|

जनकपुरधाम : धनुषामा खटिएका कर्मचारी प्रदेश नम्बर–२ को निर्वाचन सरेपछि कार्यालय बन्द गरेर फर्किएका छन्। यसअघि असार १४ गते हुने भनिएको स्थानीय निर्वाचन सरकारले असोज २ गते सारेपछि कर्मचारीहरू निर्वाचन अायोगको निर्देशनअनुसार कार्यालय बन्द गरेर नियमित काममा फर्किएका हुन्।

निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्र, स्वस्तिक छाप, डोरी लगायतका सामग्री लिएर मतदान केन्द्र पुगिसकेको अधिकृतको टोलीलाई भने संयुक्त सुरक्षा टोलीले सुरक्षा दिइरहेको थियो।  निर्वाचन सामग्रीको सुरक्षार्थ केहीलाई राखेर बाँकी फिर्ता पठाइएकाे प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईँले जानकारी दिए।

जिल्लामा रहेको विभिन्न सरकारी कार्यालयका कर्मचारी, संस्थानका कर्मचारी र सरकारी विद्यायलका शिक्षकहरू निर्वाचनमा परिचालन गरिएकोमा उनीहरूलाई पनि फिर्ता पठाइएको निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिइन्।

धनुषामा  निर्वाचनका लागि खटिएका ६ सयमध्ये ३ सय प्रहरीलाई फिर्ता पठाएको र बाँकी पनि फर्किने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लीलामणि आचार्यले जानकारी दिए। सशस्त्र प्रहरी र सेना पनि फिर्ता भइसकेका छन्।

धनुषामा १ उप–महानगरपालिका, ८ नगरपालिका र ७ गाउँपालिका रहेकोमा ३ लाख ८९ हजार ३ सय ८६ मतदाता रहेकोमा २ लाख २ हजार ८ सय ८९ पुरुष, १ लाख ८६ हजार ४ सय ९१ महिला र ६ जना तेस्रोलिंगी  छन्। जिल्ला निर्वाचन कार्यालयका धनुषामा ३ सय २६ मतदान स्थल र ५ सय ३५ मतदान केन्द्र छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.