विराटनगरमा एमाले घोषणापत्र

|

विराटनगर : सुशासन र भौतिक विकासलगायतका ६ बुँदे प्रतिबद्धतासहित नेकपा एमालेले विराटनगर महानगरपालिकाको घोषणापत्र सार्वजनिक गरेको छ।

एमालेको मोरङ जिल्ला पार्टीको कार्यालयमा सोमबार आयोजित पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरिएको घोषणापत्रमा सुशासन, वातावरण संरक्षण, सामाजिक सुधार, दिगो भौतिक पूर्वाधार निर्माण, नागरिकको सहभागितामा आधारित समृद्धिको निर्माण र वित्तिय व्यवस्थापनसम्बन्धी विषय उल्लेख छ।

घोषणापत्रमा दर्जन भन्दा बढी विभिन्न नारा उल्लेख छन्। यसका साथै कतिपय महत्वकांक्षी आयोजनाको निर्माण गर्ने र समग्र मोरङको जिम्मा लिने गरी घोषणा पत्रमा विषय समेटिएको छ। कृषि क्षेत्रको आधुनिकीकरणका लागि विभिन्न सिंचाई योजनाहरु समावेश गरिएको छ।

तमोर नदीको पानी सुरुङ मार्गमार्फत डाइभर्सन गरेर मोरङमा सिंचाईलाई व्यवस्थित गर्ने, कुनै पनि कृषियोग्य जमिन बाँझो राख्न नदिने, एक वडा एक उत्पादनलाई प्राथमिकता दिने र कृषि बिमा योजना लागू गर्ने, आवश्यक प्राविधिक सहयोग, मलखाद, बिउबिजन, प्राङ्गारिक रोगनिरोधक औषधिलगायतको सहयोग गर्ने, १ वर्षभित्र नगरस्तरीय कृषि सामाग्री भण्डारको निर्माण गरिने पनि घोषणा पत्रमा उल्लेख छ।

यस्तै सुशासनका लागि मेयरसँग सिधा प्रश्न ‘हेल्लो मेयर’ कार्यक्रम सञ्चालन गर्ने, निर्वाचित जनप्रतिनिधिको आर्थिक इमान्दिारिता र पारदर्शीताको लागि निर्वाचित भएको मितिले ३० दिनभित्र सम्पति विवरण सार्वजनिक गर्ने, नगरपालिकाले गरेका काम कारबाहीलाई संचारमाध्याम मार्फत सार्वजनिक गर्नेलगायतका छन्।

यस्तै उद्योगको विकासका लागि सुख्खा बन्दरगाहासहितको विशेष आर्थिक केन्द्र, निर्यात प्रबद्र्धन क्षेत्र निर्माणका अलावा लाईट रेल सञ्चालन पूर्वाधार विकास गर्ने, घरेलु उद्योगलाई लक्षित गरी छुट्टै औद्योगिक क्षेत्र तथा व्यापारिक क्षेत्रको स्थापना गर्ने तथा औद्योगिक प्रदर्शनीस्थलको निर्माण गर्ने पनि उल्लेख छ।

यस्तै नगरहरुसमेतको फोहरमैला परिचालन गर्न सुरक्षित स्रोत परिचालन केन्द्रसहितको ‘स्यानिटरी ल्याडफिल्ड’ निर्माण, रिङरोडको रेखाङ्कन, विशेष आर्थिक क्षेत्र निर्माण गरिने उल्लेख छ।

घोषणापत्र सार्वजनिक गर्दै विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार विनोद ढकालले फुसको छानोको घर विस्थापन गर्ने आफूहरुको लक्ष्य रहेको बताए। ‘मानवताका लागि सुरक्षित आवास’ भन्ने नाराका साथ फुसको छानो भएका नेपाली नागरिकहरूलाई निःशुल्क जस्तापाता उपलब्ध गराउने आफूहरुको योजना रहेको उनले बताए।

उज्यालो विराटनगर अभियान अन्तर्गत दुई वर्षभित्र मुख्य सडकमा सौर्य वत्ती जडान गरिसक्ने, सिंघिया र केसलिया नदीमा बाँध र तटबन्ध निर्माण गरी नियमित पानीको बहाव गराई सिंघिया र केसलियामा मत्स्यपालन, डुंगा सञ्चालन र किनारमा हरियाली पार्क निर्माण गरिने पनि घोषणापत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.