|
फाइल फोटो

रुपन्देही : गृहमन्त्री जनार्दन शर्माले सरकारसँगको सहमतिकै आधारमा राष्ट्रिय जनता पार्टीबाट स्वतन्त्र उम्मेदवारी दर्ता भएको दाबी गरेका छन्।

स्थानीय तहको निर्वाचनको विषयमा बुटवलमा सुरक्षा गोष्ठीपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले २ नम्बर प्रदेशको निर्वाचन सारिएपछि राजपाले स्वतन्त्ररुपमा मनोनयन दर्ता गर्ने सहमति भएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवासंगको सहमतिकै आधारमा राजपाले निर्वाचनमा मनोनयन दर्ता गराएको उनको जिकिर छ। रुपन्देहीका केही स्थानीय तहमा राजपाका स्थानीय नेता/कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।

गृहमन्त्री शर्माको उपस्थितिमा रुपन्देहीसहित ५ नम्बर प्रदेशका ६ जिल्लाका प्रमुखहरुको बैठक बुटवलमा बसेको थियो। बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधिरकुमार शाह, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका रथी बलदेवराज महत र मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीको सहभागिता थियो।

बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै गृहमन्त्री शर्माले दोस्रो चरणको निर्वाचनमा जनताले ढुक्कसंग मताधिकार प्रयोग गर्न पाउने बताए। मनोनयनका क्रममा कपिलवस्तुमा भएको घटनालाई सुक्ष्मरुपमा अनुसन्धान गरिएको भन्दै उनले आगामी दिनमा त्यस्ता घटना हुन नदिन सुरक्षा निकाय सतर्क रहेको बताए।

सुरक्षा बैठकमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाची र पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र शसस्त्र प्रहरी प्रमुखको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.