|

सिरहा : राजपा कार्यकर्ताहरुले आन्दोलनका क्रममा सिरहाको लहान र सिरहा सदरमुकाममा केही पार्टीका झण्डा जलाएको छ। संविधान संशोधन, तराई मधेसमा स्थानीय तहको संख्या थपसहित विभिन्न ७ बुँदे माग राख्दै आन्दोलन गरिरहेको छ।राष्ट्रिय जनता पार्टी नेपालसँगको छलफलपछि २ नम्बर प्रदेश अन्तर्गतका जिल्लाहरुमा सरकारले आगामी असोज २ गते चुनाव गर्ने निर्णय गरेको छ।

यद्यपि चुनावको मिति सार्ने आफूहरुको माग नभएको भन्दै राजपाका नेताहरु पश्चिम मधेस लागेका छन् भने विशेषतः सिरहा सप्तरीबाट केन्द्रीय तहमा नेतृत्व गर्ने नेताहरु मधेस र थरुहट जिल्लामा पूर्व-घोषित लाठी जुलुसको तयारी गरिरहेका छन्।

राजपा कार्यकर्ताहरुले आन्दोलनका क्रममा सिरहाको लहान र सिरहा सदरमकाममा केही पार्टीका झण्डा जलाएको विषयमा केन्द्रीय सहमहामन्त्री सुरेश मण्डल भन्छन् ‘त्यो पार्टीको केन्द्रीय नीतिविपरीत हो, त्यस्तो भएको छ भने त्यसो नगर्न चाँडै केन्द्रीय तहबाट नै सर्कुलर गर्छौं।’

तर सिरहा सदरमुकाममा नेकपा माओवादी केन्द्रको झण्डा सहमहामन्त्री मण्डलकै अगाडि जलाइँदै गरेको तस्वीर उनका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा आफूलाई थाहा नभएको उनले दाबी गरे। लहानमा नेकपा एमालेको झण्डा जलाइएको विषयमा पनि आफूलाई थाहा नभएको उनको जिकिर थियो।

त्यसैगरी, सिरहाको गोलबजारमा शुक्रबार नेपाल प्रहरी चढेको ना.४ ख १४४० जुन सुनसरी जाँदै गरेको बस गोलबजारमा बिहान सवा ८ बजेतिर राजपा कार्यकर्ताहरुले ढुंगा प्रहार गरेर बसको अघिल्लो भागको सिसा तोडफोड गरेका छन्।

केन्द्रीय सहमहामन्त्री मण्डल भन्छन् ‘सुरक्षाकर्मी, प्रेस, एम्बुलेन्स, दूध, कूटनीतिक नियोगका सवारी साधनलाई अवरोध नगर्ने केन्द्रीय नीति हो, कतै त्यस्तो भएको छ भने हामी तत्काल सच्याउँछौं।

निन्दनीय कदम : दलका नेताहरु

जनताको राजनीतिक अधिकारकै लागि लडिरहेका सहकर्मी राजनीतिक दलका झण्डा जलाइनु घोर अलोकतान्त्रिक र निन्दनीय कदम रहेको जिल्लाका मुख्य दलका नेताहरु बताउँछन्। नेकपा एमाले सिरहाका जिल्ला अध्यक्ष प्रमोद यादवले लोकतान्त्रिक व्यवस्थामा सबैले आ-आफ्नो विचार राख्न पाउनुपर्ने बताए तर त्यसको अर्थ सहकर्मी दलहरुकै पार्टीका झण्डा जलाइनु नहुने बताए।

‘पार्टीको झण्डा जलाउने तहमा ओर्लिनु अराजकताको पारकाष्ठा हो’ उनले भने। आन्दोलनको नेतृत्व गर्नेहरुले यस्तो विषयमा सजग नभए स्थानीयस्तरमै राजनीतिक मुठभेड हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न नहुने उनको सुझाव थियो।

नेकपा माओवादी केन्द्र सिरहाका पूर्व-जिल्ला इञ्चार्ज तथा पोलिटब्युरो सदस्य हरिनारायण चौधरीले आन्दोलनको नाममा कुनै पनि पार्टीको झण्डा जलाउनु निन्दनीय कदम रहेको बताउँदै आन्दोलन गर्ने पार्टीको नेतृत्वले तत्काल पार्टी तहमा आगामी दिनमा त्यस्ता घटना नदोहोरिने गरी कडाइ गरिनु पर्ने उल्लेख गरे।

त्यस्तै, संघीय समाजवादी फोरम नेपाल सिरहाका जिल्ला अध्यक्ष बादलप्रसाद यादवले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक अधिकारका लागि लड्ने र लडिरहेका पार्टीहरुकै झण्डा जलाउन नहुने बताए। ‘पार्टीको झण्डा र पार्टीको अध्यक्षले झण्डा जलाउनेको माग पूरा गर्ने होइन, राज्यसँगको लडाइँ हो भने किन दल विशेषको झण्डा जलाउने?’ अध्यक्ष यादवले भने।

आन्दोलनमा असहयोग, चक्काजाम, अनशन जस्ता विभिन्न रुप प्रयोग गर्न सकिने चर्चा गर्दै उनले पार्टी विशेषको झण्डा चलाउँदा हुन सक्ने राजनीतिक भिडन्तले कालान्तरमा सबैलाई नोक्सानी हुने र धमिलो पानीमा माछा मार्नेहरु सल्बलाउने भएकाले आन्दोलनको नेतृत्व गरिरहेकाहरु सजग हुनु पर्ने खाँचो औंल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.