स्वरोजगार बन्न पैसा लिएका ३ दर्जन बढी ऋणीहरु सम्पर्कविहीन

|

  • मेगराज खड्का-

रुकुम : कृषि विकास बैंक शाखा रुकुममार्फत ऋण  दिएका ३ दर्जन बढी ऋणीहरु सम्पर्कविहीन रहेका छन्। नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषअन्तर्गत कृषि विकास बैंक बैकिङ कार्यालय रुकुमले लगानी गरेको कुल १ करोडमध्ये झण्डै आधाभन्दा बढी ऋण लिएका विभिन्न व्यक्ति तथा संस्थाहरु ऋण समयमै तिर्नुको साटो सम्पर्कविहीन भएका हुन्।

सरकारले बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्यका साथ युवा स्वरोजगार कोषको जिल्ला सचिवालयले गरेको सिफारिसका आधारमा बैंकले आफू स्वरोजगार हुनका लागि योजनासहित आएका युवा र समूहलाई बिनाधितो एक करोड नगद परिचालन गरेको थियो।

व्यक्तिका नाममा प्रतिव्यक्ति ५० हजारदेखि एक लाखसम्म र समूहका नाममा प्रतिसमूह दुईदेखि १० लाख रूपैयाँ लिएका जिल्लाका सात वटा समूह र २९ जना व्यक्तिहरू ऋण तिर्न छोडेर सम्पर्कविहीन भएको कृषि विकास बैंक रुकुमका प्रबन्धक प्रकाश कुमार श्रेष्ठले बताए। श्रेष्ठका अनुसार २०६९ साल माघमा समूह र व्यक्ति गरी ६५ जनाले ऋण लिएका थिए।

उनीहरुलाई ऋण तिर्न बारम्बार पत्रिकामा सूचना प्रकाशित गरेर जानकारी गराईए पनि ऋण असुली नभएको हो। व्यवसायमार्फत स्वरोजगार भई उक्त व्यवसायबाट आएको नाफाबाट तीन वर्षमा अर्थात् २०७२ माघ भित्र उक्त ऋण फिर्ता गरिसक्नुपर्ने थियो। तर, ती ६५ जनामध्ये हाल समूह र व्यक्तिका नाममा गरी ३६ जनाको नाममा रहेको साँवा ५४ लाख र अहिलेसम्मको ब्याज रकम २४ लाख ४८ हजार गरी कुल ७८ लाख ४८ हजार रकम उठ्न बाँकी रहेको बैंकको तथ्यांकले देखाउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.