दमक : २०६२ साल ताका बिमला शेर्पा समाज परिवर्तन गर्ने भन्दै तत्कालीन माओवादीको जनयुद्धमा होमिइन्। सर्वहारा वर्गको उत्थानका लागि कलिलै उमेरमा उनी बन्दुक बोकेर जनयुद्धमा हिँडिन्। त्यतिबेला उनी कक्षा ७ मा पढ्दै थिइन्। उनी हुन् झापा दमक-१ की पूर्वजनमुक्ति सेना बिमला शेर्पा।
उनी १२ वर्षको उमेरमा नै ताप्लेजुङ्गको साँवाबाट माओवादीको जनयुद्धमा समाज परिवर्ततन गर्न भन्दै हिँडेकी हुन्। उनी भन्छिन्, ‘माओवादीले कार्यक्रममा सहभागी गराउन भनेर स्कुलबाटै लगे, ग्रिनेड बम पड्किएर गाउँका दाइको मृत्यु भयो, दाइको मृत्यु भएपछि गाउँ जाने अवस्था नै भएन, त्यहीँबाट माओवादीमा लागियो ।’
जनयुद्ध लडियो, देशमा परिवर्तन, आयो तर हाम्रा लागि आएन
त्यतिबेला माओवादीले एक घरबाट एकजना पार्टीमा लाने ह्विप नै जारी गरेको उनी सम्झन्छिन्। ‘सक्छौ भने धनदेऊ, होइन भने जनदेऊ भन्दै माओवादीहरु घरघर आउन थालेपछि हामीसँग पैसा थिएन, हाम्रो आर्थिक अवस्था पनि एकदमै कमजोर थियो त्यहि पनि परिवारको जेठी छोरी मै थिएँ, बाध्य भएर जनयुद्धमा लाग्नुपर्यो’, शेर्पा भन्छिन्,‘पछि पार्टीको कुरा धेरै राम्रो लाग्यो र जनयुद्ध पनि लडियो, देशमा परिवर्तन पनि आयो तर हाम्रा लागि आएन।’
प्यारालाइसिसले दुवै खुट्टा चल्दैन उपचारमा समस्या
उनी सबैको अधिकारका लागि बन्दुक बोकेर त हिँडिन् तर, अहिले आफू बिरामी हुँदा उपचार खर्च जुटाउन नसकेर कोठामा नै कुँजिएर बस्न बाध्य भएकी छन्। अहिले उनको शरिर प्यारालाइसिस भएर दुवै खुट्टा नचल्ने भएको छ। उनी भन्छिन्,‘वर्गीय विभेद अन्त्य गर्न भन्दै युद्धमा होमिएँ, तर अहिले आफैं आर्थिक अभावले ह्विलचियर र लाठीको सहायतामा हिँड्नु परेको छ।’
पार्टीले आफ्नो उपचारमा खासै चासो नदेखाएकोमा बिमला दुखेसो पोक्छिन्। उनी भन्छिन्, ‘२८ वर्षको यो उमेरमा नै शरिर प्यारालाइसिस भएको छ, कुँजिएर केही काम गर्न सकेको छैन, पार्टीले उपचारमा केही सहयोग गरेको छैन, उपचारमा पार्टीले सहयोग गरे त निको हुने थिएँ होला।’ उनी अहिले ट्राइसाइकल र करचेष्टको सहयोगमा मात्र हिँडडुल गर्न सक्छिन्।
लैङ्गिक विभेदमा बिमला
उनी शारिरिक रुपमा मात्र पीडित छैनन्। जनयुद्धमा महिलाको र पुरुषको समान अधिकार स्थापित गर्न होमिएकी शेर्पाले श्रीमानद्वारा समेत यातना भागेकी छन्। २०६३ सालको बृहत शान्ति सम्झौतापछि विभिन्न क्याम्पमा आफ्नो जीवन बिताउन क्रममा २०६९ सालमा इलाम र झापाको सिमानामा रहेको चुलाचुली क्याम्पमा रहँदा सोही क्याम्पमा रहेका धनकुटाको परेवादिनका सीताराम गुरुङ्गसँग प्रेम विवाह गरिन्।
उनको तत्कालीन समयमा गणतान्त्रिक विवाह नै भयो। बृहत शान्ति सम्झैतापछि पनि लडाकुलाई समाजमा पुनर्स्थापना हुन धेरै गाह्रो थियो। शेर्पा भन्छिन्,‘त्यतिबेला हामीलाई धेरै गाह्रो भयो, भर्खर माओवादीको युद्ध लडेर आएका थियौं, समाजले स्वीकार्न सक्दैनथ्यो, त्यसैले हामी गाउँ जान सकेनौं।’
लडाकुको पैसाले जग्गा किनें
बहिरगमन रोजेका लडाकुले तत्कालीन समयमा पाएको पैसाले दमकमा जग्गा किनेर त्यहीँ बस्न सुरु गरेको शेर्पा बताउँछिन्। उनले भनिन्,‘हामीले पाएको पैसाले दमक-१ मा १२ धुर जमिन किन्यौँ, घर बनायौँ र त्यही बस्न थाल्यौँ।’ वैवहिक जीवनपछि पनि उनले आफ्नो अध्ययनलाई निरन्तरता दिइन्। उनले आफू बिरामी हुनुभन्दा अघिसम्म एसएलसी पास गरिन्। अहिले उनले ह्वील चियरको सहायताले नजिकैको हिमालय माविबाट कक्षा १२ को परिक्षा समेत दिइसकेकी छन्।
श्रीमानसँग सम्बन्धविच्छेद
पछिल्लो समय उनले श्रीमानसँग सम्बन्धबिच्छेद गरिसकेकी छन्। शेर्पाको सधै श्रीमानसँको झगडाका र आफूलाई श्रीमानले सधैं कुट्ने गरेका कारण पनि आफू बिरामी भएको उनी बताउँछिन्।
उनी भन्छिन्,‘म पहिला नै निको पनि भइसक्थें होला तर श्रीमानको शारिरिक र मानसिक यातनाका कारण अहिलेसम्म ठीक हुन सकेको छैन, उसँग सम्बन्धविच्छेद गरेपछि मात्र म धेरै निको भएँ, सम्बन्धविच्छेद गरेपछि विदेश जानु भएको थियो अहिलेसम्म सम्पर्क गर्नुभएको छैन।’
साहित्यमा र खेलकुदमा पनि रुचि
उनी शारिरिक रुपमा अशक्त भए पनि साहित्यलाई धेरै माया गर्छिन्। उनी साहित्यमा क्षेत्रमा पनि चासो राख्छिन्। दमकमा हुने धेरै कार्यक्रममा सहभागिता जनाउँछिन्। उनी भन्छिन्, ‘ साहित्य धेरै मन पर्छ सकी नसकी साहित्यिक कार्यक्रममा पनि सहभागी हुने गरेकी छु, अलि-अलि साहित्य पनि लेख्छु।’
उनी साहित्यमा मात्र होइन खेलकुदमा पनि त्यतिकै रुचि राख्छिन्। उनले आफ्नो शारिरिक अवस्था यस्तो नहुँदा खेल पनि खेल्ने गरेको सुनाइन्। उनी क्याम्पमा हुँदा कराते खेलका साथै राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाएको उनी बताउँछिन्। अहिले त्यो समय सम्झँदा सपना जस्तो लाग्ने उनी बताउँछिन्। भन्छिन्, ‘त्यतिबेला राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको त सपना जस्तो लाग्छ, अब निको हुनु नै पहिलो मेरो सपना हो ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।