दमकः झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्र गौरीगञ्जका गाईबस्तुमा खोरेत रोगको संक्रमण फैलिएको छ।
गौरीगञ्जसँगैको सीमावर्ती शिवसताक्षी नगरपालिकाको दक्षिणी क्षेत्रमा समेत खोरेत रोग फैलिएको छ। रोगका कारण स्थानीयका गाईवस्तु मर्न थालेका छन् भने कतिपय बिरामी भएका कारण घाँससमेत खान छाडेका छन्।
यसअघि झापाको कचनकवल गाउँपालिकामा समेत गाईबस्तुमा यो रोग फेला परेको थियो। खोरेतका कारण कचनकवलमा तीनवटा पशु मरिसकेका जिल्ला पशु सेवा कार्यालय झापाले जनाएको छ। सोही रोग कारण शिवसताक्षी र गौरीगञ्जमा चारवटा पशु मरिसकेका छन्।
पशु सेवा कार्यालयप्रति स्थानीयको आक्रोश
आफूहरूले पालेका गाईबस्तु धमाधम बिरामी हुँदासमेत जिल्ला पशु सेवा कार्यालयले ध्यान नदिएको भन्दै कृषकहरू आक्रोशित बनेका छन्। शिवसताक्षी– ४ का सुदामा राजंवशीले आफ्नो घरका सबै गाईबस्तु बिरामी हुँदासमेत पशु सेवा कार्यालयका कर्मचारीले नहेरेको गुनासो गरे।
उनले भने, ‘दुई महिना १२ दिनको बाच्छो पनि म¥यो, अब गाईले दूध दिन्छ कि दिँदैन भन्ने चिन्तामा छु।’ पशु सेवा कार्यालयलाई जानकारी गराएको तर आएर नहेरेको उनले बताए।
खोरेतले भेटेदेखि बस्तुमा र्याल काड्ने, खुट्टामा, जिब्रोमा घाउ निस्कनेलगायत समस्या आएको उनले बताए। उनले भने, ‘गाईबस्तु बिरामी भएदेखि घाँस नै खाँदैनन्, दैनिक नुहाइदिने गरेका छौँ, खोरेतले नभेटेका गाईबस्तुलाई अर्कै ठाउँमा लगेर राखेका छौँ।’
पशु सेवा कार्यालयको बेवास्ताका कारण आफ्ना बस्तु मर्ने हुन् कि भन्ने चिन्ता भएको गौरीगञ्ज– १ का कृषक कृष्णप्रसाद राजवंशी बताउँछन्। ‘हाम्रो गोठमा भएका सबै गाईबस्तुलाई बिरामले भेटिसक्यो’, उनी भन्छन्, ‘के औषधि उपचार गर्ने हो हामीलाई थाहा छैन, पशु सेवा कार्यालयका प्रविधिकहरू आएर सल्लाह मात्र दिए पनि हामी आफ्नै खर्च गरेर उपचार गर्ने थियौँ।’
के भन्छ पशु सेवा कार्यालय?
यता जिल्ला कृषि विकास कार्यालय झापाले भने खोरेत नियन्त्रणमा निरन्तर लागिरहेको बताएको छ। जिल्ला पशु सेवा कार्यालय झापाका पशु चिकित्सक कुमारसिंह खत्रीले आफूहरू निरन्तर लागिरहेको बताए। उनले भने, ‘हामी निरन्तर यो रोगको नियन्त्रण गर्नतर्फ लागेका छौँ। कचनकवलमा एक सय बिरामी पशुलाई निको बनायौँ’, उनी भन्छन्, ‘अब यता बनाउनुपर्नेछ।’
उनले झापाको दक्षिणी क्षेत्र आदिवासी समुदाय बसोवास भएको क्षेत्र भएकाले चेतनामूलक कार्यक्रमहरूको आयोजना गरिरहेको बताए । उनले सो क्षेत्रमा तीन सय बढी पशुलाई खोरेत लागेको र १५ सय बढी जोखिममा रहेको जानकारी दिए।
प्रभावित क्षेत्रमा एफएमडी नामक भ्याक्सिन लगाइएको उनले बताए। उनले भने, ‘यस क्षेत्रका लागि हामीले चार हजार एफएमडी भ्याक्सिन दिएका छौँ, यो भ्याक्सिन हान्नेबितिकै काम गर्छ भन्ने होइन, भ्याक्सिनले काम गर्न १४ दिन लाग्छ, त्यस कारण पनि रोग नियन्त्रण गर्न समस्या भएको छ।’
जिल्लामा अहिले तीन लाख बढी पशुपालन हुने गरेको उनले बताए। यस्तो रोग खुला चरन र पशु बजारमा लाग्ने खत्रीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।