|

वीरगन्ज : राष्ट्रिय जनता पार्टीले आह्वान गरेको तराई मधेस बन्दका कारण आइतबार बिहानैदेखि वीरगंजलगायत बारा, पर्सा रौतहट लगायत यस आसपासको जनजीवन प्रभावित भएको छ। संविधान संशोधन हुनुपर्ने, एकै पटक ४ वटै प्रदेशमा निर्वाचन गर्नुपर्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने लगायतको माग राख्दै आव्हान गरेको बन्दका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको हो।

बन्दका कारण विहानै देखि वीरगंज भित्रिने र बाहिरिने लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प रहेका छन्। रिक्सा, टांगा, मोटरसाइकल जस्ता साना सवारीसाधन भने सञ्चालनमा छन्। राजपाका कार्यकर्ताले वीरगंजको घण्टाघर, बसपार्क, नगवा, गण्डक, छपकैयाँ लगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन्। बन्दकर्ताहरुले मोटरसाइकल र्‍यालीसहित बजार बन्द गराउँदै हिँडेका छन्। बन्दका कारण यातायात, बजार, शिक्षण सस्था, कलकारखाना खुल्न सकेको छैन।

परीक्षामा अवरोध छैन

 कक्षा ११ को परीक्षा सन्चालनमा भने आफूहरुले कुनै अवरोध नगरेको राजपाका महासचिव राजेशमान सिंहले जानकारी दिए। सरकारले २ नम्वर प्रदेशको मात्रै निर्वाचन सारेर अन्यको निर्वाचन गर्न खोज्नु मधेशीलाई एक्ल्याउने षड्यन्त्र भएको भन्दै त्यसको विरोधमा २ नम्वर सहित अन्य प्रदेशमा समेत आज बन्द गरिएको पार्टीका केन्द्रिय सदस्य नेजामुद्धिन समानिले बताए। शान्तिपूर्ण सभा सम्मेलन गर्दा प्रहरीले नवलपरासिमा गोलि चलाएर आफ्ना कार्यकर्ता घाइते बनाउनु निन्दनिय रहेको बताए।

नवलपरासी घटनाको विरोधमा गृहमन्त्रीको पुतला जलाइयो

यसैबीच नवलपरासीको घटनाको विरोधमा जिल्लाको विभिन्न ठाउँमा गृहमन्त्रीको पुतला जलाइएको छ। वीरगंजको गण्डक चोक, पावरहाउ चोक, धोविनि गाउँपालिकाको हरिहरपुर चोक, बहुदरामाई गाउँपालिकाको पिप्रा, भौराटार, गर्दौल, पोखरिया, लंगडी, भिखमपुर, अलौ, विन्दवासिनि, बहुअरी लगायतका क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका  छन्।

यस्तै घटनाको विरोधमा विन्धवासिनी गाउँपालिकाको झौवागुठिमा समेत राजपाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका छन्। श्रीलाल साह मोदीको नेतृत्वमा रहेका राजपाका कार्यकर्ताले गृहमन्त्रीको राजीनामा माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेको मुकलेस गदीले जानकारी  दिए।

यस्तै बाराको कलैया, जितपुर, नितनपुर, लगायतका स्थानमा पनि बन्दकर्ताले टायरबालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले कलैयाको भरतचोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै बजार बन्द गराएको राजपाको विद्यार्थी संगठनका बारा अध्यक्ष सन्तोष यादवले जानकारी दिए।

बाराको सिमरा, पथलैया, अमलेखगन्ज लगायतका क्षेत्रमा भने बन्दको प्रभाव देखिएको छैन। सो क्षत्रमा निर्वाध रुपमा सवारी सञ्चालनमा रहेका छन्। उद्योग कलकारखाना, शिक्षण संस्थासमेत खुलेको बारा प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.