|

काठमाडौं : सरकारले दुई नम्बर प्रदेशको निर्वाचन असोज २ गते गर्ने भएपछि असार १४ गते देशका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुने भएको छ। दुई नम्बर प्रदेशका १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा निर्वाचन गर्ने सरकारको निर्णयसँगै प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा प्रतिनिधि छनौटको लागि निर्वाचन हुने भएको हो ।

प्रदेश नम्बर  १ मा रहेका १४ जिल्लामा १ सय १३७ स्थानीय तह छन्। यस्तै प्रदेश नम्बर ५ का १२ जिल्लामा १ सय ९ र प्रदेश नम्बर ७ का ९ जिल्लामा ८८ स्थानीय तह रहेका छन्। ३ सय ३४ स्थानीय तहमा ६४ लाख ३२ हजार  ७ सय ६५ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रदेश नम्बर १ मा सबैभन्दा धेरै २६ लाख ७४ हजार ५ सय ६३ मतदाता छन् भने प्रदेश नम्बर ५ मा २४ लाख ५४ हजार ४ सय ८८ मतदाता छन्। यस्तै प्रदेश नम्बर ७ मा १३ लाख ३७ हजार १४ मतदाता रहेको निर्वाचन आयोगको अभिलेख छ।

३ सय ३४ स्थानीय तहमा हुन गइरहेको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन्। एउटा स्थानीय तहमा एक जना अध्यक्ष वा प्रमुख, एक जना उपाध्यक्ष वा उपप्रमुख चयन हुनेछन्। त्यस्तै प्रत्येक वडामा एक जना वडा अध्यक्ष, दुई जना खुला सदस्य, एक जना महिला सदस्य र एक जना दलित महिला सदस्य निर्वाचित हुनेछन्। जस अनुसार प्रमुख/ अध्यक्ष ३ सय ४४, उपप्रमुख/उपाध्यक्ष ३ सय ४४ जना गरी ६ सय ८८ जना निर्वाचित हुनेछन्। 

दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयनका लागि निर्वाचन आयोगले ८ हजार ३ सय ९४ मतदान केन्द्र र ४५ सय ८१ मतदानस्थल तोकेको छ। प्रदेश नम्बर १ मा १८ सय ६१ मतदानस्थल तोकिएको छ भने ३४ सय ५९ मतदान केन्द्र निर्धारण गरिएको छ।

यस्तै प्रदेश नम्बर ३ मा १६ सय १२ मतदानस्थल निर्धारण गरिएको छ भने ३१ सय २५ मतदानकेन्द्र तोकिएको छ। यस्तै प्रदेश नम्बर ७ मा ११ सय ८ मतदानस्थल छन् भने १७ सय ८० मतदानकेन्द्र तोकिएका छन्।

६७ हजार कर्मचारी खटिने, प्रदेश २ का कर्मचारी फिर्ता बोलाउने

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा ६७ हजार कर्मचारी परिचालन गरेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत मातहतमा ६७ हजार कर्मचारी परिचालन भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए। आयोगले प्रत्येक स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा ११ र निर्वाचन अधिकृतको नेतृत्वमा ९ जनाका दरले कर्मचारी खटाएको छ।

त्यसबाहेक अन्य काम सम्पादनका लागि समेत कर्मचारी खटिएका छन्। 'आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि ६७ हजार निजामती कर्मचारी परिचालन गरेको छ,' प्रवक्ता शर्माले भने। यता दुई नम्बर प्रदेशमा असोज २ गते निर्वाचन गर्ने सरकारी निर्णयसँगै आयोगले खटिएका कर्मचारी फिर्ता बोलाउने भएको छ। दुई नम्बर प्रदेशमा खटिएका ११ सय ५९ कर्मचारी फिर्ता बोलाउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए। 'काम नभएपछि त फिर्ता बोलाउनैपर्‍यो,'शर्माले भने ।

दुई नम्बर प्रदेशमा पठाइएका निर्वाचन सामग्री व्यवस्थापनमा भने आयोगलाई चुनौती भएको छ। निर्वाचन सामग्री व्यवस्थापनका लागि सुरक्षा चुनौती थपिएको प्रवक्ता शर्माको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.