|

काठमाडौं : एशियाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार विकासमा करिव १ खर्ब १४ अर्ब लगानी गर्ने भएको छ। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पूर्वाधार विकासका लागि एशीयाली पूर्वाधार लगानी बैंकले खर्ब भन्दा बढी लगानी गर्ने सहमति गरेको जानकारी दिएका हुन्।

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित बैंकको बैठकमा भाग लिई स्वदेश फर्किएका मन्त्री कार्कीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बैंकले यो वर्षभित्रै तराईको ७ जिल्लाको पूर्वाधार विकासका लागि २८ अर्ब  र काठमाडौं उपत्यकाको विद्युत सुधारका लागि १० अर्ब रकम उपलब्ध गराउने सहमति गरेको उल्लेख गरे।

बैंकले काठमाडौंको सामाखुशी–टोखा सडक स्तरोन्नतिका लागि २२ अर्ब, पोखरा–बेनी–जोमसोम सडक विस्तारका लागि १६ अर्ब, तामाकोसी तेस्रो विद्युत आयोजना निर्माणका लागि १८ अर्ब रकम उपलब्ध गराउँदै जाने समझदारी पनि गरेको छ। बैठकमा अर्थमन्त्री कार्कीले नेपालको पूर्वाधार विकासका लागि सहयोग गरिदिन बैकसँग आग्रह गरेका थिए।

अर्थमन्त्री कार्कीले नेपालको पूर्वाधार विकासमा लगानी गर्न एशियाली पूर्वाधार लगानी बैंक धेरै इच्छुक देखिएको पाइएको उल्लेख गरे। अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले नेपालको पूर्वाधार विकासमा लगानी गर्न एशियाली पूर्वाधार लगानी बैंक आतुर रहेको बताए।

एशीयाली पूर्वाधार लगानी बैंक अति कम विकसित र अल्पविकसित मुलुकहरुको पूर्वाधार विकास गर्ने लक्ष्यका साथ स्थापना गरिएको बैंक हो। यसमा चीन, बेलायत र क्यानडा सरकारको विशेष लगानी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.