|
फोटो : रासस

काठमाडौँ : सर्वोच्च अदालतमा प्रधान्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष असार १५ गतेसम्म सरेको छ। प्रधानमन्त्री सहित प्रमुख प्रतिपक्षी दलका नेता असार १४ को स्थानीय निर्वाचन प्रचार प्रसारमा व्यस्त हुने भएपछि प्रधानन्यायाधीश सिफारिस नै नगरी बैठक १५ गतेसम्म स्थगित भएको हो।

प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता चुनाव अभियानमा जानुपर्ने भएकाले बैठक चुनावपछि डाकिएको सभामुख ओनसरी घर्तीले जानकारी दिइन्। 'प्रमुख प्रतिपक्षी दलका नेता सोमबार नै चुनाव प्रचार -प्रसारमा जानुभयो प्रधानमन्त्री भोलिबाट व्यस्त हुने भएपछि बैठक १५ गतेसम्म सारियो,' सभामुख घर्तीले भनिन्। संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख सदस्य रहने व्यवस्था छ।

के भयो संवैधानिक परिषद बैठकमा?

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि दुईवटा रोष्टर तयार भएका थिए। निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीका तर्फबाट एउटा रोष्टर तयार भएको थियो भने न्यायपरिषदबाट अर्को। गोपाल पराजुलीको उमेर विवाद भएपछि प्रधान्यायाधीश कार्कीले नागरिकतामा उल्लेख उमेर अनुसार ५८ दिन प्रधानन्यायधीशका रुपमा पराजुलीले सेवा गर्न सक्ने किसिमको रोष्टर पठाएकी थिइन्।

कार्कीले अवकाश पाएपछि बसेको न्यायपरिषद बैठकले पराजुलीले ११ महिना सेवा गर्न पाउने गरी अर्को रोष्टर पठाएको थियो। संवैधानिक परिषदको सोमबार बसेको बैठकमा न्यायपरिषद्ले पठाएको रोष्टरमाथि छलफल भयो। 'न्यायपरिषदबाट प्राप्त रोष्टरमा आज छलफल भयो, फेरी छलफल गर्नेगरी बैठक स्थगित भयो,' संवैधानिक परिषद्को सदस्य समेत रहेकी सभामुख घर्तीले भनिन्।

पराजुलीमाथि अध्ययन गर्न ओलीले मागे समय

गोपाल पराजुलीलाई प्रधान्यायाधीश हुनबाट रोक्न जेठ १८ गते अधिवक्ता विकास गिरीले पराजुलीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। नागरिकता तथा शैक्षिक प्रमाणपत्र विवादित रहेकाले पराजुलीलाई न्यायाधीशमा सिफारिस नगर्न अन्तरिम आदेशको माग गर्दै गिरीले रिट दायर गरेका थिए।

जेठ २५ गते न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले अधिवक्ता विकास गिरीले दायर गरेको रिट खारेज गर्दै पराजुलीललाई प्रधान्यायाधीश बन्ने बाटो खुल्ला गरे।

जेठ २५ गते पराजुलीविरुद्ध परेको रिटको सुनुवाई भएपछि न्यायपरिषदको जेठ ३० गतेको बैठकले सर्वोच्चका कायमुकायम प्रधान्यायाधीश गोपालप्रसाद पराजुली सहितका ६ न्यायाधीशलाई प्रधान्यायाधीशमा सिफारिस गर्‍यो।  बैठकले न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको थियो।

न्यायपरिषद्ले सर्वोच्चको फैसला र ऐनका आधारमा पराजुलीको जन्म मिति विं.सं. २०१० वैशाख १६ गतेलाई कायम गरी पराजुलीको उमेर विवाद टुंग्याएको थियो। यस्तै न्यायपरिषद्ले निवर्तमान प्रधान्‍यायाधीश सुशीला कार्कीले पराजुलीको जन्ममिति २००९ साल कायम गरेको निर्णयलाई अभिलेखबाट हटाउने निर्णय समेत गर्‍यो।

तर सोमबारको संवैधानिक परिषदमा पराजुलीको उमेर विवाद रहेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्माल ओलीले अध्ययन गर्नुपर्ने भन्दै समय माग गरे। 'प्रधान्यायाधीशका लागि सिफारिस भएकाहरुमाथि अध्ययन गर्नुपर्नेछ आफूले हस्ताक्षर गर्नुपर्ने भएपछि सही निर्णय गरेर हस्ताक्षर गर्नुपर्‍यो सही निर्णयका लागि समय चाहिन्छ अध्ययन गर्नुपर्छ,' प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले बैठकमा भने।

ओलीले अध्ययनका लागि समय माग गरेपछि आजको बैठकले कुनै निर्णय लिन नसकेको हो। असार १५ गते बस्ने बैठकले प्रधान्यायाधीश सिफारिस गर्ने सभामुख घर्तीले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.