|

जाजरकोट : लामो खडेरीका कारण खोलामा पानी सुक्दै गएपछि सदरमुकाम खलंगामा विद्युत् आपूर्ति बन्द भएको छ। साङटारिसाङ लघुजलविद्युत् उपभोक्ता समितिले खोलामा पानी सुक्दै गएकोले विद्युत् आपूर्ति बन्द गरेको जनाएको छ। 

केन्द्रीय प्रसारण लाइन नजोडिएको जाजरकोट सदरमुकाममा साङटारिसाङ खोलाबाट उत्पादन हुने ९८ किलोवाट विद्युत् सेवा पनि खेडेरीका कारण बन्द भएपछि अँध्यारोमा बस्न बाध्य भएको भेरी नगरपालिका–४ खलंगाका गनेश शाहीले बताए। ‘३  सातादेखि मोबाइल चार्ज गर्न पाएको छैन’, उनले भने, ‘छिमेकीको घरमा भएको सोलारको भर पर्नु परेको छ।’ केन्द्रीय लाइन सदरमुकाममा नजोडिँदा सदरमुकामबासी अँध्यारोमा बस्नु परेको उनको भनाइ छ। 

विद्युुत आपूर्ति बन्द हुँदा सरकारी तथा गैरसरकारी कार्यालयलाई दैनिक कामकाज गर्न समस्या परेको छ। विद्युुत आपूर्ति बन्द भएसँगै इमेल इन्टरनेट र फ्याक्स सेवा समेत अवरुद्ध भएको छ। बिजुली नहुँदा जाजरकोटका सञ्चारकर्मीलाई पनि समाचार सम्पेष्रण गर्न समस्या परेको पत्रकार नरेश रानाले बताए।

‘बत्ती नहुँदा नियमित अनलाइन ‘अपडेट’ गर्न, समचार सम्प्रेषण गर्न निकै समस्या भएको छ, समचार सम्प्रेषण गर्न तथा अनलाइन अपडेट गर्न सरकारी कार्यालयमा दैनिक धाउनु परेको छ’, रानाले भने। बत्ती नहुँदा एफएम रेडियोको नियमित प्रसारण तथा पत्रपत्रिका प्रकाशन गर्न कठिनाइ भएको उनले बताए। 

खडेरीले गर्दा खोलामा पानी सुक्दै गएको र भएको पानी पनि किसानले खेतमा प्रयोग गरेका कारण विद्युत् सेवा अवरुद्ध भएको साङटारिसाङ लघु जलविद्युत् आयोजनाको प्रमुख भोजेन्द्र मल्लले बताए। बर्खामा पानीका मूल फुटेपछि मात्र विद्युत् आपूर्ति हुने उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.