|

 लहान : स्थानीय तह दोस्रो चरणमा गर्ने भनिएको असार १४ को निर्वाचन पनि २ नं. प्रदेशमा तेस्रो चरणमा गर्ने गरी सरेपछि निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई के गर्ने भन्ने अन्योल बढेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विश्वमणि पोखरेलले दोस्रो पटकका लागि २० दिन थप गरी असार १० गतेसम्म नियुक्ति म्याद थप गरिएका म्यादी प्रहरीको विषयमा माथिल्लो निकायले के निर्देशन दिन्छ, त्यही अनुसार गर्ने जानकारी दिए।

पहिलो चरणको निर्वाचन सर्नु अगावै चैत २५ गतेदेखि ५५ दिनका लागि नियुक्ति दिइएका सिरहाका १ हजार ९ सय ३२ म्यादी प्रहरीको म्याद जेठ ३० गते सकिएको थियो। चुनाव सरेसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार २० दिन पुनः थप गरिएको म्याद पनि असार १० गते सकिने भएकाले त्यसपछि माथिल्लो निकायबाट नयाँ निर्देशन नआए उनीहरुले पाउने सेवा सुविधासहित बिदाई गरिने प्रवक्ता पोखरेलले बताए।

कति छन् सिरहामा म्यादी ?

जिल्ला प्रहरी कार्यालय सिरहामा निर्वाचन सेल र म्यादी प्रहरी हेरिरहेका प्रहरी निरीक्षक देवकुमार श्रेष्ठका अनुसार म्यादीमा भर्ना हुन आवेदन दिएका २ सय ८ महिलासहित ३ हजार ७ सय ६८ जनामध्ये १ हजार ९ सय ३२ जना छनोट भएका थिए। छनोटमा १ सय ५६ जना महिला परेका थिए।

त्यसपछि कार्यक्षेत्रमा खटाउने क्रममा २९ जना भागेपछि बाँकी रहेका १ हजार ९ सय ३ जना म्यादी प्रहरीमध्ये १ हजार १ सय जना पुरुष म्यादीलाई केन्द्रीय नीतिअनुरुप छिमेकी जिल्ला सप्तरीमा पठाइएको र त्यति नै संख्यामा पुरुष म्यादीलाई सिरहाका विभिन्न प्रहरी युनिटमा खटाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

म्यादीमा भर्ना भएका एक ५६ महिलालाई भने मातहतका प्रहरी युनिटले खटाएको क्षेत्रमा कार्यरत रहेको प्रहरी प्रवक्ता पोखरेलले बताए। जिल्लामा भर्ना भएका म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहा, लहान, धनगढी, गोलबजार, मिर्चैया, बन्दीपुर, कल्याणपुर, महेशपुर पतार र बरियारपट्टिमा खटाइएको छ।

सरसफा र ट्राफिक जाँचमा म्यादी

दुई-दुई पटक निर्वाचनको मिति सरेपछि सिरहका विशेष गरी पूर्व-पश्चिम सडकसँग जोडिएका प्रहरी युनिटमा खटाइएका म्यादी प्रहरीहरु स्थानीय सार्वजनिक ठाउँको सरसफाइ र  ट्राफिक जाँचमा खटाइएका थिए।

म्यादी प्रहरीमा भर्ना भएपछि चैत २५ देखि वैशाख ५ गतेसम्म गरी १२ दिनको आधारभूत तालिम लिएका सिरहाका १ सय ५६ महिलासहित १ हजार ९ सय २४ जना म्यादी प्रहरीलाई स्थानीय आवश्यकताअनुसार स्थानीय मठ मन्दिर, बजार, सार्वजनिक ठाउँहरुको सरसफाइ र ट्राफिक जाँचमा खटाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.