|

दमकः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा १५ जनाले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा भिड्ने पक्का भएको छ।

आइतबार भएको उम्मेदवारी मनोनयनमा सात जना स्वतन्त्रसहित १५ जनाले प्रमुख पदमा चुनाव लड्ने निश्चित भएको हो। उपप्रमुखमा दुई स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

निर्वाचन कार्यालय दमकका प्रमुख देवराज फुयालका अनुसार निर्वाचनका लागि नेपाली कांग्रेसबाट प्रमुखमा ढुण्डिराज भण्डारी, उपप्रमुखमा रेगिना भट्टराईले उम्मेदवारी मनोनयन गराएका छन्। यस्तै एमालेबाट रोमनाथ ओली र गीता पौड्याल अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन्। 

माओवादी केन्द्रबाट रेवतराज पुरी (गगन) प्रमुख र उपप्रमुखमा शन्तिदेवी धिमालले मनोनयन दर्ता गराएका छन्। राप्रपाबाट पार्टीका सहमहामन्त्री राम थापाले प्रमुख र उपप्रमुखमा रीता श्रेष्ठ बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्। 

यसैगरी संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले संयुक्त रूपमा सतिश साहलाई प्रमुखको उम्मेदवारका रूपमा अघि सारेका छन्। उपप्रमुखमा गंगासागर शेर्माको मनोनयन परेको छ। 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रमुखमा देउकुमार लिम्बु र सावित्रा गुरुङ लावतीले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्।

यसैगरी नेपाल फोरम लोकतान्त्रिकको तर्फबाट प्रमुखमा कुमार भुजेल र सुष्मी साहले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् भने विवेकशील नेपाली दलका तर्फबाट सुवास सुवेदीले प्रमुखमा उम्मेदवारी मनोनयन गराए। 

गोविन्दप्रसाद भट्टराई, अर्जुन बुढाथोकी, वीरसिंह धिमाल, ओमनाथ बस्नेत, देवीप्रसाद गौतम, मधु थापामगर र सुन्दर देवानले स्वतन्त्रबाट प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। 

उपप्रमुखमा स्वतन्त्रका तर्फबाट प्रकाश नेपाल र भवानीप्रसाद मिश्रले उम्मेदवारी दर्ता गराएका छन्। 

दमक नगरपालिकाका १० वटा वडा अध्यक्षका लागि ६४, खुला सदस्य १०५, महिला सदस्य ५० र दलित महिला सदस्य ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.