छन्। 

दुई सिजन कालो धानको खेती गरेका विष्टले लगानी उठाएर १० लाख रुपैयाँ नाफा गरेको बताउछन्।

उनको परिवारमा उनी सहित एक छोरी र श्रीमती रहेका छन्।  'सामान्य आवश्‍यकता पूरा गरी इमान्दार राजनीति गर्नको लागि हामी राजनीति बाहेक अन्य पेशा लाग्नुपर्ने हुन्छ, मैले कृषिबाट आफ्नो जीविका चलाएको छु, यसमा खुसी छु' विष्टले भने।

दुई सिजन कालो धानको खेती गरेका विष्ट लगानी उठाएर १० लाख रुपैयाँ नाफा गरेको बताउँछन्। पहिलो वर्ष एकै पटक ४३ रोपनी जग्गामा धान लगाएँ, ७ लाख रुपैयाँ लगानी गरेकोमा १३ लाख उठाएँ, दोस्रो वर्ष ३ लाख लगानी गरेर ७ लाख रुपैयाँ उठाएँ' विष्टले भने। उनले यो वर्ष ६० रोपनी जग्गामा लगाउने योजना बनाएका छन्। त्यसमा साझेदारी गर्न साथीहरु खोज्दैछन्। 

किन कालो धान उत्पादनमा लागे विष्ट?
हाम्रो पार्टीले धेरै नेता थोरै कार्यकर्ता जन्माएको छ। हाम्रो समय राजनीतिक भाषणवाजीमा बिताएर मात्रै हुदैन केही पेशा अगाल्नुपर्छ भन्ने कुरा मलाई लागिरहेको थियो। राजनीति गर्ने मान्छेहरुले उदाहरणीय काम गर्नुपर्छ, समाजले पनि आफ्नो कामबाट केही सिकोस् भन्ने लाग्छ। मैले जुनसुकै पेशा, व्यवसाय गरेको भए पनि हुने थियो। तर मलाई कालो धान उत्पादन गर्न रहर लाग्यो। यसको विषयमा मैले ६/७ वर्ष पहिले सुनेको थिएँ। कुरा के रहेछ भने १३ हजार वर्ष पहिले चीनबाट यसको पहिलो उत्पादन भएको रहेछ। बढी पोषण पाइने, ८ भन्दा बढी रोगसंग लड्ने क्षमता भएको। यस्तो चामल राजा महाराजाले प्रयोग गर्ने, अरुले गर्नु हुदैन भन्ने सोच त्यहाँका राजा महाराजा रहेछ।
केही वर्ष प्रतिबन्ध भएपछि पछि लुकिछिपी किसानले यो धान रोपे र संसारका अन्य देशमा पनि फैलियो। ८/९ वर्ष पहिले एउटा नेपाली युवा (गिरीराज त्रिपाठी) कोरियामा पढ्न जानुभयो। आफ्नो पीएचडी सकेर नेपाल फर्कने बेलामा धानको विशेषता बुझेर उहाँले आउँदा केही नेपालमा लिएर आउने सोच बनाउनुभयो र प्याक गरेर राख्नुभएको रहेछ। तर उहाँलाई डर देखाइयो नेपालको क्वारेन्टाइनले समाउँछ र थुन्छ। उहाँले जुक्ति लगाएर आफ्ना सबै किताबका बीचमा एक दुई दाना गर्दै हाल्नुभएछ।
नेपाल आएर सबै किताब टकटक्याउँदा १४ वटा गेडा आएछन्। उहाँले नै यसलाई 'जी ६०'  ब्ल्याक राइस नाम दिनुभयो। यो विषयमा मैले जानकारी पाएको थिएँ। मैले यही काम गर्नुपर्छ, मैले काम गरेपछि अरुले पनि सिक्छन्। संसारमा नै सबैभन्दा महंगोमध्येको चामल भएको कारण पनि हामीले यसको खेती गर्नुपर्छ भन्ने लागेर म कालोधान खेती तर्फ लागेको हुँ। पहिलो वर्ष काभ्रेको भुकुण्डे बेसीमा ४३ रोपनी जग्गा लिएर यो खेती गरेँ। दोस्रो वर्ष काठमाडौंको साँखुमा १४ रोपनी जग्गा लिएर काम गरेँ। अब फेरि ठाउँ परिवर्तन गरेर ६० रोपनी  जग्गामा कालो धान उत्पादन गर्ने सोचमा छु।

के हो विशेषता?

सामान्यतय हामीले चामल भन्ने वित्तिकै सेतो चम्किलो अन्न दाना भन्ने सम्झन्छौं। अझ सहरमा त पालिस गरिएको चामलको प्रयोग बढी छ। तर यो धान देख्दा अरु धान जस्तै भएता पनि चामल भने विल्कुलै फरक छ।

अन्य चामलको तुलनामा २० देखि ५० गुणा बढी पोषकतत्व पाइन्छ। यसको दैनिक सेवनले रक्तअल्पता, क्यान्सर, मधुमेह, हृदयघात, उच्च रक्तचाप,  मुटुरोग, जस्ता रोगहरुबाट बच्न मद्दत पुर्‍याउँछ।

यसको चामल गाढा कालो हुने गर्छ। यो कालो धानको थुप्रै विशेषता भएको विष्ट बताउँछन्। यसको दैनिक सेवनले रक्तअल्पता, क्यान्सर, मधुमेह, हृदयघात, उच्च रक्तचाप, मुटुरोग, जस्ता रोगहरुबाट बच्न मद्दत पुर्‍याउँछ।

किसानको लागि महत्वपूर्ण कुरा असिना पानी जे पर्ने गरेता पनि यो धान झर्दैन। 'बरु पराल नै चुडिएला तर धानको गेडा झर्दैन' विष्टले थाहाखबरसंग भने। मेसिनको सहायतामा यो धान झार्नुपर्ने हुन्छ। थोरै भुस मात्र यो धानबाट जाने गर्छ। विष्टका अनुसार क्वीन्टलमा हिसाब गर्दा २० प्रतिशत मात्रै भुस जाने गर्छ।

कसरी खाने?

यो धानको चामलमा बढी प्रोटिन हुन्छ। यो चामल मात्रै पकाएर खाने भन्दा पनि अन्य धानमा मिसाएर खाँदा राम्रो हुने विष्ट बताउँछन्। 'यो चामल मात्रै पचाउन गाह्रो पर्छ, १० भाग चामलमध्ये एक भाग यो चामल मिसाउँदा राम्रो हुन्छ' विष्टले भने।

यो चामलप्रति व्यक्ति एक छाकमा १५ ग्रामभन्दा बढी खाँदा अपच हुन्छ। अन्य चामलमा यो मिसाउँदा यसलाई ८ घण्टा भिजाउनुपर्छ। यसको चौलानीमा समेत धेरै पौष्टिक हुने विष्ट बताउँछन्। 'चौलानी कि सर्वतको रुपमा खाने कि त त्यही भातमा हाल्ने गर्नुपर्छ' विष्टले भने।

कति हो मूल्य?

कालो धानको व्यवसायिक खेती गर्न थालेपछि विष्टले धानको मूल्य पनि निर्धारण गरेका छन्। धानको होलसेल मूल्य तथा खुद्रा मुल्य र बिउको होलसेल मूल्य तथा खुद्रा मुल्य। उनले धानको होलसेल मूल्य प्रतिकिलो चार सय रुपैयाँ र फुटकर मूल्य ५ सय रुपैयाँ राखेका छन्। बिउको होससेल मूल्य प्रतिकिलो ६ सय रुपैयाँ र खुद्रा मूल्य ७ सय रुपैयाँ राखेका छन्। 

विदेशी बजारमा भयो यो चामलको मूल्य ८ डलरदेखि २७ डलरसम्म पर्ने विष्ट बताउँछन्। उनले पहिलो वर्ष ३२ किलो बिउ किन्ने क्रममा ३२ हजार तिरेर किनेको बताए। मैले प्रतिकेजी हजारमा किनेको हुँ अहिले किलोको ६ सय रुपैयाँमा बिक्री गरिरहेको छु' विष्टले भने।

विदेशी मुद्रा आर्जन गर्ने मुख्य वाली

विष्टको अबको सोच यो खेतीको विस्तार गर्दै कालो धान विदेशी मुद्रा आर्जन गर्ने मुख्य कृषि वालीको रुपमा विकास गर्ने रहेको छ। '२२ सय मिटर उचाइसम्म यो धान फल्छ, धुले व्याडमा विउ लगाउन सकिन्छ। 'यो हाम्रो देशैभर उत्पादन हुन सक्छ अबको मेरो सोच पनि देशै भर फैलाउने रहेको छ' विष्टले भने।

उनले सरकारलाई यो धानमा लगानी गरी देशभर विस्तार गर्नको लागि समेत आग्रह गरेका छन्। 'यो धान विदेशी मुद्रा आर्जन गर्ने मुख्य कृषि वाली हुन सक्छ, त्यसैले सरकार आफैले वोन गर्नुपर्छ' विष्टले भने 'हामीले धेरै प्रयोग गर्न सक्दैनौं विदेशी बजारमा पठाउने नै हाम्रो सोच हुनुपर्छ जसले हाम्रो आर्थिक स्थिति उकास्छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.