|

हिजोको ढुङ्गे युगको संसारभन्दा आजको विश्व सहज र सरल छैन। आधुनिक समयमा मानव सभ्यता, विज्ञान, भौतिक संरचनालगायतका विकासका विभिन्न आयामले मानव मस्तिष्कलाई हिजोको भन्दा महत्त्वाकांक्षी बनाएको छ। प्रतिस्पर्धी बनाएको छ। हिंस्रक बनाएको छ। समाज जुन रूपमा जटिल बन्दै छ, सोही अनुपातमा मानव मस्तिष्कमा जटिलता पनि देखापर्दै छ।

प्रथम र दोस्रो विश्वयुद्धका समयमा मल्टिपल पर्सनालिटी डिस्अर्डर (एउटै व्यक्ति दुई वा अनेक व्यक्तित्वका रूपमा प्रस्तुत हुने मानसिक रोग)का धेरै बिरामी देखापरे। त्योभन्दा पहिले यो रोग यसरी सतहमा आएको थिएन। समाजमा आएको जटिलताले मानव मस्तिष्कमा प्रत्यक्ष प्रभाव पार्ने गरेको मानव मस्तिष्कको अध्ययनका क्रममा देखापरेको छ। 

सुन्दा अचम्म लाग्छ, तर यो सत्य हो, केही वर्षयता विश्वका विभिन्न मुलुकमा आमा–छोरा, बुबा–छोरी, दाजु–बहिनी, दिदी–भाइ अनि हजुरबुबा, हजुरआमाले आफ्ना नातिनातिनीसँग विवाह गरेर घरजम गरी बस्ने गरेका घटनाहरू यदाकदा सार्वजनिक हुँदै आएका छन्। 

चार सन्तानका अभिभावक जर्मनीका प्याट्रिक स्टिइबिङ र सुसान कारोलइकी नाताले दाजु–बहिनी हुन्। सन् २००० मा उनीहरूले अपरिचितका रूपमा एकअर्कासँग भेट्दा प्याट्रिक २३ र सुसान १५ वर्षका थिए। कानुनी रूपमा बन्देज गरेको हाडनाता करणीका सम्बन्धमा राज्यका विरुद्धमा कानुनी लाडाइँ लडेका उनीहरूको रिट सन् २००८ मा जर्मन सरकारले खारेज गरेको थियो। 

सन् २०१२ मा न्युजिल्याण्डका एक जोडी ३२ वर्षका बुबा र १८ वर्षकी छोरीलाई हाडनाता करणीको अपराधमा कारवाही गरियो। केरकारका क्रममा सन् २०१० अगस्टदेखि सन् २०१२ सम्म उनीहरू श्रीमान–श्रीमतीका रूपमा रहेको अपराध कबुलेका थिए। उनीहरूको सम्बन्धबाट २०११ एक छोरीको जन्म भएको थियो.

युद्धका कारण बिस्थापित भएर, रोजगार वा अध्ययनको सिलसिलामा स्थानान्तर भएर वा अन्य कारणले वर्षौंसम्म बिछोडिएको हाडनाताभित्रका परिवारको सदस्य वयष्क हुँदा पहिलो पटक भेटेको अवस्थामा एकअर्काप्रति यौनिक रूपमै आकर्षित हुन्छ भने यस्तो मानसिक दुर्बलतालाई ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’ भनिन्छ।

यसरी वर्षौंसम्म बिछोडिएको परिवारको सदस्यहरूको पुनर्मिलन भएको अवस्थामा ५० प्रतिशतमा ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’ हुन्छ। यस्तो आकर्षण यति जबरजस्त हुन्छ कि उनीहरू एकअर्कासँग छुटेर बस्ने कुराको कल्पनै गर्न सक्दैनन्।

‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’का सिकार भएका मानिसहरूका अनुसार यस्तो आकर्षण यत्तिबिघ्न जबरजस्त हुन्छ कि जिन्दगी दिन दुई गुणा, रात चौ गुणा जटिल बन्दै गर्दा आफूमा हीन भाव त आँउछ, तर निरन्तरको प्रयासका बाबजुद मानसिक कमजोरीबाट मुक्ति प्राप्त गर्न असंभवप्रायः हुन्छ। यस्ता मानिसको आरोप छ कि आममानिसले तिनका समस्या बुझ्नै सक्दैनन् र तिनलाई पूर्वाग्रही रूपमा घोर पापीका रूपमा हेर्ने गरेका हुन्छन्।

यस्तो जोडीको जीवन निकै समस्याग्रस्त त हुन्छ नै, त्यसमाथि तिनीहरूको सम्बन्धबाट जन्मेका बच्चाहरूको उचित व्यवस्थापन अर्को चुनौतीपूर्ण कुरा हो।

‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’ सर्वप्रथम नामकारण गर्ने अमेरिकी महिला बार्बर गोन्यो आफैँ पनि ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’ को शिकार भएकी थिइन्। सन् १९८० को दशकमा उनले नै वयष्क हुँदाको अवस्थामा अपरिचितका रूपमा भेट्दा आफ्नै परिवारका सदस्यबीच यौनिक रूपमा आकर्षित हुने मानसिक कमजोरीलाई ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’ भनेर नामकरण गरेका थिए।

उनी १६ वर्ष हुँदा उनका छोरालाई धर्मपुत्रको रूपमा अरू कसैलाई दिन बाध्यतामा पारिएको थियो। सन् १९७९ मा उनी ४२ वर्ष हुँदा २६ वर्षपछि आफ्नो छोरासँग पुनर्मिलन भएको थियो। तर भाग्यवस, उनको छोरा बार्बरप्रति यौनिक रूपमा आकर्षित भएन। १० वर्षको अन्तरसंघर्षपछि बार्बरले यस्तो मानसिक अवस्थामाथि विजय हासिल गरेकी थिइन्।

मानिस आफ्नो जस्तै अनुहार र आनिबानी भएका अर्को मानिसप्रति आकर्षित हुन्छन्। एउटै हाडनाताभित्रको सदस्यमा वंशाणुगत गुणका कारण धेरै मात्रामा अनुहार र आनिबानीमा मेल खाने हुन्छ। किन वर्षौंपछि अपरिचितका रूपमा भेटिएका परिवारका सदस्यबीच यतिबिघ्न आकर्षण हुन्छ त? भन्ने कुरा पछाडिको वैज्ञानिक कारण भनेको आपूmसँग मिल्दोजुल्दो अनुहार र आनिबानी नै भएको वैज्ञानिकहरूको राय छ।

यसमा जेनेटिक साइन्सको एउटा अर्को कुरा उठाउनु सान्दर्भिक हुनेछ। किन हाडनाताभित्र विवाह बञ्चित छ? भन्ने सन्दर्भ पाप र धर्मको कुरा होइन। हाडनातामा कारणीपश्चात जन्मिएको बच्चा मानसिक रूपमा दुर्बल, रोगी, नराम्रो, अशक्त हुन्छ। हाडनाताबीचको सम्बन्धलाई मान्यता दिएमा मानव समाज अधोगतिमा लाग्ने निश्चित भएका कारण हाडनाताबीचको सम्बन्ध बञ्चित गरिएको हो। प्राचीन समयका मानिसले यस्तो वैज्ञानिक सन्दर्भमा तथ्यहरूलाई नबुझ्ने हुँदा यस्ता सम्बन्धलाई महापापको संज्ञा दिइएको हो। 

आज ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’का कारण संसारका विभिन्न मुलुकमा हाडनाता पर्ने सदस्यबीचका जोडीहरू फाट्टफुट रूपमा देखिन थालेका छन्। कतिपय जेनेटिक विज्ञानका ज्ञाता र अपराधशास्त्रीहरूले यस्तो जोडीका सन्दर्भमा तिनीहरूलाई अपराधीका रूपमा हेर्न नहुने मत राख्न थालेका छन् भने अमेरिकाको न्युजर्सीलगायतका केही ठाउँका कानुन यस्ता जोडीका सन्दर्भमा निकै नै सहानुभूति राख्ने खालका छन्। 

हुनत वर्तमान समयमा नेपालमा यस्ता जोडीहरू सतहमा आएका छैनन्। तथापि, केही हाडनाता करणीका घटनाहरू सार्वजनिक भए। ती घटनाहरूको पृष्ठभूमि केलाउने हो भने तिनमा पनि आरोपित र पीडित परिवारका सदस्यहरू लामो अन्तरालपछि वयष्क हुँदा पुनर्मिलन भएको हुनसक्छ। ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’ आज हाम्रो मुलुकका निम्ति कुनै समस्या होइन, तर नेपालको वर्तमान सामाजिक परिवेशका सन्दर्भमा भविष्यमा यस्तो किसिमको उल्झन नआउला भन्न सकिँदैन। 

आज नेपाली युवाको ठूलो हिस्सा विदेसिएका छन्। आधा घरधुरीको कम्तिमा कुनै एक सदस्य विदेसिएका छन्। आर्थिक वर्षहरू सन् १९९३/९४ देखि २०१४/०१५ को अवधिसम्म सरकारद्वारा (भारतबाहेक) वैदेसिक राजेगारीका लागि ३८ लाखभन्दा बढी श्रम स्वीकृतिहरू जारी गरिएका थिए। भारतका सन्दर्भमा त्यहाँ कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन। तर अनुमानित ३० देखि ४० लाख नेपाली भारतमा छन्। 

केही वर्षयता वैदेसिक रोगजारीका कारण मुलुकले केही आर्थिक राहत त पाइरहेको छ, तर श्रीमान–श्रीमतीबीच सम्बन्धबिच्छेदका घटनाहरू, विवाहपश्चात गैरसामाजिक सम्बन्धहरू, विदेशी भूमिमा नेपालीहरू ‘लिभिङ टुगेदर’ सम्बन्धमा बस्ने प्रचलनलगायतका यावत घटनाहरूले नेपाललाई ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’का सवालमा उर्वर भूमि बनाउन सक्छ।

हामी नेपाली स्वभावैले वैज्ञानिक छैनौँ, धार्मिक छौँ। भोलिका दिनमा हाम्रो समाजमा ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’का जोडी देखापरेमा हामी उनीहरूको मानसिक दुर्बलताप्रति कठोर हुन सक्छौँ। 

हामी अधिकांश अवस्थामा मस्तिष्कबाट नभई भावनाबाट परिचालित हुन्छौँ। तसर्थ यस्ता जोडीलाई सामाजिक बहिष्कार मात्रै नगरी सांघातिक रूपमै हमला हुनसक्छ। यो मुलुकमा कली लागेछ भनेर मिडिया पनि निकै आक्रामक हुनसक्छन्। भोलि यस्तो जोडी सतहमा आयो भने तिनलाई वैज्ञानिक आँखाले समेत हेर्न उचित हुन्छ, जसको हामीमा साँच्चै अभाव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.