स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

विराटनगर प्रमुखमा १४ जनाको दाबी, कुन पार्टीबाट कसको उम्मेदवारी?
SHARES

असार ५, २०७४

    विराटनगर :  स्थानीय तहको दोस्रो चरणमा असार १४ गते निर्वाचन हुने एक मात्र महानगरपालिका विराटनगरमा आइतबार उत्साहपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ। यसअघि कांग्रेसको वर्चश्व रहेको मानिएको महानगरमा कांग्रेसलाई चुनौती दिँदै नेकपा एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ। महानगरमा राप्रपा, नेकपा माले, चुरेभावर पार्टी र राष्ट्रिय एकता पार्टीसहित स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन्।

    प्रमुखमा ७ स्वतन्त्रसहित १४ को दाबी

    मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरेन्द्र सभागृहमा भएको मनोनयनको अन्तिम समय ४ बजेसम्ममा ७ जना स्वतन्त्रसहित १४ जनाले प्रमुखमा र ५ जना स्वतन्त्रसहित ११ जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। महानगरको प्रमुखमा कांग्रेसबाट भीम पराजुली, एमाले–फोरम लोकतान्त्रिकका विनोद ढकाल, माओवादी–संघीय समाजवादीका उमेश यादव, राप्रपाका प्रल्हादप्रसाद साह, नेकपा मालेका लिलो मोहन राजवंशी, नेपाल समावेशी पार्टीबाट गोपालप्रसाद गिरी र चुरे भावर राष्ट्रिय एकता पार्टीका घनश्याम टन्डनले उम्मेद्वारी दर्ता गराए।

    यस्तै स्वतन्त्रबाट राजकुमार कार्की, पुष्पनारायण प्रधान, जगतप्रसाद अर्याल, ताराबहादुर तामाङ, गणेशराज विष्ट, डा.शिवप्रसाद अधिकारी र सन्तोष सरकारले प्रमुखमा उम्मेदवारी दिएका छन्।

    महानगरको उपप्रमुखका लागि कांग्रेसबाट इन्दीरा कार्की, माओवादी–फोरमबाट नमिता न्यौपाने, एमाले–फोरम लोकतान्त्रिकबाट सूची चौधरी, नेकपा मालेबाट पानु पासवान र राप्रपाबाट शोभा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै स्वतन्त्रबाट उपप्रमुखका लागि उत्तम ढुंगेल, मुन्ना खान, श्यामप्रसाद घिमिरे, खुशीलाल यादव, विनोदकुमार यादव र कुरबान मिया उम्मेद्वार बनेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए।

    ९७ पदका लागि ६ सय ६८ को उम्मेदवारी

    विराटनगर महानगरपालिकाको ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वार्डअध्यक्ष तथा सदस्यहरुमा ६ सय ४३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। तर, वडाअध्यक्षमा कति, सदस्यमा कति भन्ने छुट्याउन कार्यालयले सकेको छैन। साँझ ६ प्रकाशित गर्नुपर्ने उम्मेदवारहरुको नामावली मध्यरातसम्म कार्यालयले प्रकाशन गर्न सकेको छैन।

    कार्यालयले दिएको प्रारम्भिक जानकारीअनुसार वडा नं. १ बाट वार्ड अध्यक्ष र सदस्य गरि ३३ जना, २ बाट ३५ जना, ३ बाट २३ जना, ४ बाट ३० जना, ५ बाट ३५ जना, ६ बाट ४५ जना, ७ बाट ३२ जना, ८ बाट ४० जना, ९ बाट ४१ जना र १० बाट ३१ जना उम्मेदवार बनेका छन्। यस्तै ११ बाट ३४ जना, १२ बाट २७ जना, १३ बाट ३२ जना, १४ बाट ४४ जना, १५ बाट ३० जना, १६ बाट ३३ जना, १७ बाट ३६ जना, १८ बाट ३६ र १९ बाट २६ जनाको उम्मेदवारी परेको छ।

    उम्मेदवारी दर्तामा जे देखियो

    बिहान ८ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा सबैभन्दा पहिले स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि दलहरुतर्फ राप्रपाले सबैभन्दा पहिले जुलुसहित पुगेको उम्मेदवारी दर्ता गराएको थियो। राप्रपाले जुलसमा जिउँदो गाईसमेत ल्याएको थियो। राप्रपाको उम्मेदवारी दर्तापछि माओवादी केन्द्र र संघीय समाजवादी फोरमको संयुक्त टोलीले विशाल जुलुसहित उम्मेदवारी दर्ताको लागि सभागृह पुगेको थियो।

    फोरमले रोडसेस चौकबाट निकालेको जुलुस माओवादीले तीनपैनीबाट निकालेको जुलुससँग गोल्छा चोकमा मिसिएर अगाडि बढ्दा बजारका अधिकांश सडक हसिया हथौडा र मशाल बोकका मानिसहरुले ढाकिएको थियो। जुलुसमा हजारौं सहभागी रहेका थिए।

    माओवादीपछि एमालेको उम्मेदवारी दर्ताको पालो  थियो। तर, एमालेका उम्मेदवारहरु सभागृहमा आईनपुग्दै काँग्रेस उम्मेदवार भीम पराजुली सभागृह पुगेका थिए। पराजुलीलाई ज्योतिसले २ बजेको समयमा उम्मेदवारी दर्ता गर्ने उपयुक्त साइत रहेको बताएकोले उनी कार्यकर्ता र जुलुसविना केही सहयोगी मात्र लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए।

    पराजुलीले उम्मेदवारी दर्ता गरेको करिब आधा घण्टापछि कांग्रेसकी उपप्रमुखकी उम्मेदवार इन्दिरा कार्कीले उम्मेदवारी दर्ता गराइन्। प्रमुख र उपप्रमुखले अगाडि नै उम्मेदवारी दर्ता गरेकोले काँग्रेसको बृहत जुलुस निकाल्ने कार्यक्रम प्रभावित भई कार्यकर्ता तितरवितर भएका थिए।

    यसैबीच, एमाले मोरङका बहालवाला अध्यक्ष विराटनगरको प्रमुखको उम्मेदवार बनेको बेला पूर्व सचिब (तत्कालीन अवस्थामा एमालेमा सचिब नै प्रमुख थिए) नरेश पोखरेल विराटनगर १२ को वडा सदस्यमा उम्मेदवार बनेका छन्। पोखरेलले पार्टी सचिव भएर १४ वर्ष जिल्लामा एमालेको नेतृत्व सम्हालेका थिए।पोखरेललाई वडा सदस्यमा जिताएर जिल्ला समन्वय समितिको प्रमुख बनाउनेगरी सदस्यमा उम्मेदवार बनाएको एमाले स्रोतले जनाएको छ।

    कांग्रेस र एमालेमा जताततै बागी

    विराटनगर महानगरपालिकामा उम्मेदवार चयनदेखि नेपाली कांग्रेस र नेकपा एमालेमा देखिएको विवाद उम्मेदवारी दर्तामा पनि प्रकट भएको छ।एमाले र फोरम लोकतान्त्रिकबीचको तालमेलप्रति असन्तुष्टि जनाएका एमाले मोरङका पूर्वअध्यक्ष उम्मेदवारी दर्तामा अनुपस्थित रहेका थिए भने धेरै वडाका अध्यक्षमा काँग्रेस र एमालेका कार्यकर्ता बागी उम्मेदवार बनेका छन्।

    विराटनगरको ६, ७, १०, १२, १४ लगायत वडामा काँग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार खडा भएका छन्। यस्तै ५, ८, १०, १३, १४ लगायत वडामा एमालेका कार्यकर्ता आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार बनेका छन्। उनीहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्। विराटनगर १० मा एमालेबाट उम्मेदवारको आकांक्षी रहेका माधब वाग्लेले उम्मेदवारी नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका छन्।

    एमालेले सो वडाबाट अर्जुन गिरीलाई उम्मेदवार बनाएको छ। एमालेमा नेता माधब नेपाल निकट रहेका गिरी विरुद्ध अध्यक्ष केपी ओली निकट मानिएका वाग्लेले उम्मेदवारी दिएका हुन्। जिल्लाबाट वाग्लेको नाम मात्र सिफारिस भएकोमा प्रदेशले गिरीलाई टिकट दिएपछि उनी मैदानमा उत्रिएका हुन्।

    यस्तै, वडा नम्बर ८ मा पार्टीका आधिकारिक उम्मेदवार शिवा आचार्य विरुद्ध एमाले कार्यकर्ता माधब पोखरेलले उम्मेदवारी दिएका हुन्। उनले वडाध्यक्षको उम्मेदवारका आकांक्षी भएपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। यसैगरी ३ नम्बर वडामा कृष्ण भण्डारी मार्सेलीले आधिकारिक उम्मेदवार राम घिमिरे विरुद्ध बागी उम्मेदवारी दिएका छन्।

    विराटनगरकै वडा नं. १३ मा एमालेका आधिकारिक उम्मेदवार किशोर पोखरेल विरुद्ध कृष्णप्रसाद काफ्लेले र वडा नं. १४ मा विरेन्द्र यादवको विरुद्ध विन्देश्वर चौधरीले उम्मेदवारी दिएका छन्।एमालेमा गुटगत आधारमा उम्मेदवारी चयन भएको भन्दै एउटा गुटका आधिकारिक उम्मेदवार विरुद्ध अर्को गुटका कार्यकर्ताले बागी उम्मेदवारी दिएका हुन्।

    यसैगरी, नेपाली कांग्रेसमा वडा नं. ६ का आधिकारिक उम्मेदवार मधुवाबु तिवारीको विरुद्ध अनिस आलमले उम्मेदवारी दिएका छन्। यस्तै वडा नं. १० मा सन्तोषकुमार ढुंगाना विरुद्ध राजेश मास्केले बागी उम्मेदवारी दिएका छन्।

    मास्के संयुक्त टोल नगर संगठन समितिका अध्यक्षसमेत हुन्। वडा नं. १२ मा काँग्रेसका हरिनारायण यादव विरुद्ध भीमबहादुर केसीले, वडा नं. १४ मा प्रदिपकुमार यादव विरुद्ध दिलिपकुमार यादव र १३ मा सुजनलाल महतो विरुद्ध सुमन केसीले उम्मेदवारी दिएका छन्।

अर्जुन आचार्य

आचार्य थाहाखबरका मोरङ संवाददाता हुन्। इमेल : jorarjun@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]