|
सुरेन्द्रबहादुर नेपाली, रासस

जेनेभा : राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघजस्ता संस्थाले नेपाललगायतमुलुकमा भूकम्प आदि प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न प्रयास गर्नुपर्ने बताएकी छिन्। 

शुक्रबार अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको (आईयुसीएन) मुख्यालयको भ्रमण गर्दै राष्ट्रपतिले संघका विशेषज्ञसँगको छलफलका क्रममा पृथ्वीलाई बिगारेर नभई सिंगारेर नेपाली अघि बढ्न सक्ने बताइन्। 

राष्ट्रपति भण्डारीलाई संघका महानिर्देशक इङ्गर एन्डरसनले स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीले नेपालमा हाल बाघको सङ्ख्या बढेको, संरक्षण क्षेत्र विस्तार गर्ने सरकारको नीति तथा योजना भएको, पहिरो र बाढी व्यवस्थापनका लागि नदी प्रणालीमा सुधारका योजना अगाडि बढाइएको बताइन्।  यस्तै  चुरे संरक्षण क्षेत्र राष्ट्रिय गौरवको कार्यक्रममा परेको तथा सामुदायिक वन विस्तार भइरहेको भन्दै उनले नेपालको प्रकृति विश्वको पनि सम्पदा भएकाले यसका संरक्षणमा सबैको सहयोग आवश्यक रहेको धारणा राखिन्। 

छलफलका क्रममा विशेषज्ञहरूले नेपालमा बाघ, प्राकृतिक सम्पदा र भिरालो जमिनको संरक्षण, राष्ट्रिय निकुञ्जको विस्तार, वातावरण संरक्षणमा अन्तर्राष्ट्रिय र क्षेत्रीय सम्बन्धको विकास, संरक्षण र प्राकृतिक संरचनाको विकासमा आईयुसीएनको क्रियाकलाप तथा परियोजनाका बारेमा जानकारी दिएका थिए। 

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको वातावरण संरक्षणका विषयमा छोटो श्रव्यदृष्य अन्तर्वार्ता दिइन्। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीलाई संघका महानिर्देशक  एन्डरसनले वातावरण संरक्षणसम्बन्धी उपहार प्रदान गरे। 

उक्त अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नेपाली प्रतिनिधि दीपक धिताल, राष्ट्रपतिका स्वकीय सचिव डा. विमला पौडेल राई, परराष्ट्र मन्त्रालयका प्रवक्ता र संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखाका सहसचिव भरतराज पौडेल उपस्थित थिए।  

आईयुसीएन संयुक्त राष्ट्र सङ्घको परामर्शदात्री संस्था हो। यसले प्रकृति संरक्षण र प्राकृतिक स्रोतको दिगो उपयोगको विषयमा काम गरिहेको छ। संस्थाका करिब एक हजार २०० सरकारी तथा गैरसरकारी संस्था सदस्य छन्।

सो संस्थाको काममा करिब ११ हजार वैज्ञानिक तथा विशेषज्ञ स्वयंसेवीका रूपमा काम गर्छन्। हाल यो संस्थामा ६० भन्दा बढी मुलुकका करिब एक हजार कर्मचारी काम गर्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.