|

दमक : झापाका दमक-९ का १९ वर्षीय विवेक उराउ नागरिकता बनाउन तीन पटक इलाका प्रशासन कार्यालय दमक गए। तर अहिलेसम्म उनले नागरिकता पाएका छैनन्।उनको परिवारमा बुबा र आमाले जन्मको आधारमा नागरिकता पाएका छन्। उनले भने पटक-पटक इलाका प्रशासन कार्यालय र नगरपालिकामा जाँदासमेत नागरिकता पाएका छैनन्।

३ पटकसम्म कागज पुगेन भन्दै फर्कायो

उनी भन्छन्, ‘मेरो घरमा चारजना छौं बहिनीको उमेर नपुगेकाले नागरिकता लिएको छैन, बुबाको र आमाको छ, म पनि तीन पटक नगरपालिका र इलाका प्रशासन गएँ, तर कहिले के पुगेन भन्छन्, कहिले के कागज भएन भन्दै फर्काउने गरेका छन्।’

 पुर्खा भारतबाट चियाबगानमा काम गर्न आएका

उनको हजुर बुबा २०१८ साल ताका दमक ९ मा रहेको पूर्वराजाहरुको चिया बगानका काम गर्न आएका थिए। त्यसपछि उनका बुबाहरुले जन्मका आधारमा नागरिकता पाए तर उनले आफूले नपाएकोमा गुनासो गर्छन्। उनी भन्छन्,‘सबैले नागरिकता पाए, तर मैले पाइनँ गाउँका धेरै साथीहरु विदेश गएर पैसा कमाएका

छन्, हामी भने सधैं यही बस्नुपर्छ, म १६ वर्षको भएदेखि नै नागरिकता बनाउनलाई कोसिस गरेको अझैसम्म भएको छैन।’ उनी मात्र होइन दमक ९ स्थित पूर्वराजा ज्ञानेन्द्र शाहको समित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा कार्यरत मजदुरको परिवारमा अधिकांशले नागरिकता पाएका छैनन्।

छोराछोरीको नागरिकता बनाउन सहयोग गर्नेलाई भोट

अर्का चिया बगानका मजदुर ४५ वर्षीय अनील उराउ आफ्नो नागरिकता बनिएको तर छोराको बनाउन नमानेको बताउँछन्। उनी भन्छन्,‘ हाम्रो नागरिकता बनिएको छ, मेरो छोरा २० वर्षको मनोजको बनिएको छैन, कि त हाम्रो पनि नबनाएको भए एउटा कुरा हुन्थ्यो तर हाम्रो बनेको छ, छोराको छैन, नागरिकता बनाउने टोली आउँदा पनि कागज पुगेन भन्दै फर्काउँछ।’

नेताहरु चुनावको बेला मात्र छुटेकाको नागरिकता बनाइदिन सहयोग गर्ने भन्दै आउने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘जब-जब भोट आउँछ तब नेताहरु छुटेका बन्छेको नागरिकता बनाउन सहयोग गर्ने भन्दै आउँछन्, त्यसपछि अर्को भोट नआइन्जेलसम्म हराउछन् हामीले कसरी विश्वास गर्ने त्यस्ता नेतालाई।’

छोरालाई विदेश पठाउने सोच, नागरिकता नबन्दा समस्या

चिया बगानमा काम गर्दा दैनिक २ सय रुपैया मात्र हुने र यसले घर चलाउन मुस्किल हुने भएकाले छोरालाई कमाउन विदेश पठाउन खोजेको उनी बताउँछन्। उनी भन्छन्, ‘चिया बगानमा बिहानदेखि बेलुकासम्म काम गर्दा जम्मा २ सय रुपैयाँ कमाइ हुन्छ, यसले परिवार चलाउनै मुस्किल पर्छ, त्यसैले छोरालाई विदेश पठाउँ भनेको नागरिकता नै बनिएन।’

 हामी आउँदा चिया बगान भर्खर सुरु हुँदै थियो

दमक ९ का ७५ वर्षीय जुहान त्रिकी उराउ त्यहाँ आउँदा लक्का जवानका थिए। २०१८ सालमा आफूहरुलाई चिया बगानमा काम गर्न भन्दै भारतबाट क्याप्टेन शन्तवीरर लामाले यहाँसम्म ल्याएको उनलाई अझै सम्झना छ। उनी भन्छन्, ‘हामी उराउहरु धेरै जसो जहाँ चिया बगान छ त्यहाँ काम गर्छौं, त्यस कारण भारतमा

हुँदा पनि हामी चिया बगानमा नै काम गर्थ्यौं त्यतिबेला क्याप्टेन शन्तवीर लामाले हामीहरुलाई चिया बगानमा काम गर्न भन्दै लिन जानुभयो, त्यतिबेला उहाँले हामीलाई पानी ट्यांकीसम्म लिन जानुभयो, त्यहाँदेखि दमकसम्म आउन तीन दिन हिँड्नु परेको थियो।’

मजदुरले बनाएको दरबारमा राजा बस्थे

आफूहरुले नै चिया बगानमा राजाका दरबार बनाएको उनले बताए। उनले भने, ‘हामीले नै दुख गरेर चिया बगान भित्र राजाका दरबार बनाएका छौँ, त्यो बनाउँदा हामीले सिमेन्टसम्म बोक्यौँ, हामीले राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रलाई नै देखेका छौँ, त्यो दरबारमा प्रत्येक वर्ष राजा आएर एक महिना बस्नुहुन्थ्यो।’ यहाँ आएपछि आफूहरु राजाको जग्गामा बसेको तर जग्गाधनी प्रमाण पुर्जा अहिलेसम्म नपाएको उनले गुनासो गरे। उनी भन्छन्, ‘हामी यहाँ आउँदा सबै सखुवाको रुखहरु भरिएको जंगलको घारी थियो, हामी यहाँ फाँडेर बसेका हौं।’

शिक्षा स्वाथ्यमा पहुँच कम

आफ्नो समुदायले अझै पनि शिक्षा स्वास्थ्यमा पहुँच पुर्‍याउन नसकेको स्थानीय ७० वर्षीय लोरेन्स टोप्पो उराउ बताउँछन्। उनी भन्छन्, ‘हामीले शिक्षा लिन पाएनौं, दैनिकी चलाउन सधैं ज्याला मजदुरी गर्नुपर्यो त्यसैले हामी सधैं पछि परेका हौं।’ आफ्नो समुदाय नेपालमा जति छन् सबै ज्यालामजदुरी गरेर बस्ने गरेको उनले बताए।

दमकको ९ नम्बरमा चिया बगान क्षेत्रमा मात्र करिब २ सय घर परिवार विगत लामो समयदेखि बसोबास गर्दै आएका छन्। उनीहरुमध्ये धेरै जसो उराउहरु अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको समित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा कार्यरत छन्। उराउ समुदायहरु नेपालको बिभिन्न क्षेत्रकमा रहेका  चिया बगानमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.