|

विराटनगरः स्थानीय तहको निर्वाचनमा मोरङमा पाँच गुणा बढी उम्मेदवारी परेको छ। 

निर्वाचन आयोगका अनुसार ८२९ जनप्रतिनिधि पदका लागि चार हजार ४३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आयोगले आइतबार ४ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय छुट्याएको थियो। यद्यपि, आयोगले अझै उम्मेदवारहरूको पूर्ण विवरण उपलब्ध गराउन सकेको छैन।

आयोगले दिएको जानकारीअनुसार ९७ पदका लागि विराटनगर महानगरपालिकामा सबैभन्दा बढी ७१७ जनाले उम्मेदवारी दिएका छन्। यस्तै, बेलबारी नगरपालिकामा २९५, रतुवामाई नगरपालिकामा २६९, उर्लाबारी नगरपालिकामा २३४ उम्मेदवारी परेको छ। 

यसरी नै सबैभन्दा कम लेटाङ नगरपालिकामा १७२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कटहरी गाउँपालिकामा २१५, पथरीशनिश्चरे नगरपालिकामा २९१, कानेपोखरी गाउँपालिकामा १५५, सुनवर्सी नगरपालिकामा २४६ जनाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगका अनुसार केराबारी गाउँपालिकामा १९३, ग्रामथान गाउँपालिकामा २१३, जहदा गाउँपालिकामा २२५, रतुवामाई नगरपालिकामा २६९, धनपालथान गाउँपालिकामा २१३, रंगेली नगरपालिकामा २४९, सुन्दर–हरैँचा नगरपालिकामा २५३, बुढीगंगा गाउँपालिकामा २०८ र मिक्लाजुङ गाउँपालिकामा १८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मोरङमा १७ वटा स्थानीय तह र १५९ वडा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.