|

काठमाडौं : स्थानीय तहको पुनर्संरचनापछि उपमहानगरपालिकामा स्तरोन्नति भएको घोराहीमा स्थानीय तहको निर्वाचनमा कुन राजनीतिक दलले विजय हासिल गर्ने भन्ने चर्चाको विषय बनेको छ। प्रदेश नम्बर ५ को सम्भावित राजधानीको रुपमा हेरिएको यस उपमहानगरपालिकाको नेतृत्व आफ्नो पक्षमा पार्न प्रमुख दलहरुले प्रचार प्रसार पनि तिब्र पारेका छ्न्।  

घोराही उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट भुपबहादुर डाँगी,  नेकपा एमालेबाट उम्मेदवारी दिएका नरुलाल चौधरी र माओवादी केन्द्रबाट उम्मेदवारी दिएका जीवन गौतमले उम्मेदवारी दिएका छन्।

यसअघि भएका दुईवटा संविधानसभा निर्वाचनमध्ये पहिलोमा माओवादी र दोस्रोमा काँग्रेसले जितेको आधारमा घोराहीमा कांग्रेस बलियो मानिन्छ। त्यसैगरी किसान परिवारबाट आएका र स्थानीय वासिन्दासँग राम्रो सम्बन्ध भएका एमाले उम्मेदवार चौधरी उत्तिकै बलियो मानिन्छन्। माओवादी केन्द्र पनि कमजोर नभएकाले घोराहीमा त्रिपक्षीय प्रतिस्पर्धा नै हुने धेरैको आँकलन छ। 

घोराही उपमहानगरपालिकामा कूल ७८ हजार ४ सय २७ मतदाता छन् जसमा थारु मतदाताको संख्या उल्लेख्य छ। असार १४ गते हुने चुनावमा घोराही उपमहानगरपालिकामा कुन दलका उम्मेदवार कस्ता छन् भन्ने विषयमा यहाँ चर्चा गरिएको छ।

भुपबहादुर डाँगी- नेपाली कांग्रेस

डाँगी कांग्रेसको दाङ क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति हुन्। २०१५ सालमा घोराही नगरपालिका–९ मा जन्मिएका उनी परिवार बसाइ सरेर साविकको सौडियार गाविस १ मा गएपछि उनले राजनीतिक जीवनको शुरुआत भने सौडियारबाट गरेका थिए।

२०३६ सालमा बहुदलको पक्षमा योगदान दिएका भुपबहादुर विपी कोइराला दाङ आएको बेला पार्टी सदस्यता लिएका थिए। २०४३ सालको स्थानीय चुनावमा सौडियार गाविस वडा नम्बर १ को अध्यक्षमा निर्विरोध भएका उनले राजनीति र सामाजिक संघसंस्थामा सक्रिय भएका कारण अध्ययन भने कक्षा १० भन्दा अगाडि बढाउन सकेनन्।

कांग्रेसको भातृ संगठन युवक संघको सदस्य, २०४६ सालमा क्षेत्रीय सदस्य, कोषाध्यक्ष, उपसभापति हुँदै २०६६ सालमा दाङ क्षेत्र नम्बर ३ को कांग्रेस सभापति भएका थिए। २०७२ सालमा दोस्रो पटक क्षेत्रीय सभापति भएका भुपबहादुर आफ्नो क्षेत्रमा राम्रो प्रभाव भएका नेता हुन्। राजनीतिसँगै विभिन्न संघसंस्थाहरुमा क्रियाशील उनी कांग्रेस नेता खुमबहादुर खड्काका निकटका हुन्।

घोराही बनाउने कांग्रेसको योजना

  • घोराहीलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन पहल गर्ने।
  • उपमहानगरका प्रत्येक वडाहरुमा ड्याम निर्माण गरी जलाशययुक्त बनाउने।
  • विदेशिएका युवाहरुलाई स्वदेश फिर्ता गर्नका लागि प्रोत्साहन गर्न कृषि क्रान्तिकारी कृषि कार्यक्रम सञ्चालन गर्ने।
  • प्रत्येक वडामा १५ शैय्याको अस्पताल निर्माण गर्ने।
  • उपमहानगरका सबै वडालाई समेट्ने गरी चक्रपथ निर्माण गर्ने।

नरुलाल चौधरी - नेकपा एमाले

चौधरी किसान परिवारबाट आएका नेता हुन्। २०२४ सालमा साविकको रामपुर गाविस जन्मिएका नरुलाल चौधरीले अनेरास्ववियुबाट विद्यार्थी राजनीति शुरु गरेका हुन्। २०३६ सालमा १२ वर्षको उमेरमै पार्टीका गतिविधिमा सक्रिय भएका उनी अनेरास्ववियुको क्याम्पस कमिटीबाट राजनीति अघि बढाएका थिए। एमालेको विभिन्न कमिटीमा काम गर्दै उनी २०५४ सालमा जिल्ला सदस्य भएका थिए।

व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका नरुलाल पढाइ छाडेको २२ वर्षपछि अहिले एमबिएस दोस्रो वर्ष अध्ययन गर्दैछन्। जनता मावि रामपुरमा २ वर्षसम्म शिक्षण गरेका उनी २०५२ सालमा रेडियो नेपालमा थारु भाषाको समाचार बाचकको रुपमा दुई वर्ष जागिर खाए। उनी २०५४ सालमा पार्टीले टिकट दिएपछि रेडियोबाट राजिनामा दिएर चुनाव लड्न दाङ गएका थिए।

२०५४ को स्थानीय निकायको चुनावमा रामपुर गाविस अध्यक्ष जितेका नरुलाल अखिल नेपाल किसान संघको केन्द्रीय सचिव, एमालेको सातौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए भने २०६९ सालमा एमाले दाङ जिल्ला कमिटिको अध्यक्षमा निर्वाचित भएका थिए।

२०६४ सालको संविधानसभाको चुनावमा दाङ क्षेत्र नम्बर २ बाट चुनाव लडेका नरुलाल तत्कालिन नेकपा माओवादीका उम्मेदवार दामा शर्मासँग पराजित भएका थिए। 

घोराही बनाउने यस्ता छन् एमालेका योजना

  • विकसित, स्वच्छ, समृद्ध वातावरण भएको नमुना महानगर बनाउने।
  • सबै वडामा बाह्रै महिना यातायात सञ्चालन, सडकको स्तरोन्नति, कालोपत्रे।
  • दामोदर रोडलाई वैकल्लिक मार्गको रुपमा विकास।
  • प्रत्येक वडामा एम्बुलेन्स सुबिधा सहित ५ शैय्याको मिनी हस्पिटल।
  • घोराहीमा सिञ्चाई सुविधा पुग्ने गरी हाइड्याम निर्माण गर्ने। तालतलैयाको संरक्षण गरी उक्त पानीलाई बहुउद्देश्यीय रुपमा प्रयोग गर्ने।
  • सबै विद्यालयहरुमा प्राविधिक शिक्षाको लागु गरी गुणस्तरिय शिक्षा लागु गर्ने।
  • उद्योगधन्दा कलकारखानालाई प्रोत्साहन गरी रोजगारीको सिर्जना गर्ने।
  • सुकुम्बासी समस्या समाधान गरी कसैलाई पनि घरबारविहीन हुन नदिने।
  • मेडिकल कलेज खोल्नका निम्ति पहल गर्ने।

जीवन गौतम- नेकपा माओवादी केन्द्र

गौतम नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन्। ०३१ सालमा जन्मिएका उनी २०४३ सालदेखि राजनीतिमा सक्रिय भएका थिए। अनेरास्ववियुको इकाई कमिटी अध्यक्ष, २०४५ सालमा केन्द्रिय सदस्य भएर काम गरेका जीवन २०४६ सालको जनआन्दोलनमा दाङको भरतपुर स्कुलबाट विद्यार्थी आन्दोलनको अगुवाइ गरेका थिए।

२०४७ सालमा नेकपा चौमको सदस्यता प्राप्त गरेका उनले २०४९ सालमा अस्कल क्याम्पस काठमाडौंमा स्ववियूको सदस्यमा निर्वाचित भए। २०५१ मा नेकपा एकता केन्द्र दाङको जिल्ला सदस्य हुदै २०५२ सालमा अखिल (क्रान्तिकारी) को केन्द्रीय सचिव, २०५६ अखिल (२०२२) को केन्द्रीय उपाध्यक्ष, २०५८ सालमा अखिल छैठौंसँग एकता भई बनेको अखिल एकीकृतको केन्द्रीय कोषाध्यक्ष तथा २०६३ सालमा अखिल एकीकृतको महासचिव भएका थिए।

२०६३ सालमै अखिल एकीकृतको अध्यक्ष, २०६५ सालमा नेकपा एकता केन्द्र मसाल र नेकपा माओवादीबीच एकतापश्चात् बनेको एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य तथा थारुवान राज्य समितिको सह सेक्रेटरी भएका जीवन २०७० देखि एमाओवादीको दाङ जिल्ला इञ्चार्जको जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

माओवादी केन्द्रका उम्मेदवार जीवन पार्टी अहिले एक भएर आएको र विगत १० वर्षदेखि घोराही नगरको विकासको नेतृत्व गर्दै आएका कारण आफुले जित्ने बताउछन्।

घोराही बनाउने यस्ता छन् माओवादी केन्द्रका योजना

  • नगरको बीचमा सानो तर पूर्ण सुविधासम्पन्न स्मार्ट शहर बनाउने।
  • दाङ उपत्यका छिर्ने चौपट्टा नजिकै जंगलसँगै जोडिएको चिडियाखाना, नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल, रामपुर र नारायणपुरमा बहुप्राविधिक विश्वविद्यालय निर्माण गर्ने।
  • नगरका प्रत्येक वडामा सुविधायुक्त १५ शैयाका अस्पताल, नगरको केन्द्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने।
  • भित्री र बाहिरी गरी दुईटा अलग-अलग चक्रपथ निर्माण गर्ने। चक्रपथमा एकीकृत यातायात प्रणाली अन्तर्गत सिटी रेल र सुविधासम्पन्न नगर बसहरु सञ्चालन गर्ने।
  • वृद्धभता न्युनतम ५ हजार पुर्‍याउने, पर्याप्त खानेपानी तथा सिंचाइको व्यवस्थापन गर्ने।
  • उपमहानगरपालिकाभित्र अर्को विमानस्थल बनाउने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.