|

उदयपुर : रौतामाई गाँउपालिकामा दुई पार्टीबाट बागी उम्मेदवारी परेको छ।  आफूलाई पार्टीले आधिकारिक उम्मेदवार नबनाएपछि कांग्रेसका महेन्द्र सिग्देल र एमालेका होमबहादुर दाहालले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनीहरु आफ्नो पार्टीका जिल्ला स्तरका नेता हुन्।

रौतामाईमा नेपाली कांग्रेसले अध्यक्षमा भूपेन्द्र थापा र उपाध्यक्षमा धनकुमारी मगरलाई उम्मेदवार बनाएको छ। त्यस्तै एमालेले अध्यक्षमा गजेन्द्र खड्का र उपाध्यक्षमा कुमारी ज्युठकुरीलाई उम्मेदवार बनाएको छ।

एमाले र काङग्रेसकै विवाद रहेको ताप्ली गाँउपालिकामा पनि बागी उम्मेदवार परेको छ। ताप्लीमा एमाले र कांग्रेसको असन्तुष्ट समूहले काङग्रेसका नेता पदम तामाङलाई उम्मेदवार बनाएको छ।

फोरम र माओवादीको तालमेल

माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा वीरेन्द्रकुमार मगर र उपाध्यक्षमा हस्तशोभा राईले उम्मेदवारी दिएका छन्। हस्तशोभा संघीय समाजवादी फोरमकी हुन्। माओवादी केन्द्र र फोरमले सयुक्त रुपमा चुनावी तालमेल गरी चुनावी मैदानमा छन्। यसैगरी नेकपा क्रान्तिकारी माओवादीका बलबहादुर मगरले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

अझै यकिन छैन उम्मेदवारको संख्या

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार सुनकोसी, ताप्ली, रौतामाई गाँउपालिका, त्रियुगा, बेलाका लगायतमा जम्मा उम्मेदवारको संख्या यकिन गर्न नसकेको जानकारी दिएको छ। ‘निर्वाचन आयोगको सफ्टवेयरले काम गरेको छैन,’ सूचना अधिकारी अर्जुन खड्काले भने, ‘जिल्लाव्यापी रुपमा आउनुपर्ने भए पनि अहिलेसम्म आएको छैन।’

हालम्म निर्वाचन अधिकृतको कार्यालयले थाहाखवबरलाई जानकारी दिए अनुसार कटारी नगरपालिकाम २ सय २०, चौदण्डीगढी नगरपालिकाका निर्वाचन अधिकृत पुन्यप्रसाद लुईटेलका अनुसार २ सय ६०, उदयपुरगढी गाँउपालिका निर्वाचन अधिकृत रुद्रबहादुर कार्कीका अनुसार १ सय ३७ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन कार्यालयले मौखिक रुपमा तयार पारेको तथ्याङ्क अनुसार एक हजार ३ सय उम्मेदवार संख्या रहेको जानकारी दिइएको छ। जिल्लामा २ हजारभभन्दा बढीको संख्यामा उम्मेदवार परेको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.