|

दाङ : स्थानीय तह निर्वाचनका लागि दाङमा निकै उत्साहका साथ दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा दलहरुले तामझामका साथ उम्मेदवारी दर्ता गराएका छन्।  

घोराही उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले, संघीय समाजवादी फोरम,
नयाँ शक्ति पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा र नेपाल आमा पार्टीले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेसले प्रमुखमा भूपबहादुर डाँगी, उपप्रमुखमा पुष्पा श्रेष्ठलाई उम्मेदवार बनाएको छ। त्यसैगरी नेकपा एमालेले प्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा सीता न्यौपानेलाई उम्मेदवार बनाएको छ।

यसैगरी नेकपा माओवादी केन्द्रले प्रमुखमा जीवन गौतम र उपप्रमुखमा सीता चौधरीको उम्मेदवारी दर्ता गरेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नगर प्रमुखमा भोलानाथ योगी र उपप्रमुखमा प्याउली केसीको उम्मेदवारी परेको छ।

त्यस्तै राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रमुख पदका लागि रामबहादुर घर्तीमगर र उपप्रमुखमा कमला विश्वकर्माको उम्मेदवारी दर्ता भएको छ। यसैगरी नेकपा मालेको तर्फबाट प्रमुखमा नेत्रप्रकाश पाण्डे र उपप्रमुखमा लिला विश्वकर्मा, संघीय समाजवादी फोरम र नयाँ शक्तिका तर्फबाट प्रमुखमा जगतबहादुर पुन र उपप्रमुखमा निर्मला विकले उम्मेदवारी दर्ता गराएका छन्।

देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट प्रमुखमा सुशीला आचार्य, उपप्रमुखमा तिलक विश्वकर्मा, नेपाल आमा पार्टीको तर्फबाट प्रमुखमा गुरुप्रसाद गौतम र
मन्जु शर्माले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

घोराही उपमहानगरपालिकामा स्वतन्त्रबाट ठाकुरप्रसाद महरा र रमेशकुमार आचार्यले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी स्वतन्त्रबाटै
घोराही उपमहानगरपालिका ८ को वडा अध्यक्षमा निमबहादुर खड्का, वडा नम्बर ८ मै जितेन्द्रबहादुर शाह र घोराही ३ मा सुन्दरलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.