|

काठमाडौं : गत बिहीबार सरकार पक्ष र राजपाबीच भएको वार्तालाई दुवै पक्षले फरकफरक किसिमबाट व्याख्या गरेका छन्। सरकारी पक्षले बिहीबारको वार्तामा राजपासँग सहमितअनुसार २ नम्बर प्रदेशको चुनाव सारेको बताइरहँदा राजपा नेताहरुले भने सो वार्तामा कुनै पनि सहमति नभएको दाबी गरेका छन्।

बिहीबार दिउँसो करिब ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुवै पक्ष सम्मिलित वार्ता (बैठक) सुरु भएको थियो। करिब एकघण्टा चलेको बैठकपछि सरकारले राजपासँग सहमति भएको भन्दै २ नम्बर प्रदेशको चुनावको मिति असोज २ गतेका लागि सार्ने निर्णय गर्‍यो। यो समाचार बाहिर आएलगत्तै राजपाले विरोध जनाउँदै चुनावमा भाग नलिने आफ्नो निर्णय यथावत रहेको जनायो।

सो वार्तामा राजपा नेताहरुका अलावा नेपाली कांग्रेसबाट प्रधामन्त्री एवम् सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला तथा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु रामबहादुर थापा, मात्रिका यादव, पम्फा भुसाललगायत सहभागी थिए।

के भएको थियो बैठकमा ?

बैठकमा प्रधानमन्त्री देउवाले राजपा चुनावमा आउने भए २ नम्बर प्रदेशमा चुनावको मिति सार्न सरकार तयार रहेको बताएका थिए। त्यसपछि माओवादी अध्यक्ष दाहालले राजपालाई चुनावमा आउन आग्रह गर्दै मिति सारेपछि चुनावमा आउन सहज हुने बताए।

दाहालपछि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बोले। ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'चुनावको मिति सार्नुपर्छ भन्ने हाम्रो माग होइन। तै पनि मिति सार्नुहुन्छ भने ठीकै छ। तर यही स्थितिमा अरु ठाउँमा हामी कसरी चुनावमा जान सक्छौँ। हामीले चुनाव चिह्न पनि पाएका छैनौँ। पार्टी दर्ता भएको छैन।' 

त्यसपछि दाहाल फेरि बोले, 'तपाईंहरुलाई चुनावमा ल्याउन दुईवटा ऐन पनि संशोधन गरेका छौँ। फास्ट ट्रर्‍याकबाट पार्टी दर्ता गर्नुहोस्। पार्टी दर्ता गर्न निर्वाचन आयोग पनि तयार भएको छ। अरु के-के समस्या छन् छलफल गरौँ।'

त्यसपछि फेरि चुनाव सार्ने विषयमा छलफल केन्द्रित भयो। राजपा नेताहरुले ५ नम्बर प्रदेशको चुनाव पनि सार्न माग गरे। प्रधानमन्त्री देउवाले सिधै अस्वीकार गरिदिए। राजपाकै सहजताका लागि २ नम्बर प्रदेशमा चुनाव सार्ने प्रस्ताव नमाने सरकारले पेलेरै असर १४ मा सबै ठाउँमा चुनाव गर्ने बताए। 

त्यसपछि केही नरम भएका राजपा नेताहरुले प्रदेश नम्बर २ को चुनाव सार्न सहमति जनाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • अंग्रिकृत मधेसी नेता भनाउदाहरु जे गर्छन् देउवा प्रचण्ड कै गोप्य सल्लाह सहमतिमा गरेका हुन् ।

  • चुनाब असार 14 मै हुनु पर्छ