|

चितवन : चुरे र महाभारत पहाड जोड्ने जैविकमार्ग चितवनको टिकौली जंगलबाट बाघ, गैंडा, चित्तल, जरायो लगायत संरक्षित वन्यजन्तु दैनिकजसो नै आउजाउ गर्छन्।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा पर्ने यो जैविकमार्ग (कोरिडोर) संरक्षणका हिसाबले अति संवेदनशील मानिन्छ। गएको वर्ष टिकौली जंगलको झण्डै ७ किलोमिटर क्षेत्रमा १० वटा सिसी क्यामेरा जडान गरिएको थियो। अहिले ६ वटा क्यामेराले मात्र काम गरेको छ।

सवारी चालकलाई यहाँको संवेदनशीलताबारे जानकारी दिई, नियमन गर्ने, गाडी रोक्न नदिने, विस्तारै चलाउन लगाउने र गल्ती गरे कारवाही गर्ने उद्देश्यले ठूलो लगानीमा राजमार्गका विभिन्न क्षेत्रमा क्यामेरा जडान गरिएको हो। शनिबार साँझ सशस्त्र वनरक्षक तालिम केन्द्रमा रहेको सिसी क्यामेराको नियन्त्रण कक्षबाट दृष्यहरु हेर्दा जथाभावी गाडी रोक्ने र मानिसले जंगल तथा सडकछेउमै दिसा पिसाब गरेको देखिए।

कतिपय बेला गाडी रोकेर युवायुवतीले रोमान्स गरेको दृष्य समेत कैद भएको सिसी क्यामेरा हेर्दै आएका वनरक्षक सरोज काफ्ले बताउँछन्। उनले भने, ‘ठाउँका ठाउँ जरिवाना नतिराएसम्म मरे मान्दैनन्।’ सवारी चालकको लापरवाहीले बेलाबेलामा गाडीको ठक्करबाट वन्यजन्तुहरु मरेका घटना वर्षेनी घट्दै आएका छन्। विडम्वना त के छ भने यस्ता आपराधिक घटना तथा बेलाबेलामा हुने सवारी दुर्घटनाका दृष्य भने छिटपुट बाहेक कैद गर्न सकेको छैन।

घटना हुँदा कुनै बेला क्यामेरा बन्द भएका थिए। कुनै बेला विद्युत नभएर चलेको थिएन। कुनै वेला विविध समस्याहरु आएको ससस्त्र वनरक्षक तालिम केन्द्रले जनाएको छ। कुनै बेलाका घटना भने क्यामेराले भेट्ने स्थान भन्दा बाहिर भएका छन्।

वनरक्षक तालिम केन्द्रका सुवेदार रामदयाल शाह सिसीले देखाएका दृष्य अनुसार कडाई रुपमा प्रस्तुत हुनुपर्ने बताउँछन्। पहिलो चरणमा चालकलाई जानकारी दिने त्यसपछि अटेर गरे कारबाही गर्ने चेतावनी दिइएको थियो। चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल व्यवस्थापकीय कमजोरी रहेको भन्दै सुधार गर्ने बताउँछन्।

वनरक्षकलाई साइकल समेत दिएर जिम्मेवारी सुम्पेको भन्दै उनले यसतर्फ आफू गम्भीर रहेको बताए। जिल्ला वन अधिकृत केदारनाथ पौडेल राती सिसी क्यामेराले नदेखिने र कतिपय विग्रेकाले पनि समस्या भएको बताउँछन्।

यसरी शुरु भएको थियो अभियान

चितवनको भरतपुर र रत्ननगर जोड्ने जैविक मार्ग टिकौली जंगलमा वन र वन्यजन्तुको संरक्षणका लागि कडाई गर्न २०७३ साल असार ३० गतेबाट सिसी क्यामेराले निगरानी थालेको थियो। त्यसको एक महिना निकुञ्जका अधिकारी, सेना, वनरक्षक, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा सडकमै कार्यक्रम भए।

चालकहरुलाई सम्झाउँदै जानकारी दिने र अटेर गरे कारवाही गर्ने चेतावनी दिइयो। त्यसको करिव एक महिनासम्म फोहर फाल्न रोकिएको थियो। चालकहरु हत्तपत्त गाडी रोक्थेनन्। रोकिहाले पनि वन रक्षकहरु आएर अभियानबारे सम्झाएर पठाउँथे।  पछि विस्तारै कार्यान्वयनको तह फितलो बन्दै गयो।

अहिले झण्डै एक बर्ष पुग्नै लाग्दा सिसी क्यामेरा उपयोगविहीन छ। सशस्त्र वनरक्षक तालिमकेन्द्र टिकौलीका कर्मचारीहरु दृष्य अभिलेख राख्ने, हेर्ने र बस्ने मात्रै गर्छन्।

‘संरक्षणका लागि एक मिनेट’ नारा सहितको प्रचार अभियाननै शुरु गरेर जैविक मार्ग र वन तथा वन्यजन्तुको संरक्षण अभियान सञ्चालन गरिएको थियो। यसको उद्देश्य एक मिनेट गाडी रोकेर चालक सहचालकलाई संरक्षणबारे चेतना दिने, सिसी क्यामेराले निगरानी गरेको बारे जानकारी दिने र पछि यस्ता क्रियाकलाप पाइए कारवाही गर्ने भनेर सुसूचित गराउने थियो।

संवेदनशील क्षेत्रमा हेलचेक्र्याईले अनाहकमा वन्यजन्तुको ज्यान जाने गरेको छ भने मानिसको जोखिम उत्तिकै बढ्दो छ। अझ फोहर फाल्ने गर्नाले जैविक विविधता र दुर्लभ वन्यजन्तु मै नराम्रो असर गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन्। उनी सिसी क्यामेराले काम गरेपनि एक्सनमा भने जान नसकिएको स्वीकार गर्छन्।

वन्यजन्तु घटनामा कारवाही न्यून

गएको एक बर्षमा चितवनमा गाडीबाट वन्यजन्तुमाथि २२ वटा घटना भएका थिए। त्यसमध्ये १३ वटा टिकौलीको जैविक मार्गक्षेत्रमा भएको छ। त्यसमा पनि जंगलभित्रै ७ वटा र केही छेउको सिंचाई गेट नजिक ६ वटा घटना भएको जिल्ला वन अधिकृत केदारनाथ पौडेल बताउँछन्। उनका अनुसार त्यसमा ३ वटा घटनामा मात्रै गाडी पक्राउ परेका छन्।

त्यसको अघिल्लो बर्ष  १५ वटा वन्यजन्तुको गाडीको ठक्करबाट मृत्यु भएको थियो। तर वन र निकुञ्जको तथ्यंकमा पाँच वटा गाडी मात्रै कारवाहीमा परेका छन्।

यसरी गाडीले वन्यजन्तु किचेमा २० हजार जरिवाना र २ बर्षसम्म कैद हुने सजाय ऐनमा छ। अझ गैंडा, बाघ, र हात्तीलाई ठक्कर दियो भने सजाय थपिने निकुञ्जले जनाएको छ। संरक्षणकर्मी रामपृत यादव यति महत्वपूर्ण वन्जयन्तु र जैविक विविधताका विषयमा मानिस अझै संवेदनशील नभएको बताउँछन्।

फोहर पनि थुप्रिंदै

भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौलीसम्मको ७ किलोमिटर क्षेत्रमा अहिले दर्जनौं स्थानमा विभिन्न प्रकारका फोहरहरु फालिएका छन्। कतिपय फोहरहरु नजल्ले र नकुहिने पनि छन्। प्लाष्टिक, कार्टुन, कपडा, अन्य काठका टुक्रा, प्लाई लगायतका फोहर यत्रतत्र देखिन्छन्। वन्यजन्तुले यस्ता टुक्रा खायो भने पाचन प्रणालीलाई नै असर पुर्‍याउन सकिने प्राविधिकहरु बताउँछन्।

निकुञ्जले प्लाष्टिकजन्य वस्तु र नजल्ले बस्तुलाई जंगल क्षेत्रमा पूर्ण प्रतिबन्ध लगाएपछि लुकीलुकी काम भैरहेका छन्। गाडीमा ल्याएर अनि बोरामा हालेर फोहर फ्याँक्ने क्रम पनि देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.